‘भाग्यमानी’ खिमविक्रम शाही : गाउँपालिका अध्यक्षमा पराजित प्रदेशसभामा विजयी

बागलुङ, १६ मंसिर :  साढे दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा काँग्रेसका तारानाथ पौडेलसँग गाउँपालिका खिमविक्रम शाही अध्यक्ष पदमा ७०० मतले पराजित राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य प्रदेशसभा निर्वाचनमा भने विजयी भए ।

शाही प्रदेशसभाका लागि वाम गठबन्धनको उम्मेदवार थिए । बागलुङ क्षेत्र नं. २ (ख) मा तत्कालीन आम निर्वाचनमा प्रदेशसभामा निर्वाचित टेकबहादुर घर्तीको कलेजोसम्बन्धी रोगले निधन भएपछि एक वर्षदेखि पद रिक्त थियो ।

शनिबार भएको निर्वाचनमा शाहीले काँग्रेसका जितबहादुर शेरचनलाई पराजित गरेका हुन् । शाहीले ११ हजार २३५ र शेरचनले नौ हजार १३८ मत पाए ।

राष्ट्रिय जनमोर्चाका सचिवालय सदस्य रहनुभएका शाही विद्यालय तहमा पढ्दापढ्दै २०४० सालमा अखिल छैटौँको राजनीतिमा लागे । त्सपछि उनले विद्यार्थी सङ्गठन हुँदै युवक सङ्गठनमा पनि सक्रिय भएर काम गरे ।

विसं २०५२ मा राजमोको जिल्ला कमिटी सदस्यमा नियुक्त भएका शाही तीन कार्यकालसम्म जिल्ला सदस्यमै रहे । गत अधिवेशनमा सचिवालय सदस्यमा भएका शाही प्रदेशसभा निर्वाचनमा विजयी भए ।

स्थानीय तहमा पराजित भए पनि निरन्तर सङ्गठनमा लागेको र जनतासँगै एकाकार भएकाले विजयको माला पहिरिन सफल भएको उनको प्रतिक्रिया छ । उसो त उनी प्रभा माध्यमिक विद्यालयमा शिक्षक हुँदाको सम्बन्धले पनि गण्डकी प्रदेशसभामा पुग्नलाई बाटो खुलेको बताउँछन् ।

निर्वाचनमा शाहीले कृषिको विकास र आधुनिकीकरणमा भूमिका खेल्ने योजना बनाएका छन् । पश्चिम बागलुङमा उनको यही योजना बिकेको छ ।  सङ्घीयताविरोधी राजमो र सङ्घीयता पक्षधर नेकपाबीचको तालमेलबाट निर्वाचित भएकाले यसपछिको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ भन्ने चाहीँ हेर्न बाँकी रहेको पश्चिम बागलुङका मतदाताको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्