व्यवसायीलाई पर्यटनमन्त्रीको आग्रह, ‘नेपाल भ्रमण वर्ष-२०२०राष्ट्रिय उत्सवको रुपमा मनाऔं’


२५ मंसिर २०७६, बुधबार
Yogesh Bhattarai Tourim scaled

काठमाडौं, २४ मंसिर :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन व्यवसायीहरुलाई नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाउन अपिल गरेका छन् । नेपाल भ्रमण वर्ष–२०२० देशको प्रतिष्ठासँग जोडिएको कार्यक्रम भएको भन्दै यसका लागि राष्ट्रिय एकताको आबश्यक रहेको बताए ।

नेपाल भ्रमण वर्ष–२०२०को सचिवालयले पर्यटन व्यवसायीहरुसँग भ्रमण वर्ष–२०२०को बिषयमा आयोजना गरेको छलफलमा मन्त्री भट्टराईले पर्यटन व्यवसायीहरुलाई सरकारसँग माग राख्न छोडेर सहयोग र सहयात्राको गर्न आग्रह गरे । उनले भने, ‘सरकार तपाईहरुको साथमा छ, तर अब तपाईहरु पनि माग मात्रै नराख्नुहोस् । आउनुहोस्, सबै मिलेर काम गरौं ।’

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२०को उद्घाटन भव्य रुपमा सफल पार्न पर्यटन व्यवसायीहरुको सक्रिय सहभागिताको लागि अपिल गरे । भने,‘ नेपाल भ्रमण वर्ष–२०२० लाई उत्सवको रुपमा भव्यताको साथ मनाऔं । हरेक पर्यटन व्यवसायीहरुले उद्घाटनको दिन भव्य दिपवाली गर्नुहोस् । कार्यक्रममा पहिचान सहित आउनुहोस् ।’

मन्त्री भट्टराईले पर्यटन व्यवसायीहरुलाई आफ्नो कार्यालय, होटल र सार्वजनिक स्थानहरुमा नेपाल भ्रमण वर्ष–२०२०को प्रचार सामग्री राख्न आग्रह गरे । उनले भने, ‘हामी अब केही दिनमा तपाईहरुको कार्यालय, होटल, रेष्टुरेन्टहरुमा नेपाल भ्रमण वर्ष–२०२० को प्रचार हुने गरी केही न केही सामग्री राख्नुहोस् । यसको अनुगमन गर्नका लागि हामी तपाईहरुकोमा भ्रमण गर्नेछौं ।’

नेपाल भ्रमण वर्ष–२०२०को बिषयमा उत्कृष्ट काम गर्ने व्यवसायीहरुलाई सरकारले सम्मानित गर्ने पनि बताए । भने, ‘राम्रो गर्नुहोस् हामी तपाईहरुको कामलाई सम्मान गर्नेछौं ।’ मन्त्री भट्टराईले अहिले पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको भन्दै १५ औं पञ्चबर्षिय योजना सम्पन्न हुदासम्म १० प्रतिशत योगदान गर्ने सरकारको लक्ष्यमा व्यवसायीहरुको सहयोग जरुरी रहेको बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव केदाबहादुर अधिकारी, नेपाल भ्रमण वर्ष–२०२० सचिवालयका राष्ट्रिय संयोजक सुरज वैद्य, पर्यटन बोर्डका सिइओ दिपकराज जोशीले भ्रमण वर्षको तयारीको बारेमा बोलेका थिए । कार्यक्रममा एक दर्जन बढी व्यवसायी तथा पर्यटन व्यवसायसँग सम्बन्धित संघ संगठनका अगुवाहरुले नेपाल भ्रमण वर्ष–२०२०लाई सफल बनाउन सक्रिय हुने प्रतिबद्धता जनाए ।

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी, नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष सन्तबीर लामा, वरिष्ठ व्यवसायी द्धारिका होटलको सञ्चालिका अम्बिका श्रेष्ठ, नदी संरक्षण संघका उपाध्यक्ष मेघ आले, वरिष्ठ आरोही मिङमा शेर्पा, टेन्डी शेर्पा व्यवसायी सुमन पाण्डे, आङछिरिङ शेर्पा, थानेश्वर देवकोटा, गंगाप्रसाद नेपाल लगायतले नेपाल भ्रमण वर्ष–२०२०लाई सफल बनाउन सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए ।

पछिल्लो एक साता यता मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२०को बिषयमा छलफललाई तिब्र बनाएका छन् । मन्त्री भट्टराईले १८ मंसिर २०७६ मा नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग नेपाल भ्रमण वर्ष–२०२०को बिषयमा छलफलको आयोजना गरेका थिए ।

यसैगरी १९ मंसिर २०७६ मा राजनीतिक दलका प्रमुख र राजनीतिक दल निकट जनसंगठनका अध्यक्षहरुसँग छलफलको आयोजना गरे । यसैगरी मन्त्री भट्टराईले २३ मंसिर २०७६ मा नेपालका वायु सेवा सञ्चालकहरुका संगठन ‘वायु सेवा सञ्चालक संघ, नेपाल’का पदाधिकारीहरुसँग छलफलमा गरे । यसैगरी २४ मंसिर २०७६ मा विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरुसँग छलफल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७