मेलमिलाप दिवसकै दिन नेवि संघ दुई ‘चोइटा’ !


१६ पुष २०७४, आईतवार
fut

काठमाण्डौं : ‘ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ’ भन्ने उखान जनजिब्रोमा सुनिन्छ । यहि उखान अहिले नेपाली कांग्रेसको राजनीतिक जीवनमा पनि देखिन थालेको छ ।fut

नेपाली राजनीतिमा लामो समय शासन सत्ता कब्जा गर्न सफल नेपाली कांग्रेस अहिले दिनहुँजसो स्खलित बन्न थालेको छ । स्थानीय निकाय निर्वाचनदेखि ओरालो लाग्न थालेको कांग्रेस अहिले आकारमा समेत खुम्चिंदै सत्ता बाहिर रहनु पर्ने अवस्थामा आई पुगेको छ, त्यो पनि पाँच वर्षसम्मका लागि । चोटमाथि चोट सहन वाध्य बन्दै आएको कांग्रेसमा अहिले अर्को चोट थपिएको छ–आफ्नो भ्रात्तृ संगठन नेपाल विद्यार्थी संघ ‘चोइटिने’ अवस्था । अझ कस्तो संयोग भने कांग्रेस मेलमिलाप दिवशकै दिन भ्रात्तृ संगठन नेविसंघ फुटको संघारमा छन् । आफ्ना सबै संगठनहरुको समन्वय र मेलमिलाप सुमधुर रहेको सन्देश प्रवाह गर्नुपर्ने दिन फुटको प्रचारबाजी भइरहँदा कांग्रेसको मन अमिलो बनेको छ । नेपाली कांग्रेस र त्यसका भ्रातृ संस्थाहरुले आइतबार मेलमिलाप दिवस मनाउँदै छन् । दिवसको अवसरमा राजधानी काठमाण्डौंसहित देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

तर मेललिाप दिवसकै दिन कांग्रेसका प्रभावशाली भातृ संगठन नेपाल विद्यार्थी संघ भने बिभाजित अवस्थामा पुगेको छ । नेविसंघ अलग–अलग समूहले मेलमिलाप दिवसमा अलग–अलग कार्यक्रम गरेका छन् भने यसबीचमा समानान्तर गतिबिधि भइरहेका छन् । कांग्रेस संस्थापक वीपी कोइरालालगायतका नेताहरुले राष्ट्रियता जोगाउन राजसंस्था र कांग्रेस मिल्नुपर्छ भन्ने नीतिसहित भारतको आठ वर्षे निर्वासन जीवन त्यागेर स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गतेलाई मेलमिलाप दिवसको रुपमा मनाउने गरिन्छ ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दा लगाइयो । तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले । त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति लिएर स्वदेश फर्किए । सोही दिनको सम्झनामा हरेक वर्ष पुस १६ गतेलाई नेपाली कांग्रेस र उसका भ्रातृ संस्थाहरुले ‘मेलमिलाप दिवस’ का रूपमा मनाउँदै आएका छन् ।

मिल्ने दिन नै बाझाबाझ

वीपीको मेलमिलापको नीतिलाई अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । तर, मेलमिलाप दिवसकै दिनदेखि कांग्रेस भ्रातृ संगठन नेविसंघमा भने फुट संकेत देखिएको छ ।

कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहबीच चिसोपन छ । यो विभाजनको रेखा प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि झन् गहिरो बन्दै गएको छ । पार्टीभित्रको बेमेलको असर भ्रातृ संगठन नेविसंघमा पनि देखिएको छ । जसको उदाहरण हो–मेलमिलाप दिवसको अवसरमा नेविसंघका नेताहरुले आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रम । नेविसंघको संस्थापन पक्षले राष्ट्रिय सभागृहमा दिउँसो एक बजे कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा सहभागी हुँदैछन् । दिउँसो १ बजे नै रामचन्द्र पौडेल पक्षको नेविसंघ नेताहरुले त्रिचन्द्र क्याम्पसमा अर्को छुट्टै कार्यक्रम आयोजना गरेका छन् । त्रिचन्द्रको कार्यक्रममा रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंहलगायतका नेताहरुलाई बोलाइएको छ ।

