बक्सिङ : नौ नेपाली बक्सर फाइनलमा


२२ मंसिर २०७६, आईतवार
baksing 1

काठमाडौं,मंसिर २२ । साग अन्तर्गत आइतबार बक्सिङको तेस्रो दिनको खेलपछि नेपालका महिला र पुरुष गरी कुल नौ जनाले फाइनलमा स्थान बनाएका छन् ।

आइतबार भएको सेमिफाइनलमा नेपालका माला राई र सनिल शाही र गणेश प्रधानले फाइनलमा स्थान पक्का गरेको हो । महिला ५१ केजीमा नेपालकी माला राईले श्रीलंकाकी कोसला निलमिनी अथाववुदा अचीलागेलाई अंकको आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गरिन् ।

त्यस्तै पुरुष ६० केजीमा श्रीलंकाका जीवन्थ निशान्का बामुनु आराछिललाई अंकको आधारमा पराजित गर्दै सनिल शाहीले पनि फाइनलमा प्रवेश गरे ।
यसैगरी पुरुष ८१ केजी तौलको सेमिफाइनलमा नेपालका गणेश प्रधानले भारतका सचिन कुमारलाई आरएससीको आधारमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे । खेल सुरु भएको ३० सेकेन्ड नबित्दैे भारतीय मुक्केबाजलाई चोट लागेपछि रेफ्रिले प्रधानलाई विजयी घोषित गरेका हुन् ।

त्यस्तै ५१ केजीको अर्को खेलमा भारतकी पिंकी रानीले पाकिस्तानकी रजिया बानो अजिजलाई अंकको आधारमा पराजित गर्दै फाइनलमा नेपालकी मालासँग स्वर्णका लागि भिडन्त पक्का गरिन् । त्यस्तै ५७ केजीको खेलमा नेपालका चन्द्रकला थापा भने श्रीलंकाकी क्रिस्मि अयोमा दुलान्ज लंकापुरायालागसंग पराजित भइन् । लंकापुरायालागे भारतकी सोनिया लाथेरसंग स्वर्णका लागि खेल्ने छन् ।
लाथेर भने पाकिस्तानकी मेहरीनलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन् । महिला ६४ केजीमा भारतकी मन्जु बम्बोरियाले पाकिस्तानकी रुकशाना परभीनलाई हराउँदै फाइनलमा स्थान बनाइन् ।

पुरुष ५२ केजीमा पाकिस्तानका सईद मुहमद आसिफले श्रीलंकाका लासिन्दु इरान्दा कुदा भीथानागेलाई हराए । यसै तौल समूहको अर्को खेलमा नेपालका तेज बहादुर देउबा भारतका स्पर्श कुमारसंग अंकको आधारमा पराजित हुदै काश्यमा सिमित भए । जितसंगै भारतका स्पर्शले फाइनलमा स्थान बनाए ।

६० केजीकै अर्को खेलमा भारतका बरिन्दर सिंहले बंगलादेशका सूरा कृष्ण चक्मालाई हराउदै फाइनलमा नेपालका सनिलसंग स्वर्णका लागि भिडन्त पक्का गरे । यसैगरी ६९ केजी तौलमा पाकिस्तानका गुल जाइबले बंगलादेशका मोहमद अब्दुर रहीमलाई हराए । यसै तौलको अर्को खेलमा नेपालका बिकास लामा भारतका कृशन बिकाशसँग अंकको आधारमा पराजित भए ।

यसैगरी ८१ केजी तौलमा पाकिस्तानका अवाईस अली खानले श्रीलंकाका रूमेश सान्डाकेलूम वान्नी अराचचिगेलाई पराजित गरे । यसैगरी ९१ केजी भन्दा माथिको भिडन्तमा भारतका नरेन्दरले श्रीलंकाका बुवानेका ईराण्डा अड्डुराकाराम राल्लागेलाई हराउँदै नेपालका आशिष दुवादीसँग फाइनलमा भेट पक्का गरे । सोमबार र मंगलबार क्रमशः फाइनलका आठ आठ बाउट हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७