कुन–कुन खेलाडी अबको विश्वकप खेलबाट बाहिरिए ?


१६ पुष २०७४, आईतवार
world cup

विश्व फुटबलमा ०१७ : जसले बुट थन्क्याए, जसले थन्क्याउँदवर्ष २०१७ पनि क्रिस्टियानो रोनाल्डो र मेसीकै वरिपरि घुम्यो । विगत १ दशकदेखि यी दुई खेलाडीले फिफा वर्ष खेलाडीको अवार्ड सेयर गर्दै आएका छन् । यस पटक पनि त्यस्तै भयो । मेसीलाई उछिनेर रोनाल्डोले अवार्ड जिते ।

उत्कृष्टताको होडमा यी दुई खेलाडीलाई नयाँ खेलाडीहरूले उछिन्न सकेनन् । बरु, पुराना त्यस्ता केही पुराना खेलाडीहरूले यस वर्ष बुट थन्क्याए । जो, मेसी र रोनाल्डोको आगमनअघि विश्व फुटबलको केन्द्रमा थिए ।

जसले बुट थन्क्याए

आन्द्रेइ पिर्लो, ३८ वर्ष
पिर्लोको खेलशैली आफैमा अध्ययनको विषय हुनसक्छ । के मात्रै भन्न सकिन्छ भने उनी उत्कृष्ट खेल्थे  । उनी रोबर्टो बाजियोपछिका सर्वाधिक उत्कृष्ट इटालियन प्लेमेकर मानिन्छन् । लामो दूरीको पास र उत्कृष्ट ड्रिब्लिङ उनको विशेषता हो । फ्रिकिक र पेनाल्टी प्रहार गर्न पनि यी खेलाडी उत्तिकै माहिर थिए ।

serie a Rmw14osmev

मिडफिल्डका थुप्रै पोजिसनमा खेल्न सक्ने भएर पनि उनी करियरको धेरैजसो समय होल्डिङ मिडफिल्डरका रूपमा प्रयोग भए । छरितो पास उपलब्ध गराउन सक्ने भएकै कारण उनलाई सेन्टर मिडफिल्डमा खेलाइएको थियो । करियरको सुरुवातमा भने उनी आक्रामक मिडफिल्डर थिए । बेलामौकामा सेकेन्ड स्ट्राइकर भएर पनि खेले । तर जब उनी सेन्टरमा आए त्यसपछि तुरुन्तै स्थापित भए ।

बेला–बेलामा कठिन तथा जोखिमपूर्ण पास उपलब्ध गराएर पनि उनले खेललाई यूटर्न गराउँथे । डेड बल सदुयोग गर्न सक्ने खुबी गज्जबको थियो । धेरै पटक उनले जिरो एङ्गलबाट सहकर्मीका लागि उत्कृष्ट पास सिर्जना गरिदिएका छन् । पिर्लोले युवा अवस्थामा ब्रेसिया क्लबबाट रोबर्टो बाजियोसँगै खेलेका थिए । त्यसैले पिर्लोको खेलशैली केही हदसम्म बाजियोबाट प्रभावित रह्यो ।  इटालियन सिरिएमा सर्वाधिक फ्रिकिक प्रहार गर्ने खेलाडीको सूचीमा पिर्लो पर्छन् ।

सन् २००६ मा इटलीलाई विश्वकप जिताउने क्रममा उनले निकै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । त्यस विश्वकपमा उनी ३ खेलमा म्यान अफ दि म्याच चुनिए । पिर्लोले आफ्नो सफल करियरका दौरान २ पटक च्याम्पियन्स लिग तथा २ अवसरमा इटालियन सिरिए जितेका छन् । इटलीका ३ ठूला क्लब इन्टर मिलान, एसी मिलान र युभेन्टसबाट खेले पनि उनी सबैमाझ उत्तिकै सम्मानित छन् । सन् २००२ देखि २०१५ सम्म इटलीबाट ११६ खेल खेल्दै उनले १३ गोल गरे ।

काका, ३५ वर्ष

सन् २००४ देखि सन् २००७ सम्म काका विश्वकै खतरनाक खेलाडी मानिन्थे । उत्कृष्ट ड्रिब्लिङ, सटिक पास र शानदार गोल उनको विशेषता थियो । यी खतरनाक प्लेमेकरले यसै वर्ष बुट थन्क्याउने निर्णय गरेका छन् ।

