मन्त्री नेम्वाङद्वारा मतदान, उम्मेद्वारलाई दिए शुभकामना


१४ मंसिर २०७६, शनिबार
basanta

पाँचथर, १४ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उपनिर्वाचनमा पाँचथरको फिदिम नगरपालिका वडा नं १ मा आज बिहान मतदान गरेका छन् ।

रिक्त रहेको वडाध्यक्ष पदमा फिदिम–१ मा उपनिर्वाचन भएको हो । मन्त्री नेम्वाङले फिदिम मावि मतदानस्थलको ‘घ’ मतदान केन्द्रमा मतदान गरेका हुन । मतदान पूर्व उनले जिल्लामा मतदानको अवस्थाबारे जानकारी लिएका थिए । मतदानपूर्व उनले वडाध्यक्ष पदका उम्मेदवारहरुलाई विजयको शुभकामना समेत दिएका थिए ।

त्यसैगरी, तीन स्थानमा उपनिर्वाचन हुन लागेको पाँचथरमा शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिकाको प्रमुख, फिदिम नगरपालिका–१ को वडाध्यक्ष र हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ ।

बिहान ७ बजेदेखि निर्धारित समयमा जिल्लाका १७ वटै मतदानस्थलका ३१ वटै मतदान केन्द्रबाट मतदान शुरु भएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए ।

मतदानका लागि सबै मतदान केन्द्रमा मतदाता लाममा लागिसकेका छन् । निर्वाचनमा जिल्लाको कुनै पनि स्थानमा कुनै प्रकारको समस्या र अवरोध नरहेको प्रमुख जिल्ला अधिकारी वस्तीले बताए । निर्वाचनको सुरक्षार्थ करीब एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ । पाँचथरमा उपनिर्वाचन हुने तीन स्थानमा १५ हजार ८०० मतदाता रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७