मन्त्री योगेश भट्टराई मातहतको पर्यटन मन्त्रालय प्रगति उपलब्धी उन्मुख

कुन राष्ट्रिय गौरवका आयोजनाको प्रगति कस्तो ?


२३ मंसिर २०७६, सोमबार
partyan mantralya

काठमाडौं, २३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक पाइएको छ ।

चालू आव २०७६–७७ को प्रथम चौमासिक प्रगति समीक्षा प्रतिवेदनअनुसार मन्त्रालयका पाँच राष्ट्रिय गौरवका आयोजनाको काम प्रगति उन्मुख पाइएको हो । मुलुकका राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत २२ वटा आयोजनामध्ये पर्यटन मन्त्रालय मातहत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोष रहेका छन् ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ८४ दशमलव २५ र वित्तीय प्रगति ५४ प्रतिशत रहेको छ । सन् २०२० को मार्च महिनाभित्रै सञ्चालनको तयारीमा रहेको टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका बाँकी काम धमाधम भइरहेको छ ।

विमानस्थलको नयाँ रनवे ‘एचडिपी’ पाइप लेआउट र ‘एचटी’ केवल लेआउट तयार भएको, ट्याक्सी वे मार्किङ कार्य, नयाँ रनवे प्रशासन भवन आइटिबी भवनलगायत निर्माण कार्य जारी रहेको प्रगति विवरणमा उल्लेख छ ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा यो विमानस्थल सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम तीव्रगतिमा भइरहेको छ । विमानस्थलको कूल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्ग यसअघि नै कालोपत्र भइसकेको छ ।

भ्रमण वर्षको अवधिमै यो विमानस्थलालाई व्यावसायिक उडान सञ्चालन गर्ने र हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणका उच्च अधिकारीले बताउँदै आएका छन् ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले पनि गौतमबुद्ध विमानस्थल शीघ्र सञ्चालनका लागि विशेष प्राथमिकता दिएको र भ्रमण वर्षको शुभारम्भसँगै विमानस्थल पनि व्यावसायिक प्रयोजनमा ल्याइने बताउँदै आएका छन् ।

यो आयोजनका लागि दुवै चरणमा गरी रु ७ अर्ब ३२ करोड हाराहारी खर्च हुने जनाइएको छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति तीन प्रतिशत रहेको छ । निर्धारित समय सन् २०२१ भन्दा अगाडि नै सञ्चालनमा ल्याउने गरी आयोजनाको काम प्रभावकारी रुपमा भइरहेको छ ।

विमानस्थलको हाल एप्रोन एरियामा फायर फाइटिङ वाटर लाइन विस्तार, ह्याङ्गर भवनमा ट्रस, सेन्ट्रल टावर, टर्मिनल भवनलगयत निर्माण कार्य जारी रहेको छ । बहुचर्चित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले अपेक्षित गति लिन सकेको छैन । रूख कटानको विवादले आयोजनाको काममा ढिलाइ भइरहेको छ । निजगढ विमानस्थलको हाल वित्तीय प्रगति १५.५ रहेको छ भने भौतिक प्रगति शून्य छ ।

विमानस्थलको चार किल्ला तोक्ने तारबार गर्ने तथा मुआब्जा वितरणको काम भइरहेको छ । ‘साइट क्लियरेन्स’ को खाका तयार गरी मन्त्रालयमा छलफल भइरहेको उक्त विमानस्थलका सम्बन्धमा केही दिनअघि सर्वोच्च अदालतले अन्तरिम आदेश जरी गर्दै विमानस्थलको कामलाई तत्काल अगाडि नबढाउन निर्देशन दिएको थियो । सरकारले निजगढ विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाएको भए पनि सर्वोच्चको आदेशले आयोजनामा ढिलाइ हुने सङ्केत देखापरेको छ ।

लगानी बोर्डले उक्त विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिच इन्टरनेशनल एयरपोर्ट (एजी) लाई छनोट गरेको थियो । बोर्डले प्रस्तावित विभिन्न देशका सात कम्पनीमध्ये मापदण्ड पुगेका आधारमा ज्युरिच एयरपोर्टलाई छनोट गरी विस्तृत प्रतिवेदन माग गरेको थियो ।

अन्तर्राष्ट्रिय मापदण्डको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कूल ८ हजार हेक्टर क्षेत्रफलमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नेछ । ३ हजार ६०० मिटर लामो र ४५ मिटर फराकिलो धावनमार्ग निर्माण गरिने छ ।

यो विमानस्थलले वार्षिक ६ करोड यात्रुको चाप धान्ने बताइन्छ । आरएफपी मूल्याङ्कनपछि उपयुक्त भएमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मा विमानस्थल निर्माण गरिने जनाइएको छ । निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) भइसकेको छ । सरकारले कमभन्दा कम वन क्षति हुने गरी विमानस्थल निर्माण गर्ने जनाएको छ ।

त्यसैगरी मन्त्रालय मातहतको लुम्बिनी विकास कोषको चालू आवको कात्तिक सम्ममा भौतिक प्रगति ८५ र वित्तीय प्रगति ७८ दशमलव ५० रहेको छ । लुम्बिनी क्षेत्रको बृहत्तर गुरुयोजना तयार गरी विकास र प्रवद्र्धन गर्ने काम भइरहेको, रामग्रामको गुरुयोजना तयार भई आरएफपी जारी गर्ने कार्य शुरु भएको तथा पाँच हजार बिरुवाको वृक्षारोपण भइसकेको मन्त्रालयले जनाएको छ ।

पशुपति विकास कोषको भौतिक प्रगति ६० र वित्तीय प्रगति ४० प्रतिशत रहेको छ । पशुपति क्षेत्र लगायतको गुरुयोजना तयार गरी विकास र प्रवर्धन गर्ने मुख्य क्रियाकलाप अघि बढाइएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७