पश्चिमी वायुले घटायो राजधानीको प्रदूषण


१६ मंसिर २०७६, सोमबार
Kathmandu

काठमाडौं, १६ मंसिर । पश्चिमी वायुले राजधानीको प्रदूषण घटाएको छ । केही दिनयता नेपाल प्रवेश गरेको यो वायुले गत साताको राजधानीको अस्वस्थकर वायु प्रदूषणको स्तरलाई स्वास्थ्यका लागि असर नपर्ने स्तरमा झारेको हो ।

‘पश्चिमी वायुले धुवाँ र धुलोलाई बढारेर उपत्यकाको मौसमलाई आइतबार सफा बनाई दिएको छ,’ मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले भनिन् । जाडो याममा बढ्दो प्रदूषण राजधानीको विशेषता नै हो । यो समयमा उपत्यकाको तापक्रम घट्दै जाँदा धुवाँ–धुलोले प्रदूषण बढाउँछ ।

राजधानीका विभिन्न स्थानमा जडान गरिएका सात वटा प्रदूषण मापन स्टेसनमध्ये अमेरिकी दूतावासले स्थापना गरेको दुई स्टेसनले वायुको गुणस्तरको सूचकांक अर्थात एयर क्वालिटी इन्डेक्स (एक्वा) लाई आइतबार अद्यावधिक गरेका छन् । तिनले वायु प्रदूषणको स्तरलाई मोडरेटू अर्थात स्वास्थको लागि त्यति धेरै असर नपर्ने मध्यमस्तरमा ओर्लेको देखाएका छन् ।

प्रदूषणलाई मापन गर्दा प्रति घनमिटर वायुमा २.५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यास भएका शुक्ष्म कणलाई पिएम २.५ रूपमा मापन गरिन्छ भने प्रतिघनमिटर वायुमा १० माइक्रोमिटर भन्दा व्यास भएका कणलाई पिएम १० को रूपमा नापिन्छ ।

सन् २०१२ को राष्ट्रिय वायुको गुणस्तर मापन निर्दे्शिकाले पिएम २.५ मापन गर्दा प्रति घनमिटर वायुमा ४० माइक्रोग्राम शुक्ष्म कण र पिएम १० नाप्दा प्रतिघनमिटर वायुमा १२० माइक्रोग्राम सम्मका शुक्ष्म कणलाई गुणस्तरीय वायु भनेर राष्ट्रिय मापदण्ड तोकेको छ ।

‘रत्नपार्कमा रहेको प्रदूषण मापन स्टेसनले आइतबार दिउँसो ३ बजे पिएम २.५को स्तर १९.९ माइक्रोग्राम प्रतिघनमिटर रहेको देखाएको छ र यो विश्व स्वास्थ संगठनले तोकेको दैनिक सरदरको मापदण्ड ९२५ माइक्रोग्राम प्रति घनमिटरभन्दा कम हो,’ वन मन्त्रालय अन्तर्गतको वातावरण विभागमा कार्यरत वातावरण निरीक्षक राजेश्वर पौडेलले बताए ।

अन्तर्राष्ट्रियरूपमा वायु प्रदूषणको मात्रा नाप्ने एक्वा इन्डेक्सअन्तर्गत ५१ अंकदेखि १०० अंकसम्मको स्थितिलाई पहेलो रंग दिएर जनस्वास्थका लागि त्यति धेरै असर नपर्ने मानिएको छ । आइतबार दिउँसो अमेरिकी दूतावासले स्थापना गरेको दुवै स्टेसनले एयर क्वालिटी इन्डेक्स (एक्वा) लाई ५५ अंकमा रहेको देखाएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७