उपनिर्वाचन : ‘कसैले नजितेको, कसैले नहारेको’

उपनिर्वाचनको मत परिणामबारे कुन नेताको कस्तो धारणा ?


२३ मंसिर २०७६, सोमबार
Election 2074 nepal 12

काठमाडौं, २३ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको मंसिर १४ गते सम्पन्न निर्वाचनको परिणामले मुलुुकको राजनीति संङ्लिँदै गएको संकेत गरेको छ ।

मत परिणाम सार्वजनिक भएसँगै राजनीतिक वृत्तबाट विभिन्न टीका टिप्पणी र दृष्टिकोण सार्वजनिक भए पनि विजयी उम्मेद्वार, निकटतम प्रतिद्वन्द्वी र अन्य राजनीतिक दलले प्राप्त गरेको मत संख्याको विश्लेषणले राजनीतिक क्षेत्र अब क्रमशः सङ्लिँदै गएको प्रतिक्रिया व्यक्त गरिएको हो ।

कास्कीमा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा २१ जना चुनावी प्रतिस्पर्धामा रहेकामा नेकपा र नेपाली कांग्रेस बाहेकका सबै उम्मेद्वारको जमानत जफत भएको छ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल भन्छन्, ‘नेकपाले विगतको चुनावमा पाएको भन्दा उपनिर्वाचनमा मत घटेको छैन, प्रतिपक्षी दलहरुको मत एकोहोरिएर नेपाली कांग्रेसको विगतको तुलनामा मत बढेको हो ।

यसमा सरकारलाई सचेत बनाएको वा कांग्रेसलाई विश्वास गरी नहालेको भनी बुझ्नुभन्दा अब नेपालको राजनीतिक सङ्लिँदै गएको छ भन्ने संकेत देखियो । जनताले ठूला राजनीतिक दललाई नै जिम्मेवार बनाउन खोजेका छन् ।’

प्रदेशसभातर्फ भक्तपुरमा १९ उम्मेदवार रहेकामा १७, बाग्लुुङका १० मध्ये आठ र दाङमा १४ मध्ये १२ जनाको जमानत जफत भएकोे निर्वाचनले जनाएको छ । प्रतिनिधिसभाको निर्वाचनमा एक मत मात्र प्राप्त गर्ने उम्मेद्वारको संख्या दुई छ भने अरू तीन जनाले चार–चार मत मात्र प्राप्त गरेका छन् ।

कास्कीको उक्त निर्वाचनमा नेकपाका विद्या भट्टराई २४ हजार ३९४ मत प्राप्त गरी विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाए ।
उपनिर्वाचनको मत परिणामले अघिल्लो निर्वाचनको भन्दा नेकपाले यस पटक प्राप्त मत संख्या नघटेको तथा विपक्षी काँग्रेसको मत संख्या बढेको देखिएको छ ।

नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल भन्छिन्, ‘सरकारप्रतिको असन्तुष्टि र काम कारवाहीबाट जनताका मुद्दा सम्बोधन हुन नसकेको र लोकतन्त्र कमजोर हुदै गएको कुरालाई मतदानमार्फत आफ्नो अभिमत दिएको हामीले बुझेका छौं ।’

त्यस्तै, प्रदेशतर्फ भक्तपुरमा एक मत प्राप्त गर्ने एक, दुई–दुई मत प्राप्त गर्ने दुुई, चार–चार मत प्राप्त गर्ने दुुई, पाँच–पाँच मत प्राप्त गर्ने तीन जना छन् भने बाग्लुुङमा आठ मत प्राप्त गर्ने एक जना उम्मेद्वार छन् । दाङमा भएको प्रदेशसभाको उपनिर्वाचनमा दुुई जना उम्मेदवारले दुई–दुई मत प्राप्त गरेका छन् भने एक जनाले चार मत प्राप्त गरेका छन् ।

नेकपाका नेता हरिबोल गजुरेल भन्छन्, ‘उपनिर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिता भएन, प्रमुुख दलको सामान्य स्थिति देखियो, कसैले नजितेको जस्तो, कसैले नहारेको जस्तो परिणाम आएको छ, नयाँ र साना दलको नीति र नेतृत्वप्रति जनताको आशा र विश्वास रहेको देखिएन ।’

उक्त उपनिर्वाचनको मत परिणमाले आम जनताले धेरै राजनीतिक दल होइन, मुलुकमा लोकतन्त्रको आन्दोलनमा योगदान दिएका राजनीतिक दललाई नै थप जिम्मेवार बनाउँदै विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ भन्ने मत प्रकट गरेको अनुमान गरिएको छ ।

स्थानीय तहतर्फ २५ जना उम्मेदवारले शूून्य मत प्राप्त गरेका थिए भने एक मत प्राप्त गर्ने उम्मेदवारको संख्या आठ रहेको थियो । विजयी उम्मेद्वारले २६ हजार ७०९ मत ल्याउँदा धरान उपमहानगरपालिकाका एक जना उम्मेद्वारले शूून्य मत पाएका थिए भने अर्का एकजना उम्मेद्वारले एक मत पाए ।

समाजवादी पार्टीका नेता डा. शिवजी यादवले उपनिर्वाचनको परिणामले मूल निर्वाचनको जनादेशलाई अनुमोदन गर्नाका साथै संविधान संशोधनसहित राष्ट्रका जल्दाबल्दा समस्या समाधान गरेर विकास र समृद्धिका लागि मिलेर काम गर भनी मतमार्फत ठूला दललाई जिम्मेवारी दिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७