481333721 th0YNajbPU

१० वर्षअघि काका यतिसम्म चर्चामा थिए कि उनलाई त्यतिबेलै १ सय मिलियन तिरेर किन्ने प्रयास म्यानचेस्टर सिटीले गरेको थियो । सन् २००६ को विश्वकपमा क्रोयसियाविरुद्ध गरेको शानदार गोल, एसी मिलानमा बिताएका ६ सिजन र त्यस क्रममा उनले खेलेका २ च्याम्पियन्स लिग फाइनल काकालाई सम्झन पर्याप्त छन् । सन् २००५ को फाइनलमा काकाले उत्कृष्ट खेल्दाखेल्दै पनि लिभरपुलसँग मिलान पराजित भएको थियो । त्यसको २ वर्षपछि मिलानलाई नै २–१ ले हराएर मिलानले उपाधि जित्यो । काकाले नै गोलका लागि अवसर सिर्जना गरेका थिए । उनी त्यस वर्ष च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता, युरोपको सर्वोत्कृष्ट खेलाडी तथा फिफा वर्ष खेलाडी घोषित भए ।

काकाले सन् २००२ मा ब्राजिलका लागि विश्वकप जितेका थिए । उनले अन्तिम पटक अमेरिकी मेजर सकर लिगमा ओरलान्डो सिटीबाट खेले । काका मेजर सकर लिगको इतिहासमै सर्वाधिक महँगा खेलाडी थिए । त्यहाँ जानुअघि उनले साओ पावलो, एसी मिलान र रियल म्याड्रिडबाट खेले । एसी मिलानबाट रियल म्याड्रिडले सन् २००९ मा उनलाई विश्व कीर्तिमानी रकममा किनेको थियो । तर म्याड्रिडमा काका फिक्का देखिए ।

फिलिप लाहाम, ३४ वर्ष
 

philipplahm cropped wkthc5ikcglv1hbojhmmpnt87 8FDqr9cjkI

फिलिप लाहमले ३४ वर्ष नपुग्दै सन्न्यास घोषणा गरे । गत सिजन बार्यनबाट बुन्डेस लिगा जितेका लाहमले अझै केही वर्ष खेल्ने अपेक्षा गरिएको थियो । सन् २००४ देखि सन् २०१४ सम्म जर्मनीबाट खेलेका यी डिफेन्सिभ मिडफिल्डर आफ्नो कप्तानी भूमिकाका कारण पनि सधैँ चर्चामा रहनेछन् । उनकै कप्तानीमा जर्मनीले सन् २०१४ मा विश्वकप जित्यो । सन् २०१३ मा म्युनिखले च्याम्पियन्स लिगसहित प्रमुख ३ उपाधि जितेर इतिहास कायम गर्दा लाहम नै टोलीका कप्तान थिए । उनले जर्मनीबाट १ सय १३ खेल खेल्दै ५ गोल गरेका छन् ।

जाभी अलन्सो, ३६ वर्ष

जाभी अलन्सो उत्कृष्ट खेलाडी हुन् भन्ने बुझ्नका लागि सन् २००५ को च्याम्पियन्स लिग फाइनल हेरे पुग्छ । आफ्नो खेल करियरमा रियल सोसिडाड, इबर, लिभरपुल, रियल म्याड्रिड र बार्यन म्युनिखबाट खेलेका यी भर्सटायल मिडफिल्डरले लिभरपुललाई  सन् २००५ को च्याम्पियन्स लिग जिताउने निर्णायक भूमिका खेलेका थिए ।  लिभरपुलले अलन्सोकै गोलमार्फत खेल लराबरी गरेको थियो  । उक्त खेल टाइब्रेकरमा लिभरपुलले जित्यो ।

1124559 imgw968 34mN1rbHBL

उनी आफ्नो पुस्ताका कमै मात्र भर्सटायल खेलाडीमध्ये एक हुन् । उनी रक्षात्मक खेल्न तथा गोलका लागि अवसर सिर्जना गर्ने दुवै मामिलामा अलन्सो उत्कृष्ट मानिन्छन् । लामो दुरीको पास, ड्रिब्लिङ तथा आवश्यकता पर्दा सुन्दर गोल अलन्सोका विशेषता थिए । मैदानको मध्यभागमा होल्डिङ मिडफिल्डरका रूपमा उनी निकै उत्कृष्ट खेल्थे । अब यी सबै इतिहास भए । लामो दूरीबाट उत्कृष्ट प्रहार गर्ने अलन्सो उत्तिकै उत्कृष्ट पेनाल्टी प्रहार गर्थे । बेलामौकामा हेड बलसमेत प्रहार गर्ने अलन्सो अनावश्यक कार्ड खाएको भन्दै बेला बेलामा आलोचित हुन्थे । उनले स्पेनबाट विश्वकप र २ अवसरमा युरोकप जितेका छन् । स्पेनबाट १ सय १४ खेल खेल्दै उनले १६ गोल गरेका छन् ।फ्र्याङ्क लाम्पार्ड, ३९ वर्ष

