मेलम्चीको आउँदा पनि काठमाडौंका ११ लाख मानिसलाई पुग्दैन पानी


२० मंसिर २०७६, शुक्रबार
melamchi

काठमाडौं, २० मंसिर । सरकारले आगामी असारभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने गरी कामलाई तीव्रता दिएको छ ।

खानेपानी मन्त्रालयले सोहीअनुरूप गत असोजमा चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरी ठेक्का लिएर काम अघि बढाएको छ । ११ महिना ठप्प रहेको आयोजनाको काम अघि बढेसँगै पानी ल्याउने नयाँ डेडलाइन समेत घोषणा गरिएको हो ।

आयोजना थालनी भएको आउँदो १२ पुसमा १८ वर्ष पूरा भई १९ वर्ष लाग्दै छ । बितेका १८ वर्षमा मेलम्ची आयाजनको कुल ९० प्रतिशत मात्र काम भएको छ । मेलम्ची विकास समितिअनुसार मेलम्चीको पानी काठमाडौं झार्ने काम आउने असारमा सम्पन्न हुनेछ । तर, सबै संरचना बनाएर आयोजना सम्पन्न गर्न १४ महिना लाग्ने छ । आयोजनाका अनुसार २०७७ पुसमा सबै काम सम्पन्न हुनेछ ।

अहिले काठमाडौं उपत्यकाको प्रक्षेपित चलायमान जनसंख्या ४२ लाख रहेको छ । त्यो जनसंख्यालाई काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले दैनिक १४ करोड लिटर पानी उपलब्ध गराइरहेको छ । सहरी क्षेत्रमा दैनिक प्रतिव्यक्ति एक सय लिटर पानी आवश्यक पर्ने प्रचलित मापदण्ड छ ।

त्यसअनुसार हाल काठमाडौं उपत्यकाको खानेपानी माग दैनिक ४२ करोड लिटर हो । मेलम्चीको पानी आउँदा (पहिलो चरणअन्तर्गत) दैनिक १७ करोड लिटर थपिनेछ । यसअनुसार काठमाडौंमा उपलब्ध पानी ३१ करोड लिटर पुग्नेछ । यसले ३१ लाख मानिसलाई मात्र खानेपानी पुग्ने भए पनि अझै ११ लाख मानिसलाई अभाव हुनेछ ।

मेलम्ची आएपछि जम्मा हुने पानी काठमाडौं उपत्यकाको कुल जनसंख्यालाई समानुपातिक वितरण गर्दा दैनिक प्रतिव्यक्ति ७३ दशमलव ८० लिटर मात्र पुग्छ । जुन तोकिएको मापदण्डभन्दा २६ दशमलव २० लिटर न्यून हो । हाल उपत्यकामा दैनिक प्रतिव्यक्ति औसत ३३ लिटर खानेपानी वितरण भइरहेको छ ।

पहिलो चरणमा काठमाडौं झर्ने दैनिक १७ करोड लिटर पानी चक्रपथभित्र वितरण गरिने मेलम्ची खानेपानी उपआयोजना २ का प्रमुख भोजविक्रम थापाले बताए । बढ्दो सहरीकरणका साथै जनसंख्या वृिद्धका कारणले पानीको माग बढ्दै गए पनि पर्याप्त स्रोतको अभावका कारण पानी उत्पादन क्षमता बढाउन नसकिएको केयुकेएलले जनाएको छ ।

केयुकेएलले विभिन्न मुहान र भूमिगत स्रोतबाट पानीको उत्पादन गर्दै आएको छ । तर, माग र आपूर्तिबीच ठूलो खाडल रहेकाले उपत्यका आसपासका सबै मुहान प्रयोग गर्दासमेत त्यो खाडल परिपूर्ति गर्न नसकिने र भूमिगत पानीले समेत त्यसलाई पूर्ति गर्न नसक्ने केयुकेएलका प्रवक्ता प्रकाश राईले बताए ।
काठमाडौं उपत्यकामा एक लाख २७ हजार धारा थपिने
मेलम्ची आएमा थप एक लाख २७ हजार घरधुरीमा पानी पुग्नेछ, अर्थात् एक लाख २७ हजार धारा थपिने छन् । अहिले काठमाडौं उपत्यकामा दुई लाख २० हजार सात सय ९० वटा धारा रहेका छन् ।
अहिले काठमाडौंमा वितरण प्रणालीमार्फत वार्षिक औसतमा १४ करोड लिटर पानी दैनिक वितरण हुँदै आएकोमा मेलम्ची आएपछि ३१ करोड लिटर दैनिक वितरण पुग्नेछ ।