यद्यपि पौडेल र कोइरालाले उपत्यका बाहिर पूर्व निर्धारित कार्यक्रम रहेकाले कार्यक्रममा सहभागी हुन नसक्ने बताएका छन् । पौडेल र कोइराला सहभागी नभए पनि त्रिचन्द्रको कार्यक्रममा प्रकाशमान सिंह सहभागी हुने नेविसंघ नेता मनोज वैद्यले बताएका छन् । सिटौला पक्षले भने मेलमिलाप दिवसकै सन्दर्भ पारेर शनिबार युवा नेताहरुको सहभागीतामा अलग्गै कार्यक्रम ग¥यो । कार्यक्रममा गगन थापा, गुरुराज घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल, उमेशजंग रायमाझीलगायत नेताहरुलाई बोलाइएको थियो । ती नेताहरुको धारणा पार्टीको पहिलो पुस्ताले राजनीतिबाट विश्राम लिएर अभिभावकत्वको भूमिका खेल्नुपर्छ विषयमा केन्द्रीत थियो ।

के हो नेवि संघभित्रको विवाद ?

नेविसंघमा देखिएको विवादका धेरै कारणहरुमध्ये पदाधिकारी र केन्द्रीय सदस्यहरुको नियुक्ति मुख्य मानिएको छ । अध्यक्षलाई १५० केन्द्रीय सदस्यहरुमध्ये ६ पदाधिकारीसहित २१ जना नियुक्त गर्ने अधिकार छ । विधानमा भएको व्यवस्था अनुसार नेविसंघ अध्यक्षले परामर्श गरेर पदाधिकारीमा एक जना महामन्त्री, ३ जना सहमहामन्त्री र दुई जना उपाध्यक्ष (एक महिला र एक खुल्ला) नियुक्त गर्न पाउने अधिकार छ । अहिले नेविसंघ अध्यक्ष नैनसिंह महरले महामन्त्रीमा आनन्दराज त्रिपाठीलाई नियुक्त गरेका छन् । त्रिपाठी अध्यक्षमा चुनाव लडेर पराजित भएका थिए । केन्द्रीय सदस्य पनि अधिकांश नियुक्त भइसकेका छन् । अब ३ सहमहामन्त्री र २ उपाध्यक्ष नियुक्त गर्न बाँकी रहेको छ । नियुक्तिहरुमा परामर्श नगरी एकलौटी गरेको आरोप अध्यक्ष महरलाई लाग्दै आएको छ । पौडेल पक्षले नियुक्तिमा ५० प्रतिशत भागबण्डा खोजेको थियो तर महरले सबै आफू निकटलाई नियुक्त गरेपछि नेवि संघभित्रको विवाद सतहमा आएको हो । पौडेल पक्ष नेवि संघ केन्द्रीय सदस्य कल्पना खड्काले अध्यक्ष महरको एकलौटी नरोकिए समानान्तर समिति गठन गरेर अघि बढ्ने चेतावनी दिएकी छन् । यता महर पक्षले भने अनावश्यक रुपमा विवाद सिर्जना गर्न खोजिएको बताएको छ । उपाध्यक्ष पुष्पकुमार शाहीले मनोनयन गर्ने व्यक्तिको नाम माग्दा पौडेल पक्षबाट अलग–अलग नाम आउँदा समस्या भएको बताएका छन् । वीपीको बिचार बोकेको कांग्रेस पार्टीको भातृ संस्थामा यसरी विभाजनको रेखा कोरिनु दुर्भाग्यपूर्ण रहेको उपाध्यक्ष डिल्लीराज सुवेदी बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७