सन् २०१० मा सन्न्यास लिने चर्चित खेलाडीमध्ये फ्र्याङ्क लाम्पार्ड एक हुन् । सन् २००१ मा वेस्टह्यामबाट चेल्सी आएका लाम्पार्डले इङ्ल्यान्डमै सीमित चेल्सीको लोकप्रियतालाई विश्वभर फैलाउन महत्वपूर्ण भूमिका खेले । उनी आएको केही समयभित्रै चेल्सीलाई धनाढ्य व्यापारी रोमन इब्राभिचले खरिद गरे । त्यसपछि उत्कृष्ट खेलाडीहरूको आगमन हुन थाल्यो । चेल्सी युरोपकै शक्तिशाली क्लब बन्यो । यति परिवर्तन भइसक्दा पनि लाम्पार्ड टोलीका प्रमुख खेलाडी थिए । उनले चेल्सीबाट २ सय ११ गोल गरे । उनी क्लबका सर्वाधिक गोलकर्ता हुन् । सन् २०१२ मा लाम्पार्डकै कप्तानीमा चेल्सीले च्याम्पियन्स लिग उपाधि जित्यो । 

frank lampard 0 VdttCXYcZr

इङ्ल्यान्डबाट भने उनले कुनै पनि महत्वपूर्ण उपाधि जित्न सकेनन् । उनले इङ्ल्यान्डबाट १ सय ६ खेल खेल्दै २९ गोल गरे ।

आफ्नो करियरका दौरानमा उनले डिफेन्सिभ मिडफिल्डर, सेन्ट्रल मिडफिल्डर र बक्स टु बक्स मिडफिल्डरको जिम्मेवारी पनि उत्तिकै राम्ररी निभाए । त्यसैले फुटबल विज्ञहरू उनलाई भर्सटायल खेलाडी मान्छन् ।

 डिर्क किवेट, ३७ वर्ष
सन् २०१० मा नेदरल्यान्डलाई विश्वकपको फाइनलमा पुर्याउन किवेटको प्रदर्शन महत्वपूर्ण थियो । करियरको सुरुवाती समयमा स्ट्राइकर रहेका किवेट पछिल्लो समय विङ्गर थिए । उनको ड्रब्लिङ र आक्रमण निकै उत्कृष्ट थियो । राइट विङ्गमा किवेट र लेफ्ट विङ्गमा रोब्बिनले खेल्दा नेदरल्यान्ड निकै खतरनाक देखिन्थ्यो । यी दुई खेलाडीसँगै अग्रपङ्क्तिबाट खेल्ने भान पर्सी र मिडफिल्डर वेस्ले स्नाइज्डर पनि उत्तिकै उत्कृष्ट मानिन्थे । नेदरल्यान्डको स्वर्णिम पुस्ता मानिएको यो टोलीले २०१० मा फाइनल तथा सन् २०१४ मा सेमिफाइनलसम्मको यात्रा गरेको थियो । तर पनि टोलीलाई उपाधि दिलाउन नसक्नु किवेटको करियरको सबैभन्दा ठूलो दुर्भाग्य हो ।

dirk kyut GGqcp2qD3A

च्याम्पियन्स लिग जित्ने उनको योजना पनि सन् २००६ मा मिलानसँग लिभरपुल २–१ ले पराजित हुँदा अधुरो रह्यो । उक्त खेलमा लिभरपुलबाट उनले नै सान्त्वना गोल फर्काएका थिए । नेदरल्यान्डबाट १ सय ४ खेल खेल्दै २४ गोल गरेका किवेटले सन् २०१४ को विश्वकपपछि राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । पछिल्ला वर्ष डच क्लब फियनोर्डमै रमाइरहेका उनले सन्न्यास घोषणाअघि कुल ६ सय ६२ व्यावसायिक खेल खेल्दै २ सय ३३ गोल गरे ।

फ्रान्सिस्को टोट्टी ४१ वर्ष

९० को दशकमा धमाका पिटेका खेलाडीहरूमध्ये लामो समय आफ्नो फुटबल करियरलाई निरन्तरता दिने कमै खेलाडीमध्ये टोट्टी एक हुन् । राष्ट्रिय टोलीबाट सन् २००७ मै सन्न्यास लिएका टोट्टी क्लब फुटबलमा भने थप १० वर्ष रमाए ।

