कार्यान्वयनमा गएनन् राष्ट्रिय गौरवका दुई आयोजना

२० गौरवका आयोजनाका प्रगति


१६ मंसिर २०७६, सोमबार
seti

काठमाडौं, १६ मंसिर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरिए पनि पश्चिम सेती जलविद्युत् र विद्युत् प्रसारण आयोजना कार्यान्वयनमा नरहेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

राष्ट्रिय गौरवका आयोजना सम्बन्धित मन्त्रालयले सञ्चालन गर्ने भए पनि आयोगले समन्वय एवं अनुगमन तथा मूल्याङ्कन गर्छ । आयोगले प्रकाशन गरेको राष्ट्रिय गौरवका आयोजनाहरुको आर्थिक वर्ष २०७५–२०७६ को वार्षिक प्रगति स्थिति प्रतिवेदनमा दुवै आयोजनाको भौतिक एवं वित्तीय प्रगति शून्य देखाइएको छ ।

कार्यान्वयन क्षेत्र डोटी, डढेल्धुरा, बैतडी र बझाङ रहेको पश्चिम सेती आयोजनाबाट ४५० मेगावाट विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ । आयोजनाका बारेमा लगानी बोर्डले आवश्यक अध्ययन गरिरहेको विवरणमात्र आयोगमा प्राप्त भएको योजना अधिकृत कृष्ण व्याञ्जुले जानकारी दिए ।

नेपाल सरकार र अमेरिकी सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशनबीचको सहकार्यमा गत आर्थिक वर्षदेखि राष्ट्रिय गौरवको आयोजनाका रूपमा विद्युत् प्रसारण आयोजना समावेश गरिएको हो । यसका लागि अमेरिकाले ५० करोड अमेरिकी डलर र नेपाल सरकारले १३ करोड अमेरिकी डलर लगानी गर्ने सम्झौता दुई वर्षअघि भएको थियो ।

२० गौरवका आयोजनाका प्रगति
गत आर्थिक वर्षमा सिक्टा सिंचाइ आयोजनाको भौतिक प्रगति ८०.७९ र वित्तीय प्रगति ७३.७४ प्रतिशत छ । यसैगरी बबई सिंचाइ आयोेजनाको भौतिक ४६.४१ र वित्तीय ४३.३६ प्रतिशत प्रगति छ ।

रानीजमरा कूलरीया सिँचाइ आयोजनाको भौतिक ८२.७३ र वित्तीय ५१.२७ प्रतिशत प्रगति छ ।
यसैगरी भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको भौतिक १०० र वित्तीय ९८.६५ प्रतिशत प्रगति छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक ७१.५६ र वित्तीय ९७.०२ प्रतिशत प्रगति छ । बुढीगण्डकी जलविद्युत् आयोजनाको भौतिक ९१.५० र वित्तीय ९१.५१ प्रतिशत प्रगति छ ।

आयोगले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक ९६ र वित्तीय ९१ प्रतिशत प्रगति भएको जनाएको छ । आयोगका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक १०० र वित्तीय ६९ प्रतिशत प्रगति भएको छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक ९० र वित्तीय ९३.१८ प्रतिशत प्रगति भएको छ ।

पशुपति क्षेत्र विकास कोषको भौतिक ८३.७ र वित्तीय ५४.५२ प्रतिशत उपलब्धि हासिल भएको आयोगले जनाएको छ । लुम्बिनी क्षेत्र विकास कोषको भौतिक १०० र वित्तीय ९९.९९ प्रतिशत प्रगति छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको भौतिक ९७.४ र वित्तीय पनि ९७.४ प्रतिशत नै प्रगति छ ।

रेल्वे तथा मेट्रो विकास आयोजनाको भौतिक ७७.६७ र वित्तीय ७१ प्रतिशत उपलब्धि हासिल भएको आयोगले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । हुलाकी लोकमार्गको भौतिक १०० र वित्तीय प्रगति ९७.४ प्रतिशत छ । उत्तर दक्षिण (कोशी) लोकमार्गको भौतिक १०० र वित्तीय प्रगति ८७.३९ प्रतिशत छ ।

उत्तर दक्षिण (कालीगण्डकी) लोकमार्गको भौतिक १०० र वित्तीय प्रगति ९२.४ प्रतिशत छ । उत्तर दक्षिण (कर्णाली) लोकमार्गको भौतिक १०० र वित्तीय पनि १०० नै उपलब्धि छ । काठमाडौं तराई–मधेस द्रुतमार्गको भौतिक १०० र वित्तीय ९६.४३ प्रतिशत प्रगति छ ।

आयोगका अनुसार काकाकुल राजधानीको तिर्खा मेट्न उपयोगी मानिएको मेलम्ची खानेपानी आयोजनाको भौतिक ७४.७४ र वित्तीय प्रगति ४१.३८ प्रतिशत छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको भौतिक ९५.०७ र वित्तीय प्रगति ९१.१४ प्रतिशत विवरण प्राप्त भएको योजना अधिकृत सोना श्रेष्ठले सुनाइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७