‘पूँजी बजारका लागि ब्याजदर मुद्दा होइन’, नेप्से स्थिर


१५ मंसिर २०७६, आईतवार
Nepal Stock

बुटवल, १५ मंसिर । लामो समय शेयर बजारमा लगानी गरेका लगानीकर्ताले पूँजी बजारका लागि ब्याजदर मुद्दा नभएको बताएका छन् । आज बुटवलमा सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीले आयोजना गरेको छलफलमा उनीहरुले बैंकलाई ब्रोकर लाइसेन्स अविलम्ब प्रदान गर्न आग्रह गरेका छन् ।

लगानीकर्ताले भनेका छन्, ‘बैंकलाई ब्रोकर लाइसेन्स नदिने हो भने ब्रोकर कार्यालय विस्तार तीव्र हुनुपर्छ ।’ शेयर लगानीकर्ता दबाब समूहका हरि ढकालले शेयरबजार बचतका लागि एउटा साधन भएको उल्लेख गर्दै ब्रोकर लाइसेन्सको मुद्दालाई बैंकले पनि वास्ता नगरेको बताए ।

उनले पुसको १५ गतेसम्म शेयर बजार १००० अङ्कभन्दा तल गए लगानी बढाउन लगानीकर्तालाई आग्रह गर्दै बजार नघटे १०० अङ्क बढ्ने जिकिर गरे । ‘हामीले त्यतिबेला लगानी गर्दा कम्तीमा दुई वर्षमा प्रतिफल पाउन सकिन्छ’, उनले भने ।

लगानीकर्तामा आत्मविश्वासको कमीले पनि बजार बढ्न नसकेको भन्दै ढकालले अर्थमन्त्री डा. युवराज खतिवडा शेयर बजारको बाधक भएको आरोप लगाए । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीले शेयरबजार अनलाइन प्रणालीमा गए पनि प्रभावकारी हुन नसकेको उल्लेख गरे । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका महासचिव माधव पाण्डेयले बजारले दिशा नलिँदा लगानीकर्ता अप्ठ्यारो अवस्थामा रहेको बताए ।

नेप्से स्थिर
साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से मात्रै ०.०७ विन्दुले बढेर एक हजार ११२.८५ विन्दुमा सीमित भएको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.५० विन्दुले घटेर २४६.१५ विन्दुमा पुगेको छ ।

नेप्से स्थिर रहँदा कारोवार रकम पनि सस्तैमा समेटिएको छ । कूल १६१ कम्पनीको छ लाख ७५ हजार ३८ कित्ता शेयर रु २० करोड ६३ लाख १४ हजार ३२३ मा कारोवार भयो । कारोबार भएका कूल १२ उपसमूहमध्ये छ उपसमूहको शेयरमा वृद्धि भएको छ भने ६ उपसमूहको शेयर ओरालो लागेको छ ।

होटल ४.४१, जलविद्युत् १.९९, वित्त २.९४, उत्पादन २.८७, अन्य ४.१५ र जीवन बीमा १२९.३६ विन्दुले बढेको छ । यस्तै बैंकिङ ३.२९, व्यापार १२.९३, विकास बैंक ८.९२, निर्जीवन बीमा १९.३९, लघुवित्त ६.८३ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ ।

नेप्सेका अनुसार कारोवारका आधारमा आज नबिल बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको शेयर रु एक करोड ७५ लाख ८१ हजार ९८४ मा कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै एनएमबी बैंक रु एक करोड ७३ लाख २५ हजार ७४९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ४२ लाख ८७ हजार २५०, एनआइसी एशिया बैंक रु एक करोड २३ लाख ९७ हजार २९८, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था रु ९५ लाख २८ हजार ८६७ र छिमेकी लघुवित्त विकास बैंकको रु ८५ लाख ३६ हजार ८५४ को कारोवार भई शीर्षस्थानमा रह्यो ।

नेप्सेका अनुसार आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ४.७३, पोखरा फाइनान्स ४.४४, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.३९, लाइफ इन्स्योरेन्स कम्पनी २.५९ र कालिका पावर कम्पनीका शेयरधनीले २.५३ प्रतिशतले कमाए ।

त्यस्तै घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.९०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ५.२८, साल्ट ट्रेडिङ कर्पोरेशन ३.९१, पाँचथर पावर ३.८४, स्वदेशी लघुवित्त वित्तीय संस्था ३.७३ र ङादी पावरका लगानीकर्ताले ३.७० प्रतिशतले गुमाए ।

तीन अर्बको ट्रेजरी बिल बिक्री हुँदै
नेपाल राष्ट्र बैंकले सोमबार रु तीन अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकले ९१ दिने अवधिको उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल आगामी फागुन २० गते परिपक्व हुनेछ । बैंकले यसअघि यही मंसिर ९ गते पनि त्यस्तै ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७