उनी इटालियन क्लब रोमाका लिजेन्ड हुन् । यी खेलाडीले आफ्नो खेल करियरमा रोमाबाहेक अर्को क्लब रोजेनन् । लुइस फिगो, जिनेदिन जिदान, रोनाल्डो, डेभिड बेकह्यामलगायतका उत्कृष्ट खेलाडीलाई रियल म्याड्रिडले आफ्नो ग्यालेक्टिको परियोजनामार्फत भित्र्याउँदा टोट्टीलाई पनि आकर्षक रकम प्रस्ताव गरिएको थियो । तर टोट्टीले त्यस्तो प्रस्ताव लत्याइदिए ।

Francesco Totti uFUcq0YFHp

सन् १९९८ देखि इटलीको राष्ट्रिय टिमबाट खेलेका टोट्टी सन् २००० को युरोकपमा इटलीले फाइनलसम्मको यात्रा गर्दा उच्च फर्ममा थिए । यस प्रतियोगितामा उनले २ गोल गरे र  २ गोलका लागि पास मिलाइदिए । सन् २००२ को विश्वकपमा उनी दक्षिण कोरियाविरुद्धको खेलमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । २००४ को युरोकपमा पनि यस्तै भयो । उनले डेनमार्कविरुद्धको खेलमा क्रिस्ट्रियन पउलसनलाई मैदानमै थुके । परिणाम, उनी रातो कार्ड खाँदै बाहिरिए । खेल गोलरहित बराबरीमा टुङ्गियो । लिग चरणको समाप्तीमा गोलअन्तरमा पछि परेर इटली बाहिरियो । आलोचकहरूलाई जवाफ फर्काउने क्रममा उनले सन् २००६ को विश्वकप इटलीलाई जिताउन भने महत्वपूर्ण भूमिका खेले । अस्ट्रेलियाविरुद्ध इन्जरी समयमा निर्णायक गोल गर्दै उनले इटलीलाई क्वाटरफाइनल पुर्याएका थिए । आन्द्रे पिर्लोसँग उनी यस प्रतियोगितामा सर्वाधिक पास मिलाइदिने खेलाडीको सूचीमा थिए । उनले ४ गोलका लागि पास मिलाइदिए ।

टोट्टीलाई धेरैले अहिलेसम्मकै उत्कृष्ट इटालियन फुटबलरमध्ये एक मान्छन् । उनी स्ट्राइकर, आक्रामक मिडफिल्डर तथा विङ्गर सबै भूमिका फिट थिए । मिडफिल्डबाट आएको बललाई स्ट्राइकर समक्ष पुर्याउन टोट्टीले कुनै कसर बाँकी राखेनन् । आफैं गोल गर्न पनि उनी खप्पिस थिए । त्यसैले बेला–बेला उनलाई स्ट्राइकरको भूमिकामा पनि खेलाइन्थ्यो । डियागो म्याराडोनाकै भनाइ मान्ने हो भने टोट्टी वास्तविक नम्बर १० हुन् । उनले रोमाको सर्वाधिक गोलकर्ता तथा सर्वाधिक क्याप जित्ने खेलाडीको कीर्तिमान राखेका छन् । आफ्नो करियरमा १ पटक सिरिए तथा २–२ पटक कोपा इटालिया र सुपरकोपा इटालिया जितेका छन् । रोमाको जर्सीमा टोट्टीले ३ सय १६ गोल गरे । त्यसमा उनले सिरिएमा गरेका २५० गोल समावेश छ । इटलीबाट ५८ खेल खेल्दै उनले ९ गोल गरेका छन् ।

जसले बुट थन्क्याउँदैछन् :

जाभी हर्नान्डेज, ३७ वर्ष
च्याम्पियन्स लिगका ४ उपाधि, २ युरो कप उपाधि र विश्वकपकै १ उपाधि । जाभीले आफ्नो खेलजीवनमा उपाधि मात्रै जितेनन्, कलात्मक खेलका कारण दर्शकहरूको पनि मन जिते । निरन्तर पास खेल्दै बललाई नियन्त्रणमा राख्ने बार्सिलोनाको खेलशैली ‘टिकी–टाका’ मेसी, जाभी र इनिस्टामै केन्द्रित भएर निर्माण भएको थियो । यी ३ खेलाडीले मिलेर बार्सिलोनाबाट  थुप्रै पटक ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जिते ।

