१३ औं साग : महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी, चार कीर्तिमान


१६ मंसिर २०७६, सोमबार
cricket

पोखरा, १६ मंसिर । पोखरामा जारी १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्र्तगत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको महिला क्रिकेटको उद्घाटन खेलमा नेपालले विजयी शुरुवात गरेको छ । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जीत निकालेको हो ।

टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटिएको थियो । सात रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोस्रो र तेस्रो, १५ रनमा चौथो, पाँचौं, छैटौं र सातौं तथा १६ रनमा बाँकी विकेट गुमाएको थियो । माल्दिभ्सको पारीमा हम्जा नियाजले नौ तथा हाफ्सा अब्दुल्लाले चार रन जोडिन् । बाँकी सबै खेलाडी शून्यमै आउट भए । नेपालले अतिरिक्त तीन रन दिएको थियो ।

जीतका लागि १७ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले पहिलो ओभरमै विजयी लक्ष्य पार गर्‍यो । मात्रै पाँच बलको सामना गरेकी काजल श्रेष्ठले तीन चौका प्रहार गर्दै अविजित १३ रन जोडिन् । पाँच बल फालेकी माल्दिभ्सकी बलर समा अलीले चार अतिरिक्त रन दिएपछि ‘ननस्ट्राइक’ मा रहेकी सीता मगरले एक बल पनि सामना गर्नुपरेन ।

दुई दशमलव एक ओभरमा दुई मेडनसहित बिना रन ६ विकेट लिनुभएकी अञ्जली चन्द ‘वुमन अफ दी म्याच’ भइन् । करुणा भण्डारीले दुई ओभरमा दुई विकेट लिइन् । उनले एक मेडन राख्दै चार रन खर्चिइन् ।

जीतपछि नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेलबासीले प्रतियोगितामा राम्रो शुरुवात गर्न सकेकामा खुशी लागेको सुनाइन् । यही प्रतियोगिताका लागि आफूहरुले लामो समयदेखि मेहनत गरेको बताउँदै उनले नेपाली महिला क्रिकेट टोलीले केही गरी देखाउने अवसरका रूपमा यो प्रतियोगितालाई लिएको बताइन् ।

माल्दिभ्सकी कप्तान जुना मारियाले नेपाल बलियो टोली भएको धारणा राखिन् । पहिलो अन्तर्राष्ट्रिय खेल भएका कारण उत्कृष्ट प्रदर्शन गर्न नसके पनि यस प्रतियोगितालाई आफूहरुले अनुभव बटुल्ने अवसरका रूपमा लिएको उनले बताइन् । प्रतियोगिताअन्तर्गत मङ्गलबार श्रीलङ्का र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

एकै खेलमा चार कीर्तिमान

माल्दिभ्स विरुद्धको पहिलो खेलमा नेपालले चार वटा नयाँ कीर्तिमान बनाएको छ । नेपाली बलर अञ्जली चन्दले दुई ओभरमा एक रन पनि नदिई ६ विकेट लिइन् । यो टी–ट्वान्टीमा कीर्तिमान भएको नेपाली प्रशिक्षक जगतबहादुर टमटाले जिकिर गरे ।

त्यस्तै माल्दिभ्सका नौ खेलाडी शून्य रनमै आउट भएको पनि अर्को कीर्तिमान भएको टमटाको जिकिर छ । १६ रनमा अलआउट गर्नु अर्को कीर्तिमान हो भने मात्रै पाँच बलमा जीत हासिल गर्नु पनि अर्को कीर्तिमान भएको उनको दाबी छ ।

यसअघि नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य ऋषि गौतमको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले दुवै टोलीका खेलाडीसँग हात मिलाउँदै शुभकामना दिएका थिए । कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देल, गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुलगायतले क्रिकेटका सम्बन्धमा बोलेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७