कास्की–२ मा ६१.२४ प्रतिशत मत खस्यो, चार ठाउँमा बम विस्फोट (भिडियोसहित)


१४ मंसिर २०७६, शनिबार
JBS pokhara

पाेखरा, १४ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा करिब ६१ दशमलव २४ प्रतिशत मत खसेको छ ।  रिक्त प्रतिनिधिसभा सदस्यका लागि शनिबार उपनिर्वाचनअन्तर्गत् मतदान सम्पन्न भएको हो । कास्की–२ मा योपटक कुल ७१ हजार ८७१ मतदाता रहेकामा कुल ४४ हजार २० मत खसेको जनाइएको छ ।

कास्की–२ मा १० जना स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७० प्रतिशत मतदान भएको थियो । शनिबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।

यस क्षेत्रबाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचन भएको हो । केही छिटफुट घटनाबाहेक शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चार ठाउँमा बम विस्फोट 
पोखरामा शनिबार चार ठाउँमा बम विस्फोट भएको छ ।   उपनिर्वाचनअन्तर्गत् मतदान भइरहँदा मतदान स्थलनजिक विस्फोट भएको हो । कास्की निर्वाचन क्षेत्र नम्बर–२ को उपनिर्वाचनलाई लक्षित गरी विस्फोट गराइएको हो ।

पोखरा महानगरपालिका–९, नयाँबजारस्थित नवप्रभात मावि, पोखरा–१६, अर्मलास्थित शान्ति मावि, पोखरा–१६ कै बाटुलेचौरस्थित चन्डिका आधारभूत प्रावि र पोखरा–३३, भरतपोखरीस्थित सरस्वती टीका मावि मतदान केन्द्रनजिक बम विस्फोट भएको हो ।

शान्ति मावि मतदान केन्द्रनजिक शनिबार दिउँसो फरक समयमा दुईओटा बम विस्फोट भएको थियो । विस्फोटबाट नवप्रभात माविको पर्खालमा क्षति पुगेको छ ।

विस्फोटबाट अरु मानवीय र भौतिक कुनै क्षति नभएको जनाइएको छ । बम कसले विस्फोट गराएको भन्ने खुलेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७