Xavi On His Way To Man Utd M723csCuhI

गोल गर्नेको भूमिकालाई विशेष मानिने फुटबलमा धेरैभन्दा धेरै पास खेलेर जाभी स्थापित भए  । उनले बार्सिलोनामा थुप्रै पटक पासिङ रेकर्ड ब्रेक गरे । जसका कारण मेसीले गोलको रेकर्ड ब्रेक गरेका थिए । जाभी आफ्ना लागि स्पेस बनाउँछन् । त्यतिकै उत्कृष्ट पास दिन्छन् र विपक्षीमाथि निरन्तर हाबी हुन्छन् । स्पेनलाई सन् २०१० को विश्वकप जिताउने क्रममा प्रमुख भूमिका खेलेका जाभीले सन् २०१४ को विश्वकपमा स्पेनले राम्रो प्रदर्शन गर्न नसकेपछि  अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । उनले त्यसको १ वर्षपछि उनी बार्सिलोनाबाट कतारी क्लबमा गए । अहिले उनी कतारकै अल सादबाट खेलिरहेका छन् । ३७ वर्षका यी खेलाडी यसै वर्ष बुट थन्क्याएर प्रशिक्षण करियर सुरु गर्ने योजना छन् । ‘म आफ्नो करियरमा घाइते हुन परेन । त्यसैमा भाग्यमानी महसुस गर्छु । तर अब सन्न्यासको समय आइसकेको छ । यस सिजनको अत्यमा सन्न्यास लिन्छु, ‘स्पेनको राष्ट्रिय टोलीबाट १ सय ३३ खेल खेलेका ३७ वर्षीय जाभीले भने ।

बुफोन,  ३९ वर्ष
इटलीका सर्वकालीन महान् गोलकिपर गियानलुइगी बुफोनका लागि पनि यो सिजन अन्तिम हुनेछ । इटलीलाई सन् २००६ को विश्वकप जिताउने क्रममा बुफोनले निकै महत्वपूर्ण भूमिका खेलेका थिए । उनले त्यस प्रतियोगितामा खेलेका ७ खेलमध्ये २ गोल मात्रै खाए । सर्वोत्कृष्ट गोलकिपरको अवार्ड उनले जिते ।

बुफोनले थुप्रै इतिहास राखेका छन् । सन् २००१ मा पर्माबाट युभेन्टसले उनलाई ५२ मिलियन युरोमा किनेको थियो । कुनै पनि गोलकिपरमाथि क्लबले खर्चिएको यो अहिलेसम्मकै सबैभन्दा धेरै रकम हो । १६ वर्षसम्म पनि यो रेकर्ड तोडिएको छैन । उनी इटालियन सिरिएमा सबैभन्दा धेरै समय गोल नखाने गोलकिपर हुन् । उनले १२ म्याचसम्म (९७४ मिनेट) कुनै गोल खाएनन् । आफ्नो करियरमा १ हजारभन्दा धेरै म्याच खेल्ने विश्वका १८ खेलाडीमध्ये बुफोन एक हुन् ।

598816.1510641444.b i0KqQEsdjR

बुफोनले विश्वकपपछि च्याम्पियन्स लिग र युरोकप जित्ने लक्ष्य राखेका थिए । तर पूरा भएन । सन् २०१२ को युरोकपमा फाइनल पुगेको इटली स्पेनसँग पराजित भयो । २ पटक युभेन्टसलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएर पनि  उपाधि जिताउन बुफोन असफल रहे ।  पछिल्लो समय इटलीको कप्तानसमेत रहेका बुफोनले आगामी वर्ष हुने विश्वकपमा इटलीलाई छनोट गराउन असफल भएपछि राष्ट्रिय टोलीबाट सन्न्यास घोषणा गरिसकेका छन् । उनले यसै सिजनको अन्त्यपछि बुट र ग्लोब्स थन्क्याउने बताएका छन् । क्लबबाट थुप्रै पटक घरेलु लिग तथा देशबाट विश्वकप नै जितिसकेका बुफोन सन्न्यास घोषणाअघि युभेन्टसबाट च्याम्पियन्स लिग जित्न चाहन्छन् । त्यसका लागि यो अन्तिम अवसर हो ।

सन्न्यासको लाइनमा थुप्रै खेलाडी
आर्यन रोब्बिनले नेदरल्यान्डसलाई विश्वकपमा छनोट गराउन नसकेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । यसअघि रोब्बिनले यसै सिजनको अन्त्यबाट बार्यन म्युनिखसमेत छाड्ने बताएका थिए । बार्यनसँग उनको सम्झौता यसै सिजन टुङ्गिँदैछ । तर क्लब फुटबलमा उनी अझै केही समय टिक्न सक्छन् । । किनकि बार्यन म्युनिखले आकर्षक सम्झौता थपेर उनलाई राख्न चाहिरहेको छ । ब्राजिलका लुइस फाबियानो र रोबिन्हो पनि यसै सिजनको अन्त्यबाट सन्न्यास लिने सोचमा रहेको जनाएका छन् ।  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७