उसुका अभागी खेलाडी पदम


१७ मंसिर २०७६, मंगलवार
padam kulung rai scaled

 काठमाडौं, १६ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भइरहेको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) शुरु हुनुभन्दा एक हप्ता अघिसम्म उस्सुका खेलाडी पदम कुलुङमा छुट्टै उत्साह थियो ।

एक हप्ताअघिको पदमको त्यो उत्साह र आशा अहिले एकाएक निरासामा बदलिएको छ । त्यो निरासाको कारण हो–प्रतियोगिता छनौटका लागि अन्तिम समयमा बाहिरिनु । नेपाल आर्मीको विभागीय टिमबाट चार पटक राष्ट्रिय टिमबाट खेल्दै स्वर्ण पदक समेत जितिसकेका पदम अन्तिम समयमा कारण समेत थाहा नपाई साग प्रतियोगिताबाट बाहिरिनु पर्दा रोएका मात्र छैनन् खेल जीवनबाट नै निरास बनेका छन् ।

साग प्रतियोगितामा नेपालले २२ स्वर्णमध्ये १७ स्वर्णका लागि यस विद्या अन्तर्गत प्रतिष्पर्धा गर्दैछ । जसका नेपाल आर्मी, सशस्त्र, नेपाल प्रहरीका विभागीय खेलाडी र कर्णाली प्रदेशका एक जना गरी १७ खेलाडी साग प्रतियोगिताका लागि छानिएका छन् ।

यसरी छानिएका खेलाडीहरुमा पदमका व्याचका मात्र छैनन् उनी भन्दा जुनियर समेत परेका छन् । खेल क्षेत्रमा को कहिलेदेखि खेल्यो भन्दा पनि कसको खेल कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुने बताउँदै पदम भन्छन्, ‘चार–पाँच पटक राष्ट्रिय प्रतियोगितामा पदक जितेको र प्रशिक्षकहरुले तिम्रो खेल राम्रो छ भनिरहेका बेला खेल शुरु हुनुभन्दा पाँच दिन अगाडि मात्र आफू एकाएक बाहिर निस्कनु पर्दा दुःख लागेको छ ।’


साग प्रतियोगिता खेल्नकै लागि आफू अरु साथीहरुसँग ६ महिनादेखि बन्द प्रशिक्षणमा मेहनत गरिरहेको र विगतमा आफूले खेल क्षेत्रमा गरेको योगदानका कारण सागमा पनि राम्रो नतिजा ल्याउने आशा गरिरहेका बेला आफूमाथि एकाएक निरासा पैदा भएको पदम बताउँछन् । नेपाली सेनाको विभागीय टिमलाई प्रशिक्षक राजीव महर्जनले पदमसँगै अन्यलाई नियमित प्रशिक्षण दिंदै आएका थिए । महर्जन उस्सु महासंघमा समेत छन् ।


राष्ट्रिय टिम छनौटमा विभागीय प्रशिक्षकसहित अन्य पाँच कोचहरु रहने व्यवस्था छ । उस्सु खेलमा डिप्लोमा (कोच गर्न योग्य) हैसियत बनाइसकेका पदम आफू यस खेलमा विगत १५ वर्षदेखि निरन्तर मेहनत गरिरहेको भए पनि ठूला प्रतियोगिताहरुमा सहभागी हुने मौकाबाट सँधै बञ्चित हुँदै आएको बताउँछन् । उनले भने, एशियन गेममा पनि यसरी नै अन्तिम चरणमा बाहिर रहनु परेको थियो । अहिले पनि, खेल शुरु हुनु भन्दा पाँच दिन मात्र बाँकी रहँदा बाहिरिनु पर्दा बन्द प्रशिक्षणमा सँगै अभ्यास गरेका साथीहरु नै अचम्म मानिरहनु भएको छ ।’


साग प्रतियोगिताका लागि आफूले कसैलाई भनसुन नगरेको र आफ्नो विभागीय प्रशिक्षकलाई सोध्दा खेलाडी छनौटमा आफ्नो भन्दा राष्ट्रिय टिमका प्रशिक्षकहरुको मुख्य हात र भूमिका हुने बाहेक सागबाट बाहिरिनुको अरु कुनै कारण आफूलाई जानकारी नभएको पदमले बताए ।

उनले भने, ‘एशियन प्रतियोगिता खेल्न नेपालले धेरै मेहनत गर्नुपर्छ, यसमा सम्भावनाहरु कम हुन्छन् । तर, आफ्नै घर (देश) मा हुने साग प्रतियोगितामा योग्यता र क्षमता हुँदाहुँदै खेल्न नपाउँदा चाँहि धेरै दुःख लागेको छ ।’


नेपाली खेलाडीले आश गर्ने र नेपाली खेलाडीमाथि आश गर्ने प्रतियोगिता नै साग भएको जानकारी दिंदै पदमले थपे, ‘एउटा राष्ट्रियस्तरको प्रतियोगितामा राम्रो नतिजा दिइरहेको खेलाडीलाई, अन्तिम क्षणसम्म भर पारेर बाहिर निकालिनु अनि चार वर्षसम्म कुराउनु एक किसिमको अन्याय हो ।’


एशियन प्रतियोगितामा पनि पदम छनौट भएका थिए । उनले प्रशिक्षकले देखाएको ‘ह्याण्ड बुक’ अनुसारकै समूह चरण अनुसार अभ्यास पनि गरे । तर, प्रतियोगिता हुने बेला ७५ किलो तौल समूहलाई आयोजकले प्रतियोगितामा राखेन भनेर प्रशिक्षकले जानकारी गराएपछि एशियन प्रतियोगिता खेल्नबाट बञ्चित भए ।

पटक–पटक आफू खेल क्षेत्रमा अन्यायमा परिरहेको गुनासो गर्ने पदम यस पटकको साग प्रतियोगितामा आफू निरास रहे पनि अन्य नेपाली खेलाडीप्रति आशावादी छन् । उनले भने, ‘उस्सु खेलमा नेपाल दक्षिण एशियामै राम्रो मानिन्छ, घरमै भइरहेको साग प्रतियोगितामा स्वर्ण जित्ने अवसर र सम्भावना दुवै छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७