‘प्रशिक्षकले तिम्रो नाममा विश्व कीर्तिमानी बन्यो भनेपछि खुशीको सीमा रहेन’


२२ मंसिर २०७६, आईतवार
Anjali chand cricketer scaled

काठमाडौं, २२ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकूद (साग) को महिला क्रिकेटमा सहभागी हुँदा नेपाली टोलीका सदस्य अञ्जली चन्दले ठूलो लक्ष्य राखेकी थिइनन् । चार वर्षपछि टोलीमा स्थान बनाएकाले खेलमा मेहनत गरेर राम्रो खेल पस्कने र विपक्षीको एक–दुई विकेट लिने मात्र उनको लक्ष्य थियो ।

तर साग प्रतियोगिताले उनलाई विश्वस्तरमा चिनायो । माल्दिभ्सविरुद्धको खेलमा टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटको इतिहासमा विश्व कीर्तिमान बनाएपछि स्वदेश तथा विदेशमा समेत उनको चर्चा शिखरमा पुगेको छ । सुदुरपश्चिमको बैतडी दशरथचन्द नगरपालिकाका चन्दले माल्दिभ्सविरुद्धको लिग चरणको पहिलो खेलमा दुई दशमलव एक ओभर बलिङमा कुनै रन नदिई छ विकेट लिएपछि उनले विश्व कीर्तिमान कायम गरेकी हुन् ।

त्यस्तै चन्दले शनिबार पोखरा रङ्गशालामा कास्य पदकका लागि माल्दिभ्सविरुद्ध नै भएको स्पर्धामा समेत उल्लेखनीय प्रदर्शन गर्न सफल भइन् । ‘प्लेयर अफ दी म्याच’ बन्न सफल उनले आफ्नो चार ओभरको बलिङमा जम्मा एक रन खर्चेर चार विकट लिएकी थिइन् । प्रतियोगितामा उनले ११ विकेट लिन सफल भइन् ।

कीर्तिमानी चन्द आफूले प्राप्त गरेको सफलता अकल्पनीय रहेको बताउँछिन् । केही वर्षको अन्तरालपछि टोलीमा स्थान बनाएकाले पनि खेलमा ठूलो सपना नराखेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘मलाई यति ठूलो सफलता मिल्छ जस्तो लागेको थिएन । स्पर्धामा ह्याट्रिक गरें जस्तो लागेको थियो, तर खेलपछि प्रशिक्षकले तिम्रो नाममा विश्व कीर्तिमानी भयो भनेपछि बल्ल थाहा पाएँ, त्यसपछि त मेरो खुशीको सीमानै रहेन ।’

सन् २०१५ वैवाहिक जीवनमा बाँधिएपछि उनी क्रिकेटबाट केही वर्ष टाढा भइन्, तर क्रिकेटप्रतिको मायाले उनलाई छाडेन । घर परिवारको साथ, सहयोग र हौसलाले गत असोजमा सम्पन्न ‘वुमन्स क्रिकेट लिग’ बाट उनी पुनः क्रिकेटमा फर्किइन् । त्यस प्रतियोगितामा समेत चन्दले राम्रो छाप छाड्न सफल भएकी थिइन् ।

कक्षा ८ मा पढ्दादेखि नै उनले क्रिकेट खेल्न शुरु गरेकी हुन् । खेलकूदमा बाल्यकालदेखि नै उनमा रुची थियो । ‘गाउँमा दाइहरूले क्रिकेट खेलेको देखेको थिएँ । एक दिन दाइले केटीहरूको खेल छ, तिमी जान्छौं भन्नु भयो म गएँ । त्यसपछि मलाई क्रिकेटप्रति रुची बढ्न थाल्यो’, उनले शुरुवाती दिनहरू स्मरण गरिन् ।

सागमा समेत टोलीले स्वर्ण पदकको सपना देखेको थियो । घरेलु मैदानमा राम्रो क्रिकेट खेलेर स्वर्ण नै जित्ने लक्ष्य रहे पनि त्यो पूरा नभएकोमा उनी दुःखी छिन् । सागमा नेपाल कास्य पदकमा सीमित भए पनि सन् २०२० मा हुने विश्वकप छनोटमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दै देशलाई खुशी दिने उनको सपना छ ।

टेष्ट मान्यता प्राप्त राष्ट्रहरूसँग स्पर्धा गर्दा लक्ष्य पूरा नभएको बताउँदै उनले थपिन्, ‘टोलीमा गोल्ड ल्याउने नै सबैको सपना थियो । टेष्ट राष्ट्रसँग खेल्दा कठिन भयो । महिला क्रिकेटमा सरकारले जति सहयोग गर्दछ, त्यति नै राम्रो हुन्छ । देशका लागि सधैँ राम्रो गर्ने ध्यानमा हुनेछौं ।’

महिला क्रिकेटलाई राज्यले त्यति प्राथमिकता नदिएको उनको बुझाइ छ । खेलाडीलाई सेवा सुविधा तथा महिला क्रिकेटका समेत घरेलु लिग सञ्चालन गर्न सकेको खण्डमा नयाँ र राम्रा खेलाडी उत्पादन भएर देशलाई फाइदा पुग्ने विश्वास उनको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७