बैंक तथा वित्तीय संस्थाको लगानी अनुत्पादक क्षेत्रमा


१९ मंसिर २०७६, बिहीबार
Bank

काठमाडौं, १९ मंसिर । कमर्सियल बैंकको मुख्य काम नाफा मात्र आर्जन गर्नु हो ? होइन, भने अनुत्पादक क्षेत्रमा लगानी वढाउन ग्राहकलाई किन हौस्याइरहेका हुन्छन् ? यसको जवाफ सजिलो छैन ।

‘फाइनान्स सुविधा ८० प्रतिशत, एक दिनमा ऋण स्वीकृत’, गतसाता एक साप्ताहिक पत्रिकाले रङ्गिन छपाईमा यस्तो विज्ञापन छापेको थियो । अहिले कमर्सियल बैंकले छापा तथा इलोक्ट्रोनिक माध्यमलाई विज्ञापन प्रकाशित र प्रशारण गर्न दिंदै ग्राहकलाई गाडी बिक्रीमा (अटो ऋण) दिन लोभ्याइरेहका छन् ।

नेपाल राष्ट्र बैंकले कूल लगानीयोग्य रकमको १० प्रतिशत कर्जा कृषि क्षेत्रमा उपयोग गर्न कार्यविधिमार्फत सार्वजनिक गरेको छ । सरकारले किसानका लागि सहुलियतपूर्ण कृषि कर्जाको ब्याजदर पाँच प्रतिशत निर्धारण गरेको छ ।

बैंकहरुले कृषि कर्जामा लगानी गरेबापत १० प्रतिशत मुनाफा पाउँछन् । सरकारले कृषि क्षेत्रमा लगानी गर्ने बैंकलाई थप पाँच प्रतिशत ब्याज उपलव्ध गराउँदै आएको छ । वरिष्ठ अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘उत्पादनका क्षेत्रमा लगानी गर्न कमर्सियल बैंक उत्साहित हुनुपर्छ ।’

वित्तशास्त्री भवानी खनाल बैंकले छिट्टै लगानी गरेर तत्काल प्रतिफल मात्र लिन मोहित भएकाले उत्पादनका क्षेत्रमा नगन्य लगानी भएको र व्यापार घाटा, र बेरोजगार बढ्दै गएको वताउँछन् ।

राष्ट्रिय उत्पादनमा कृषकको योगदान धेरै रहको छ । वित्तीय संस्थाले कृषकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकेको देखिंदैन । बैंकले अनाज (अन्न), तरकारी, चिया– कफी, सुर्ती, जुट, नगदेबाली, फलपूmल, पूष्पखेती, कुखुरापालन, र माछा गरी जम्माजम्मी नौ प्रकारका क्षेत्रमा लगानी गरेको दाबी गरेको छ । राष्ट्रिय कृषक समूह महासङ्घका पूर्वध्यक्ष उद्धव अधिकारी भन्छन्, ‘कृषक वित्तीय संस्थासँग सन्तुष्ट छैनन् ।’

नेपालको छैठौं कृषि गणना २०६८ ले ४२ प्रतिशत किसानले कृषि ऋण नपाएको जनाएको थियो । चालु आर्थिक वर्षको बजेटमा आगामी पाँच वर्षमा कृषिको उत्पादन दोब्बरले बढाउने घोषणा गरिएको छ । असोज मसान्तसम्म वाणिज्य बैंक तथा वित्त संस्थाले झण्डै रु ३१ खर्ब लगानी गरेका छन् । अनुत्पादक क्षेत्र मानिएको घर घडेरी, सवारीसाधन, मेशिनरी तथा सुनचाँदी खरिदका लागि भने झण्डै ६५ प्रतिशत हुन आउँछ ।

धान, मकै र गहुँ उत्पादनमा उत्साहजनक लगानी छैन । अन्न उत्पादनमा कृषि विकास बैंकको लगानी करीब रु पाँच अर्बमा सीमित छ । बैंकले कृषिका अन्य क्षेत्र– तरकारी र कुखुरापालनमा भने लगानी विस्तार गर्दै लगेका छन् ।

केही वर्ष अघिसम्म रुपैया बचत गर्न मानिस बैंक धाउने गर्थै । आजभोलि वित्तीय पहुँच सहज भएकाले बैँक आकर्षण नारा दिएर ग्राहकका घरदैलोमा पुग्न भने थालेका छन् । उनीहरुले आफ्नो संस्थाले दिने बचतमा ब्याज, ऋणमा लाग्ने ब्याजदर, लगानीका क्षेत्र, जोखिमको अवस्थाका सम्बन्धमा घरदैलोसम्म पुगी सेवाग्राहीलाई जानकारी गराउन थालेका छन् । यसबाट बैंकप्रतिको विश्वास बढ्दै गएको भए पनि साना तथा मझौला किसान भने खुशी रहेका छैनन ।

विश्व बैंकका अनुसार सन् २०१७ मा १५ वर्ष भन्दा बढी उमेरका ५० प्रतिशत पुरुष र ४२ प्रतिशत महिला गरी औसतमा ४५ प्रतिशत नेपालीको बैंक खाता रहेको जनाइएको छ । कृषकले भने समयमा कर्जा प्राप्त गर्न सकेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७