विधान संशोधन गरेर वामदेव गौतमलाई उपाध्यक्ष बनाइँदै


२४ मंसिर २०७६, मंगलवार
bamdev gautam2
फाइल फोटो

काठमाडौं, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को करिब एक वर्षपछि स्थायी कमिटी बैठक बैठक बस्ने भएको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटीको बैठक २९ मंसिरमा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले पार्टी उपाध्यक्षको पद थप गर्नेलगायतका निर्णय गर्नेछ ।

सचिवालय बैठकले गत साउनमा विधान संशोधन गरेर वामदेव गौतमलाई उपाध्यक्ष बनाउने तयारी गरे पनि स्थायी कमिटी बैठकले उनलाई उपाध्यक्ष बनाउने वा नबनाउने भन्नेबारे अनिश्चित रहेको छ । सोमबारको बैठकले विधान संशोधन प्रस्ताव गरी विधानमा उपाध्यक्ष पद सिर्जना गरी मंसिर २९ को स्थायी कमिटी बैठकमा पेस गर्ने भएको छ ।

‘विधान संशोधनको प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय भएको छ,’ सचिवालयको बैठकपछि पार्टी प्रवक्ता श्रेष्ठले भने । सचिवालय बैठकले यसभन्दा अगाडि बसेको स्थायी कमिटीको निर्देशन मान्दै पार्टी विधानमा केही संशोधनसमेत गरेको छ ।

यसअघि पार्टीको विधानमै नभएको पद सिर्जना गरेर गौतमलाई उपाध्यक्ष बनाउन खोजिएको भन्दै नेकपाभित्र आलोचना भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउनमा गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने भन्दै सचिवालय बैठकमा प्रस्ताव गरेकोमा स्थायी कमिटीको बैठकबाट निर्णय गराउने सहमति भएको थियो ।

पूर्व एमाले खेमबाट मात्रै पद बाँडफाँट भएको भन्दै असन्तुष्ट पूर्व माओवादी नेताहरू भने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उपाध्यक्षमा प्रस्ताव गर्दै आएका छन् । माओवादी केन्द्रमा उपाध्यक्ष रहेको आधारमा पूर्वमाओवादी खेमाबाट उनलाई अघि सार्न खोजिएको छ ।

‘पद बाँडफाँटको विषय एक पक्षीय जस्तो देखिन्छ त्यसलाई मिलाउनु पर्छ । पार्टी एकिकरण भैसकेको अवस्था छ । अहिले महाधिवेशन पनि भएको छैन त्यसकारण पार्टीभित्र नेताको मर्यादा पनि राख्नुपर्छ होला कि ?,’ पूर्व माओवादीका एक नेताले भने, ‘स्थायी कमिटीमा प्रस्ताव पुगेपछि गौतमलाई मात्रै उपाध्यक्ष मानेर जानसक्ने अवस्था आउँदैन ।’

गौतमबारे माधवकुमार नेपाल खेमा भने मौन छ । ‘ओली–दाहाल मिलेर गौतमलाई नै उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटीमा ल्याए त्यसमा आफूहरूको आपत्ति नहुने तर सचिवालय विस्तार गरेर केही नेतालाई सचिवालयमा लैजान प्रयास भने हुनेछ,’ नेपाल निकट एक नेताले बताए ।

उपाध्यक्ष पदको गरिमा बढ्ने गरी जसलाई दिए पनि हुने उनको भनाइ छ । पद बाँडफाँटमा कसैलाई अन्याय हुन नहुने र स्थायी कमिटीमा प्रस्ताव आएपछि मात्रै धारणा निर्माण हुने पनि ती नेताले बताए ।

नेपाल पक्षले सचिवालयमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुषाल, सुरेन्द्र पाण्डेको प्रस्ताव गरिरहेको छ भने पूर्व माओवादी पक्षले जनार्दन शर्मा, देवेन्द्र पौडेल, अग्नि सापकोटालगायतका नेताको प्रस्ताव तयार भइरहेको छ ।

‘सचिवालय विस्तार गरेर १४ सदस्य वा २१ सदस्य बनाउने विषयमा स्थायी कमिटीको बैठकमा छलफल चल्नसक्छ । यो विषय माधव नेपालले विगत देखि नै उठाउँदै आउनु भएको हो, त्यसकारण उहाँलाई नै सहयोग हुनेगरी सचिवालय विस्तारको कुरा उठ्न सक्छ,’ पूर्व माओवादी पक्षका नेताले भने ।

अहिलेको विधानको धारा १८ ले दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिवसहित ४४१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरेको छ । केही समयअघि ४ जना केन्द्रीय सदस्य समेत थप गरिएको छ ।

पूर्व माओवादी पक्षले प्रवक्ता समेत रहेका श्रेष्ठलाई उपाध्यक्षमा अघि सार्दा उनी भने मौन रहेका छन् । केही समयअघि बसेको सचिवालय बैठकमा श्रेष्ठले गौतमलाई तपाईं त उपाध्यक्ष नै भइसक्नु भएको होइन र भन्दै ठट्टा गर्दा गौतमले अब मलाई उपाध्यक्ष नभन्नुस् भनेका थिए ।

स्थायी कमिटीको बैठक बस्ने निर्णयसँगै विधान संशोधन, पार्टी र सरकारको सम्बन्ध तथा विकास निर्माण र पार्टी निर्माणको सवालमा बैठकले छलफल गर्ने जनाइएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अर्को अध्यक्ष केपी शर्मा ओली भने बैठकमा सहभागी थिएनन् । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७