विद्यार्थीमाथि प्रहरीले चलायो सय राउण्ड गोली, २४ विद्यार्थी गम्भिर घाइते


२३ मंसिर २०७६, सोमबार
police

कोहलपुर, २३ मंसिर । स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आन्दोलित विद्यार्थी र स्थानीयलाई नियन्त्रण गर्न प्रहरीले बाँकेको कोहलपुरमा करिब सय गोली चलाएको छ । भिडतर्फ रबरका ५० गोली प्रहार गरेको प्रहरीले करिब ५० हवाई फायर गरेको हो । ५० भन्दा बढी अश्रुग्याँस पनि प्रहार गरेको छ ।

स्थानीय त्रिभुवन माविमा सात कक्षामा पढ्ने १२ वर्षीया प्रकृति चन्द बाबुले चलाएको भे.६ प २७४० नम्बरको स्कुटरमा बसेर स्कुल जाँदै थिइन् । पछिपछि आउँदै गरेको ना.२ख ९४५९ नम्बरको ट्रकले पौने १० बजे ठक्कर दिएपछि बाबु छोरी दुईतिर उछिट्टिए । बीच सडकतिर लडेकी प्रकृतिलाई ट्रकको पछाडिको चक्काले पेल्यो । बाबु सामान्य घाइते मात्रै भए ।

स्कुल नजिकै दुर्घटना भएकाले तत्काल अन्य विद्यार्थीले थाहा पाए । विद्यार्थी र स्थानीय घटनास्थलमा जम्मा भए । प्रकृतिलाई उपचारका लागि कोहलपुर अस्पताल पुर्‍याइयो । घटनास्थलमा भने केहीबेरमै विद्यार्थी र अभिभावकले विरोध सुरु गरे ।

विद्यार्थी र अभिभावकको आक्रोश बढ्दै गर्दा प्रहरीले सजगता अपनाउन सकेन । विद्यार्थीले ठक्कर दिने ट्रकमा आगजनी गरे । प्रहरी थप गम्भीर हुनुपर्ने थियो, तर दमनको बाटो रोज्यो । स्कूलमै गएर दुई विद्यार्थी र एक शिक्षकलाई पक्राउ गर्‍यो । प्रहरीले लाठीचार्जसँगै अश्रुग्याँस पनि प्रहार गर्न थाल्यो । भिड झन् आक्रोशित बन्यो, थप तोडफोडमा उत्रियो । प्रहरीले हवाई फायर खोल्यो ।

संयमता गुमेपछि भिडले स्कुल बससहित १३ सवारीसाधन तोडफोड गरे, प्रहरीले ५० हवाई फायर र करिब ५० रबरका गोली प्रहार गर्‍यो । दुवैतर्फबाट ढुंगा हानाहान भयो । आन्दोलित भिडले इलाका प्रहरी कार्यालय परिसरमा रहेको क्यान्टिनमा समेत आगजनी गर्‍यो ।

घटनामा २४ भन्दा बढी विद्यार्थी र सर्वसाधारण घाइते भएका छन् । नारायण खत्रीको अण्डकोषमा तथा महेश आचार्य, श्रीकान्त शर्मा र सिर्जन चन्दको तिघ्रामा रबरको गोली लागेको छ । उनीहरुको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, कोहलपुर इलाका प्रहरी प्रमुख डिएसपी हेमबहादुर शाहीसहित २० भन्दा बढी प्रहरी घाइते भएका छन् ।

घाइते बालिकाको दाहिने खुट्टा काम नलाग्ने भएपछि काटेर फालियो, थप उपचार काठमाडौंमा हुँदै

ट्रकले पेलेको बालिका प्रकृति चन्दको दाहिने खुट्टा काम नलाग्ने भएपछि चिकित्सकहरूले काटेर फालेका छन् । कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमै उनको खुट्टा फालिएको हो ।

देब्रे खुट्टामा पनि गम्भीर चोट लागेको छ । थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट आइतबार नै काठमाडौंस्थित बी एन्ड बी अस्पताल लगिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७