निगम आफैले ८८ करोड मूल्याङ्कन गरेको बोइङ ४८ करोडमा बेच्न टेन्डर


२४ मंसिर २०७६, मंगलवार
airliance2019 06 25 10 12 14

काठमाडौं, २४ मंसिर । चार वर्षअघिसम्म नेपाल एयरलायन्सको उडान धानिरहेको र एयरबस आएपछि पनि उडान गरेको बोइङ नेपाल वायुसेवा निगमका लागि अर्घेलो भएको छ ।

नेपाली ध्वजा बोकेर उडिरहेको जहाजलाई ग्राउन्डेड गरेर थोत्रो बनाएपछि कवाडीको भाउमा बेच्न थालिएको छ । निगम आफैले तोकेको मूल्यमा पनि ४५ प्रतिशत घटाएर टेन्डर आह्वान भएको छ ।
एयरबस आएपछि पनि उडिरहेको बोइङलाई मर्मत गर्न मलेसिया पठाइएको थियो । १० करोड खर्चेर ल्याएपछि उडाउनुको सट्टा ग्राउन्डेड गरेर बिक्रीमा राखिएको थियो ।

३२ वर्ष पुरानो बोइङ ‘गण्डकी’ बिक्री गर्न निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले गत वर्ष स्विस कम्पनी फिन्टेकका प्राविधिक बोलाएर मूल्याङ्कन गराएका थिए ।
फिन्टेकका प्राविधिकले बोइङको मूल्य ६४ लाख अमेरिकी डलर (७३ करोड रुपैयाँ) राख्न सिफारिस गरेका थिए ।

उनीहरूले ५२ लाख ९६ हजार डलर (६० करोड ३७ लाख रुपैयाँ) भन्दा कममा बेच्नै नहुने सिफारिस गरेका थिए । यो सिफारिस आएको एक वर्षसम्म बोइङलाई ग्राउन्डेड गरेर राखियो र, बोइङ बिक्रीका लागि गत ११ असारमा निगमले ४५ दिने सूचना जारी गर्‍यो ।

निगमले सूचना निकाल्दा बोइङको मूल्य ७६ लाख ७६ हजार अमेरिकी डलर (करिब ८८ करोड) निर्धारण गरेको थियो । तर, आवेदन नपरेको भन्दै निगमले चार महिनापछि २६ कात्तिकमा सोझै ४५ प्रतिशत मूल्य घटाएर दोस्रो सूचना जारी गर्‍यो ।

जसअनुसार बोइङको मूल्य ४२ लाख ५० हजार अमेरिकी डलर (४८ करोड ५० लाख रुपैयाँ) कायम भएको छ । तर, एकैपटक ४० करोड मूल्य घटाउँदा निगमले स्वतन्त्र अध्ययन गराएको छैन, सोझै सञ्चालक समितिले निर्णय गरेको हो ।

‘स्विस कम्पनीले ७३ करोड रुपैयाँमा बिक्री गर भन्ने सुझाब दिएको हो । तर, उक्त मूल्याङ्कन अनुसार बिक्री हुने नदेखिएपछि मूल्य घटाउनु परेको हो,’ निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने, ‘मूल्य घटाउन सञ्चालक समितिमा प्रस्ताव लगेका हौं । त्यही आधारमा मूल्य घटाउने निर्णय भएको हो । हाम्रै प्राविधिकले अध्ययन गरेर नयाँ मूल्य निर्धारण गरिएको हो ।’

आधाजसो मूल्य घटाएर सूचना निकालेपछि बोइङ किन्न तीन कम्पनीले आवेदन दिएका छन् । अमेरिकी कम्पनीहरू एभियोन र एमके एभिएसन तथा पोल्यान्डको सिएस बिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङले निगमको बोइङ किन्ने इच्छा देखाएका छन् ।

त्यसो त निगमको कार्यकारी अध्यक्ष बनेर भित्रिएलगत्तै मदन खरेलले बोइङ उडाउने भन्दै मर्मतका लागि मलेसिया पठाएका पनि थिए । २८ अक्टोबर २०१८ मा पठाएको बोइङ मर्मत सकेर १६ जनवरी २०१९ मा काठमाडौं ल्याइएको थियो । मर्मतमा निगमले १० करोड खर्च गरेको थियो । तर, पाइलटको सीप परीक्षण प्रमाणपत्र (पिपिसी) को म्याद सकिएको भन्दै उडान गरिएन ।

वर्षौंदेखि उही बोइङ उडाउँदै आएका निगमका पाइलटलाई एक साता तालिम दिएमा पिपिसीको म्याद थप्न सकिन्थ्यो । तर, निगम नेतृत्वले बोइङलाई जसरी पनि तह लगाउने रणनीति लिएकोले उडाउन पहल गरेन । तर, यसरी बेच्ने नै हो भने मर्मतका नाममा १० करोड खर्च किन गरियो ? प्रश्न अनुत्तरित छ । त्यसमाथि अहिले तोकिएको मूल्य पनि ४० करोड घटाएर बेच्न लागिएको छ ।

निगमले सन् १९८८ मा अमेरिकी कम्पनी बोइङसँग खरिद गरेको यो जहाजले राष्ट्रिय ध्वजा बोकेर युरोप र जापानसम्मको उडान भरेको थियो । तर, यसलाई जानाजान थोत्रो बनाएर बेच्न थालिएको छ । निगमसँग अहिले चारवटा एयरबस छन् । त्यसैले एउटा बोइङ उडाउन खर्चिलो हुन्छ । तर, उचित मूल्यसमेत दाबी नगरी बेच्न थालिएको छ ।

पुराना जहाज विस्थापनमा यसअघि पनि अनियमितता नभएका होइनन् । सन् १९९३ मा पनि निगमले ७२७ सिरिजका दुई जहाज १२ करोड रुपैयाँमा बिक्री गरेको थियो । जब कि यो सिरिजका जहाज त्यतिवेला युरोपमै मज्जासँग उडिरहेका थिए ।

चल्ने अवस्थाकै बोइङ कौडीको भाउमा बेचिएको भन्दै त्यतिवेला संसद्देखि सडकसम्म व्यापक विरोध भएको थियो । बेचिएको जहाजले त्यसपछि पनि अफ्रिकामा उडान गरेको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७