कर्णालीलाई संघीयता ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात’ जस्तैः राज्यमन्त्री कुँवर


१६ पुष २०७४, आईतवार
goma 1

जुम्ला : विना विभागीय राज्यमन्त्री गोमा कुँवरले मुलुक संघीयतामा गईसक्दा पनि कर्णाली उपेक्षित हुनबाट मुक्त नभएको बताएकी छन् ।प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा समेत कर्णालीलाई उपेक्षा गरिएको राज्यमन्त्री कुँवरले आरोप लगाइन् । ‘यसको प्रमुख कमजोरी क्षेत्रीय नेतृत्वको हो, हिजो कर्णाली सिंहदरबारबाट उत्पीडन प¥यो, आज भेरीबाट पर्दैछ’–उनले भनिन् । उनले क्षेत्रीय नेतृत्वको कर्णालीप्रति हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै यसले गर्दा संघीयता कर्णालीका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ झैं भएको विचार व्यक्त गरिन् । goma 1

नेकपा एमालेकी युवा नेतृ मेनका पछाईले पनि प्रदेश नेतृत्वको पूर्वाग्रहका कारण कर्णालीबाट नगण्य संख्यामा समानुपातिक सांसद्को सूचीमा परेको दोषारोपण गरिन् । उनले भनिन्–‘नेतृत्वको मानसिकता र व्यवहारले उत्पीडित क्षेत्र कर्णालीमा संघीयता आए जस्तो लागेन ।’ कांग्रेस नेतृ चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख कान्तिका सेजुवालले प्रदेश नं ६ को समानुपातिक संसद् चयनमा नेपाली कांग्रेसले न्याय गरे पनि एमाले र नेकपा माओवादी केन्द्रले कर्णालीप्रति उपेक्षा गरेको टिप्पणी गरिन् ।

कर्णालीको नेतृत्व केन्द्रमा नभएकै कारण यसले संघीयता कार्यान्वयन तहमा पुग्दा उचित न्याय पाउन नसकेको उनले बताइन् । ४० सदस्य रहेको ६ नं प्रदेशसभाका लागि अहिले प्रदेश समानुपातिकतर्फ एमालेबाट मीनासिंह रखाल, कौशिला खत्री, बदमी बोहोरा, पद्मा खड्का, देवी ओली र राजु नेपाली तथा कांग्रेसबाट दीनबन्धु श्रेष्ठ, हिमबहादुर शाही, यज्ञबहादुर बिसी, अमृता शाही र झोवा विक परेका छन् ।

त्यसै गरी माओवादी केन्द्रबाट समानुपातिक संसदमा पर्नेमा पुष्पा घर्ती विष्ट, सीताकुमारी नेपाली, विमला केसी र कृष्णा शाह तथा राप्रपाबाट सोशिलाकुमारी शाही भएका छन् । यसरी हेर्दा कर्णालीका पाँच जिल्ला गरेर चार जना मात्र समानुपातिक सांसद् प्रदेशसभा सदस्यमा आउने देखिन्छ । समानुपातिकमा हुम्लाबाट कुनै पनि पार्टीबाट नाम परेको छैन भने माओवादी केन्द्रले कर्णालीको पाँचै जिल्लाबाट प्रदेश नं ६ को सांसदमा कसैको नाम सिफारिस गरेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७