अहिले दैनिक प्रतिव्यक्ति ३३ लिटर पानी पुग्छ भने मेलम्ची आएपछि दैनिक प्रतिव्यक्ति ७३ दशमलव ८० लिटर पानी पुग्छ । तर, यो सहरी क्षेत्रका लागि दैनिक प्रतिव्यक्ति आवश्यकताभन्दा न्यून हो । प्रचलित मान्यताअनुसार सहरी क्षेत्रमा प्रतिव्यक्ति प्रतिदिन एक सय लिटर पानी आवश्यक पर्छ ।

थप १ हजार तीन सय ८७ किलोमिटर पाइप बिछ्याइनेछ । अहिलेसम्म काठमाडांैमा कुल (मुख्य र सहायक) गरी एक हजार नौ सय २९ किलामिटर पाइप बिछ्याएको छ ।
तोकिएको लागतभन्दा २२ अर्ब १० करोड बढी खर्च
मेलम्ची खानेपानी आयोजना थालनी हुँदा (२०५८ सालमा) सम्पूर्ण आयोजना ३१ अर्ब ७० करोड (तत्कालीन अमेरिकी डलरअनुसार) रुपैयाँमा सम्पन्न हुने प्रक्षेपण गरिएको थियो । तर, अहिलेसम्म यसको लागत बढेर ५३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । यो २२ अर्ब १० करोड रुपैयाँले बढी हो ।

आयोजनाको समयावधि बढेसँगै लागतसमेत बढ्दै गएको मेलम्ची विकास समितिका प्रमुख कार्यकारी निर्देशक तिरेसप्रसाद खत्रीले बताए । २०५८ मा आयोजना निर्माण सुरु हुँदा ४६.४ करोड अमेरिकी डलर (करिब ४६ अर्ब ४० करोड रुपैयाँ) मा सम्पन्न हुने अनुमान गरिएको थियो ।

अहिलेसम्म ५३ अर्ब ८० करोड खर्च
मेलम्ची आयोजनामा अहिलेसम्म ५३ अर्ब ८० करोड रुपैयाँ खर्च भइसकेको छ । यसमा चिनियाँ कम्पनी सिनो हाइड्रोसँग हेडवक्र्स निर्माण (एक अर्ब दुई करोड) र सुरुङ फिनिसिङको (८५ करोड एक लाख) सम्झौता रकमसमेत समावेश छ ।

मुख्य आयोजनाको लागत ३० अर्ब रुपैयाँ पुगेको छ भने मेलम्ची खानेपानी उपआयोजना–२ अन्तर्गत २३ अर्ब ८० करोड रुपैयाँ खर्च भएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख भोजविक्रम थापाले जानकारी दिए । मेलम्ची विकास समितिले सुरुङदेखि प्रशोधन केन्द्र हेर्नेलाई मुख्य आयोजना र प्रशोधन केन्द्रदेखि उपभोक्ताको घर–घरमा पाइपलाइन पुर्‍याउनेलगायत कामलाई उपआयोजना–२ नाम दिइएको छ ।

असारमा पानी ल्याउँछौँ
तिरेसप्रसाद खत्री,आयोजना प्रमुख
सिनो हाइड्रोले काम तीव्र गतिमा अघि बढाएको छ । त्यसैले असार अन्तिमसम्म मेलम्चीको पानी सुन्दरीजलमा झार्नेछौँ । हाम्रो अर्को रणनीति भनेको सिनो हाइड्रोसँगको सम्झौताअनुसार १५ महिनाभित्र आयोजनाका सम्पूर्ण काम सक्नु हो । चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने नीति तथा कार्यक्रममा उल्लेख भएकाले सरकारको घोषणा पूरा गर्न लागेका छौँ ।

पहिलो चरणमा चक्रपथभित्र मात्रै पानी वितरण
भोजविक्रम थापा, प्रमुख, उपआयोजना–२
मेलम्चीबाट आउने १७ करोड लिटर पानी चक्रपथभित्र वितरण गर्नेछौँ । त्यसका लागि पाइपलाइन बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ । पाइप टेस्ट गर्ने काम पनि भइरहेको छ । १० मध्ये नौवटा ट्यांकी निर्माण भइसकेका छन् । दोस्रो चरणमा आउने ३४ करोड लिटर चक्रपथबाहिर वितरण हुन्छ । तर, दोस्रो चरणको काम मेलम्ची विकास समितिको निर्णयपछि मात्रै सुरु हुनेछ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७