सेनाका हिमाल टमाटाको सपना साकार, पुरानो साइकल र मागेको पोसाकले जित्यो स्वर्ण पदक

‘मानिसले लक्ष्य ठूलो राख्नु पर्दछ, लक्ष्य अनुसार मेहनत गर्‍यो भने असम्भव केही पनि छैन’


१९ मंसिर २०७६, बिहीबार
himal tamata 2

पोखरा, १९ मंसिर । कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन, यसले नयाँ इतिहास समेत रचना गर्‍यो ।

नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकूद (साग) मा ट्रायथोलन अन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुरुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक डुआथोलनमा स्वर्ण पदक समेत प्राप्त भयो ।

भारतमा सम्पन्न १२ औँ संस्करणदेखि सागमा ट्रायथोलन खेल समावेश भएको थियो । सो प्रतियोगितामा नेपालले कास्य पदकमा चित्त बुझाउनु परेको थियो । घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले ट्रायथोलनमा सोनी गुरुङ र पुरुषतर्फ टमाटाले स्वर्ण पदकमा हासिल गर्न सफल भए ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण चुम्ने टमाटाको सपना यस पटक साकार भएको छ । उनले दुई वर्षअघि नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितमा स्वर्णको सपना देख्न शुरु गरेका थिए ।

नेपाली सेनामा सेवारत टमाटाका लागि आठौं राष्ट्रिय खेलकूद जीवनको ‘ट्रनिङ प्वाइन्ट’ बन्यो । राष्ट्रिय खेलकूदमा उनले डुआथोलन र माउन्टेन बाइकक्रसकन्ट्री दुबै खेलमा सहभागिता जनाएका थिए । एक दिनको अन्तरमा भएका दुबै प्रतियोगितामा उनले राम्रो गर्न सकेनन् । सागमा डुआथोलनमा रजत पदक विजेता लक्ष्मण मल्लले उनलाई पराजित गरेका थिए ।

राष्ट्रिय खेलकूद लगत्तै टमाटा आफूलाई डुआथोलनमा मात्र केन्द्रित हुने निर्णयमा पुगे । सागमा स्वर्ण जित्ने लक्ष्यसहित उनी हरेक दिन अभ्यासमा व्यस्त हुन थालेका थिए । दौड र साइक्लिङमा उनको क्षमतालाई चिनेका प्रशिक्षकले समेत त्यसैतर्फ प्रेरित गरिरहे । ‘राष्ट्रिय खेलकूदपछि एउटा मात्र खेलमा केन्द्रित भएर राम्रो गर्नु पर्दछ भन्ने मलाई लाग्यो । त्यसबेला देखि नै डुआथोलनमा स्वर्ण हासिल छाड्छु भन्ने विश्वासले दिनहुँ अभ्यास गर्न थालें’, टमाटा भन्छन् ।

दक्षिण एशियाली राष्ट्रहरुको सबैभन्दा ठूलो खेलकूदमा स्वर्ण हासिल गरे लगत्तै उनी हरेक चार वर्षमा आयोजना हुने एयिशाली खेलकूद (एशियाड) मा पदक जित्ने सपना देख्न शुरु गरे । सन् २०२२ मा चीनमा तय भएको एशियन गेममा पदक जितेर कीर्तिमान राख्ने उनको धोको छ ।

himal tamata

आफू कठिन अवस्थामा समेत कहिल्यै पनि हतास र निराश नहुने उल्लेख गर्दै उनी भन्छन् ‘मानिसले लक्ष्य ठूलो राख्नु पर्दछ । लक्ष्य अनुसारको मेहनत र परिश्रम गर्‍यो भने असम्भव केही पनि छैन । देशलाई एशियन गेममा पदक दिलाउने अब मेरो सपना छ ।’

सागको तयारीका क्रममा समेत उनले अनेक चुनौती सामना गर्नुपरेको थियो । टमाटालाई अभ्यासकै क्रममा नयाँ साइकल आउने भनिएको थियो । तर प्रतियोगिताको दिनसम्म पनि नयाँ साइकल आएन । राम्रो पार्टपुर्जा र गुणस्तरीय साइकल भएकाहरुसँग सन् २०१४ मोडलको पुरानै साइकल लिएर उनी प्रतिष्पर्धामा होमिएका थिए ।

त्यति मात्र होइन खेलका क्रममा लगाउने पोशाक समेत उनले समयै पाएनन् । प्रतियोगिताको एक–दुई दिनअघि आएको पोशाक उनको शरीरमा मिलेन । त्यसपछि साथीको मागेर खेलमा भाग लिए ।
टमाटा भन्छन्, ‘हाम्रो साईकल पाँच–छ वर्ष पुरानो आल्मुनियमको हो । कार्वनको राम्रो साईकल भएकाहरुसँग प्रतिष्पर्धा कठिन भए पनि आत्मवलकै कारणले पनि उनीहरुलाई जित्यौं ।’

टमाटाले १४–१५ वर्षको उमेरबाट नै खेलकूदमा आकर्षित थिए । दौड र कराँतेमा उनको लगाव थियो । विभिन्न जिल्ला तथा क्षेत्रीय प्रतियोगिताहरुमा पाँच र १० किमी दौडमा उनी भाग लिन्थे । पछि उनी नेपाली सेनामा भर्ती भएपछि खेल्ने वातावरण अझै अनुकूल बन्यो । नेपाली सेनाका मेजर राजीव चन्दले उनलाई अघि बढ्न सँधै प्रेरित गरे ।

शुरुमा साइकल राम्रोसँग डोहोर्‍याउन समेत नजान्ने उनलाई चन्दले नै साइकल चलाउन सिकाए । ‘मैले जुन सफलता पाएको छु, त्यसमा राजीव चन्दको ठूलो योगदान छ । उहाँले नै मलाई अघि बढ्न सहयोग गर्नुभयो । खुट्टा समातेर मलाई साइकल चलाउन सिकाउनु भयो’, उनी भन्छन् ।

अहिलेदेखि नै आफू एशियाडको तयारीमा जुट्ने जानकारी दिँदै सरकारले खेलाडीहरुलाई सहयोग गर्न माग समेत गरे । नेपाली टोलीका प्रमुख प्रशिक्षक युवराज सुनुवारले टमाटा क्षमतावान् खेलाडी भएको बताउँछन् । उनी भन्छन्, ‘राष्ट्रिय खेलकूद परिषद्बाट समयमै टोलीका लागि आवश्यक खेल सामग्री आउन ढिलाई भयो । खेलाडीले अभावकाबीचमा समेत उत्कृष्ट नतिजा निकाल्न सफल भए ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७