सफलता नजिक पेट्रोलियम अन्वेषणको काम


१८ मंसिर २०७६, बुधबार
anbesan Daileh

दैलेख, १८ मंसिर । दैलेखमा शुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलता नजिक पुग्दै गएको छ । जिल्लाका विभिन्न भू–भागमा धेरै सम्भावना भएका कारण चीन सरकार र नेपाल सरकारको टोलीले अन्वेषणको कार्य तीव्र पारेको हो ।

पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको साइस्मिक सर्वेको काम अहिले तीव्र पारिएको छ । जिल्लाका विभिन्न भूभागमा साइस्मिक सर्वेको कार्य तीव्र पारिएसँगै छिट्टै सर्बेको निष्कर्ष आउने आशा गरिएको छ । चीन सरकार र नेपाल सरकारको संयुक्त विशेषज्ञ टोलिले पेट्रोलियम अन्वेषणका विभिन्न काम एकै साथ अगाडि बढाएका हुन् । विदेशमा पेट्रोलियम अन्वेषणका लागि काम गरेका अनुभवी नेपाली कामदार अहिले यो कार्यका लागि प्रयोग गरिएका छन् ।

अनुसन्धानका लागि अत्याधुनिक साधन समेत ल्याइएको छ । साइस्मिक सर्वेअन्तर्गत जमीनभित्र तरङ्ग पठाउने काम शुरु गर्न थालिएको छ । विभिन्न चार वटा सर्वेमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको साइस्मिक सर्वेपछि त्यसको अनुसन्धान गरेर भण्डारणको क्षेत्र पहिचान हुने भएको छ ।

नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलिय भण्डारणको बढी सम्भावना भएकाले दैलेखका विभिन्न भूभागमा २० किलोमिटर क्षेत्रभित्र १० वटा सर्कलमा जमीनमुनि डिलिङ गर्ने काम शुरु गरिएको छ ।

सर्वेका लागि तयार पारिएका १० सर्कलमा अहिले १० समूह निर्माण गरेर ड्रिलिङको काम शुरु गरिएको छ । दशमध्ये एउटा सर्कलमा जमीनमुनि करिब ४५ फिटसम्म ड्रिलिङसँगै विस्फोटक पदार्थ राख्ने काम सकिएको हो । अन्य सर्कलमा उक्त कार्य तीव्ररुपमा अगाडि बढेको छ ।

जमीनमुनि तरङ्ग पठाएर तरङ्गको मापन गरिने र सोहीअनुसार भण्डारणको धेरै सम्भावना भएको स्थानमा मुख्य ड्रिलिङको काम हुने खानी तथा भूगर्भविद् एवं अन्वेषण कार्यका लागि खटिएका खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए ।

पहाडी भूभाग भएकाले साइस्मिक सर्वेका लागि आवश्यक उपकरण लिन र लैजानसमेत समस्या हुने गरेको छ । भिरालो जमीन र बढीजसो स्थानमा ढुङ्गाको चट्टान भएका कारण सामान्य समस्या भए पनि कामको गति नरोकिएको अन्वेषणमा संलग्न टोलीले जानकारी दिएको छ ।

अन्वेषणका लागि ड्रिलिङ मेशिन राख्नुपर्ने, त्योसँगै जेनेरेटरलगायतका सामान लिन लैजान केही समस्या भएको छ । एक समूहमा आठ नेपाली कामदार र दुई जना विज्ञ सम्मिलित टोलीले विभिन्न दश वटा सर्कलभित्र काम गरेका छन् ।

चट्टानका कारण कहिलेकाहीँ मेशिनमा सामान्य समस्या उत्पन्न हुने गरेको भए पनि तत्काल मेशिन निर्माण गरेर काम शुरु भइरहेको साइस्मिक परियोजनाको व्यवस्थापन जिम्मेवारी लिएका सूर्यमणि लामिछानेले जानकारी दिए ।

अन्वेषण कार्यका लागि आवश्यक पर्ने सबै खाले सुरक्षा व्यवस्था मजबुत पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले राष्ट्रिय महत्वको परियोजना भएकाले जिल्लाको समग्र सुरक्षाको व्यवस्थापन गरिएको र परियोजना सफल भए आर्थिक रुपमा नेपालले ठूलो फड्को मार्ने बताए ।

‘हामीले टोलीमा खटिएका विषयलगायतका अन्य विषयमा नजिकको प्रहरी वा अन्य सुरक्षा निकायलाई दैनिकरुपमा भेटघाट गर्ने र कुनै स्थानमा अभान्छित गतिविधि भए तत्काल कारवाही प्रक्रिया थाल्न निर्देशन दिएका छौं’, प्रजिअ कट्टेलले भने । अन्वेषणका लागि आवश्यक पर्ने सामान चुप्रा क्याम्पमा राखिएको छ ।

दिनभर विभिन्न भूभागमा काम गरेर टोली साँझ क्याम्पमै फर्कने गरेको छ । दुल्लुमा पनि क्याम्प निर्माण गरिने भनिए पनि काम गर्ने सबै स्थान नजिकसम्म यातायातको सुविधा पुगेका कारण अहिले चुप्राकै क्याम्पबाट काम शुरु गरिएको छ । आवश्यकताअनुसार दुल्लुमा पनि क्याम्प खडा गर्ने तयारी आयोजनाको छ ।

पेट्रोलियम अन्वेषणको काम संवेदनशील भएकाले खोज र अनुसन्धानका विभिन्न प्रक्रिया सुरक्षितरुपमा गर्नुपर्ने भएकाले कुन भूभागमा कति परिमाणमा छ या छैन भन्ने कुराको यकिन भएपछि मात्र सञ्चारमाध्यममा यसको प्रगति दिने त्यस अघि वा पछि चिनियाँ टोलीले कुनै प्रतिक्रिया नदिने बताइएको छ । साइस्मिक सर्वेपछिको रिपोर्टका आधारमा उपयुक्त स्थानको खोजी गरेर भण्डारणका बारेमा थप अनुसन्धान थालिने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७