सागका स्वर्ण विजेतालाई २५ लाख दिन माग


२५ मंसिर २०७६, बुधबार
Nepal gold meda

काठमाडौं, २५ मंसिर । नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँ दिन माग गरेको छ ।  नेपाली कांग्रेसको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।

यस्तै दलले रजत पदक जित्नेलाई १५ लाख र कांस्य पदक विजेतालाई १० लाख रुपैयाँको दरले सम्मान गर्नुपर्ने तरुण दलको माग छ ।

आयोजक राष्ट्र  नेपालले ५१ स्वर्ण, ५५ रजत र ९२ कास्यसहित कुल १९८ स्वर्ण जित्दै प्रतियोगितामा दोस्रो भएको छ । 

यस्तै तरुण दलले साग प्रतियोगितामा खेलकुद मन्त्रालय र खेलकुद परिषद (राखेप)ले भ्रष्टाचार गरेको आरोप समेत लगाएको छ । नेपाल र नेपालीको इज्जत बढाएको भन्दै खेलाडीहरुलाई धन्यवाद ज्ञापन गरेको तरुण दलले साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गर्ने खेलकुद परिषदका सदस्य सचिव एवं खेलकुद मन्त्रीलाई अविलम्ब बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारवाही गर्न दल जोड्दार माग गर्दछ ।’

दलले खेलाडीलाई कम भत्ता, पुरानो र नीजि साइकलबाट प्रतिष्पर्धा गर्न लगाएको समेत आरोप लगाएको छ । तरुण दलले भनेको छ, ‘खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तर्राष्ट्रिय स्तरको खेलकुदमा स्वर्ण पदक जित्नुहुने खेलाडीलाई पुरानो निजी साइकलबाट प्रतिष्पर्धामा भाग लिन बाध्य पार्नुलाई ध्यान नदिई दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद मात्र नभएर सामान्य नैतिकताभन्दा बाहिरको जति निन्दा गरेपनि कम नै हुने निन्दनीय कार्य भएको दलको ठहर छ ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७