महाकालीको बगरमा पुरिंदै मुख्य सीमास्तम्भ

मुख्य र सात सहायक गरी १० सीमास्तम्भ गायव


१७ मंसिर २०७६, मंगलवार
sima mahakali

कञ्चनपुर, १७ मंसिर । चार वर्षअघि महाकाली नदीमा आएको बाढीका कारण ढलेको मुख्य स्मास्तम्भ जीर्णोद्धार नहुँदा बगरमा पुरिंदै गएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेटी क्षेत्रमा पर्ने महाकाली नदीको बगरमा रहेको नेपाल–भारत मुख्य सीमास्तम्भ नम्बर–८१३ विगत चार वर्षदेखि बगरमा अलपत्र अवस्थामा रहेको छ ।

‘नेपाल र भारतका सीमा सुरक्षाकर्मी यहाँ आएर सीमास्तम्भको निगरानी राख्ने गरेको भए पनि मर्मतका लागि कसैको ध्यान पुगेको छैन’, बगर छेउमै बालुवा छान्दै गरेकी खल्लामसेटीका स्थानीय विमला महताले भनिन्, ‘सीमास्तम्भ बालुवाले ढाकिने अवस्थामा पुगिसक्यो ।’ स्थानीयवासी भने सीमास्तम्भको जीर्णोद्धार नहुँदा सीमा छुट्याउनै सकस पर्ने बेला आरइरहेकोप्रति चिन्तित छन् ।

‘दार्चुलामा बाढीले धेरै नोक्सान पुर्‍याएको र गत साल आएको महाकाली बाढीले यो सीमास्तम्भ ढालेको हो’, खल्लामसेटीका गणेशबहादुर रोकायाले भने, ‘अरुबेला वास्ता नगर्ने भूमि अतिक्रमण हुँदा मात्रै आवाज उठाउने हाम्रो बानी नै भइसक्यो ।’ उनले स्थानीय प्रशासनको पहलमा भए पनि भारतीयसँग समन्वय गरेर सीमा जस्तो संवेदनशील विषयको संरक्षण समयमै गर्नुपर्ने बताए ।

त्यसैगरी सशस्त्र प्रहरी बल ब्रह्मदेवका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले कञ्चनपुरको सीमानामा पर्ने ब्रह्मदेवको माथिल्लो भागदेखि महाकाली किनार हुँदै भीमदत्त नगरपालिका–११ भुजेलसम्म पाँच वटा मुख्य सीमास्तम्भ नै नभएको बताए ।

sima mahakali 1

‘मुख्य सीमास्तम्भ नं ८१३ ढलेको अवस्थामा छ’, उनले भने, ‘त्योभन्दा माथि उत्तरतर्फ मुख्य सीमास्तम्भ ८१४, ८१५ र ८१६ छैनन् ।’ उनले उक्त तीन वटा मुख्य सीमास्तम्भसहित सात वटा सहायक गरी उक्त क्षेत्रमा १० वटा सीमास्तम्भ नै हराइरहेको बताए ।

‘हाम्रो प्रविधिले हेर्दा त्यहाँका मुख्य तीन वटा सीमास्तम्भ महाकाली नदीको पानीमा पर्छ’, सशस्त्र प्रहरी निरीक्षक खनालले भने, ‘हामीले यहाँको सीमा क्षेत्रको सबैखाले अपडेट केन्द्रमा पठाइरहेका छौं ।’ त्यसैगरी ब्रह्मदेव बजारको पश्चिम क्षेत्रमा महाकाली नदीमा मुख्य सीमास्तम्भ नं ८११ लामो समयदेखि हराइरहेको छ ।

स्थानीयवासी र सशस्त्र प्रहरी बलको रेकर्डमा उक्त सीमास्तम्भ महाकाली नदीको तटबन्धभन्दा पर (टनकपुर क्षेत्र) मा पर्छ तर भारतीय पक्षले भने महाकाली नदीको तटबन्धभन्दा करिब ६० मिटर वर (नेपालतर्फ) दाबी गर्दा यहाँ धेरै पटक विवाद भएको छ ।

सोही क्षेत्रमा गत वर्ष भारतीय पक्षले सडक कालोपत्रे गर्ने क्रममा विवाद भएको थियो । स्थानीय प्रशासनले दुवै देशको सर्वे टोलीको निर्णयपछि मात्रै सडक कालोपत्रे अगाडि बढाउने सहमतिपछि भारतीय पक्षपछि हटेको थियो । ‘सो क्षेत्रमा भारतीय पक्षले स्थानीय खडक सार्कीलाई घर समेत बनाउन दिएको अवस्था छैन’, उनले भने, ‘ब्रह्मदेव क्षेत्रमा सीमास्तम्भ नहुँदा नै नेपाल–भारतबीच समय समयमा विवाद हुने स्थिति बन्छ ।’

सशस्त्र प्रहरीका अनुसार यहाँको मुख्य सीमास्तम्भ ८१० (२) काठको बनाइएको छ भने भुजेलामा केही वर्षअघि मुख्य सीमास्तम्भ ८०५ महाकाली नदीमा आएको बाढीले बगाएको थियो । ‘दुवै देशका सर्वे टिम आएर सीमा मर्मत तथा स्पष्टसँग छुट्याउन सके यहाँ समस्या नै हुँदैन’, खनालले भने, ‘सीमास्तम्भ नभएको क्षेत्रमा बेलाबखत लफडा परिरहेको देखिन्छ ।’

त्यसैगरी कञ्चनपुरको दक्षिण क्षेत्र पुर्नबास, बेलौरी र बेल्डाँडी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रका केही स्थानमा पनि सीमा विवाद रहँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७