१८ करोड हिनामिना गरेका बैंक सञ्चालक समिति अध्यक्ष र सदस्य १२ लाख धरौटीमा छुटे

बैंक घोटाला प्रकरणमा ५६ जनालाई मुद्दा, १३ जना कारागार चलान


१९ मंसिर २०७६, बिहीबार
uchha adalat

दाङ, १९ मंसिर । १८ करोड रुपैंयाँ हिनामिनाको अभियोगमा मुद्दा झेलिरहेका तत्कालीन वेष्टर्न डेभलमेन्ट बैंक नारायणपुर शाखाका अभियुक्तमध्ये दुई जना धरौटीमा रिहा भएका छन् ।

उच्च अदालत तुलसीपुर दाङले बैंक सञ्चालक समिति अध्यक्ष अध्यक्ष ओमभक्त बुढाथोकी र सञ्चालक समिति सदस्य अर्जुन बुढाथोकीलाई बुधबार १२ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

प्रहरीले बैंकको १८ करोड हिनामिनाको मुद्दा दुई महिना लामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले कात्तिक ३ गते उक्त मुद्दा उच्च अदालत तुलसीपुरमा दायर गरेको थियो ।

मुद्दा दायर गर्दा बैंक सञ्चालक समिति अध्यक्ष र सदस्य फरार सूचीमा थिए । त्यसपछि अदालतले उनीहरूको घरमा म्याद टाँसेको थियो । त्यसपछि सञ्चालक समिति अध्यक्ष बुढाथोकी र सदस्य बुढाथोकी दुबै जना अदालतमा उपस्थित भएका थिए ।

बैंकको १८ करोड हिनामिना प्रकरणमा ६ जना बैंक सञ्चालक, सिइओ, कर्मचारी, ऋणी, खातावाल गरेर ५६ जनाविरुद्ध मुद्दा छ । यसअघि नै पक्राउ परेकामध्ये बैंकका म्यानेजरसहित १३ जना कर्मचारी र खातावाला समेत गरी पाँच जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

१८ करोड हिनामिना प्रकरणमा संलग्न भएको आरोप लागेकामध्ये बैंकका सिइओ, सञ्चालक समितिका अन्य पदाधिकारी, बैंक ऋण बोर्ड सदस्यहरू फरार छन् ।

त्यस्तै, हिनामिना प्रकरणमा मुद्दा दायर गरिएकामध्ये तत्कालीन वेष्टर्न बैंकका सिइओ खिमबहादुर डिसी, बैंकका कर्जा विभाग प्रमुख अनिलकुमार न्यौपाने, बुटवलका अडिटर प्रेम भुर्तेल, लोन सहायक पोषणराज जैसी, सहायक सिर्जना थापासहित छ जना र खाताको रकम दुरुपयोग गरेकोमा वसन्तबहादुर बस्नेत पनि फरार नै छन् ।

बैंक घोटालामा संलग्नमध्ये बैंक सञ्चालक, सिइओ लगाएको सम्पत्ति छानबिन गर्न मागसहित सम्पत्ति शुद्धिकरण विभागमा मुद्दा समेत परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७