नागरिक दवावपछि खाडीचौर-चरिकोट सडक द्रुतगतिमा निर्माण गर्ने सहमति


२० मंसिर २०७६, शुक्रबार
sitti julush

दोलखा, २० मंसिर । ढिलासुस्ती भएको खाडीचौर–चरिकोट सडकखण्ड स्तरोन्नतिको काम द्रुतगतिमा गर्ने सहमति भएको छ ।

सडक स्तरोन्नतिमा भएको ढिला विरुद्ध आन्दोलनरत नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका प्रतिनिधिबीच बिहीबार सडक स्तरोन्नति द्रुतगतिमा गर्ने सहमति भएको हो ।

लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीपक बाराहीको अध्यक्षतामा नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीका प्रतिनिधिसहितको बैठकले सडक स्तरोन्नतिलाई द्रुतगति दिने सहमति भएको नागरिक अगुवा रमेश खतिवडाले बताए ।

बैठकमा सहमति भएअनुसार मुढे–चरिकोट ३० किलोमिटर सडकखण्ड स्तरोन्नतिको जिम्मा लिएको शकिल हैदर तथा शङ्कर माली निर्माण सेवाले तत्काल चरिकोट तथा मुडे दुवैतर्फबाट सडक स्तरोन्नतिको काम थालनी गर्ने भएको बताइएको छ ।

यस्तै पुस मसान्तभित्र सवबेश र ग्रावेलको काम गर्ने तथा फागुनको तेस्रो साताभित्र कालोपत्र शुरु गरी २०७७ जेठ २२ गतेसम्ममा कालोपत्र सम्पन्न गर्ने सहमति भएको अर्का नागरिक अगुवा चिरञ्जीवी मास्केले बताए ।

यस्तै खाडीचौर–मुडे २५ किलोमिटर सडकखण्डको सडक स्तरोन्नतिको काम जिम्मा लिएको सिमाञ्चल–गौरीपार्वती–सुनौला खिम्ती जेभीले पनि १० दिनभित्र यातायात सहजरूपमा सञ्चालन हुनेगरी सडकका खाल्डाखुल्डी पुरी २०७७ जेठ २२ गतेसम्ममा कालोपत्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको बैठकमा संलग्न नगरिक अगुवा मास्केको भनाइ छ ।

खाडीचौर–चरिकोट सडक विस्तारमा भएको ढिलाइका कारण सडक वर्षातमा हिलाम्य र हिउँदमा धुलाम्य भई सिन्धुपाल्चोक तथा दोलखाका बासिन्दा कष्टकर यात्रा गर्न बाध्य छन् ।

सडक निर्माणको ठेक्का लिएका ठेकेदारविरुद्ध यहाँका नागरिकले मानव साङ्गलो, ठेकेदारको पोष्टर गाडी तथा सार्वजनिक स्थानमा टाँस्नेदेखि शंख फुकेर खबरदारी विरोधका कार्यक्रम समेत गरेका थिए । यहाँका नागरिक दिनहुँजसो विरोध र खवरदारीमा उत्रिन थालेपछि अन्नतः सडक निर्माणको जिम्मा पाएका ठेकेदार गल्न वाध्य भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७