सरकारी अनुदानमा खुलेको चिया कारखानाद्वारा साढे आठ करोडको चिया बिक्री


२५ मंसिर २०७६, बुधबार
tea

झापा, २५ मंसिर । सरकारी अनुदानमा सञ्चालनमा आएको झापाको भद्रपुर–२ पृथ्वीनगरस्थित चिया कारखानाले तीन वर्षको अवधिमा ८ करोड ५२ लाख बराबरको चिया उत्पादन गरेको छ ।

सरकारको ५० प्रतिशत र साना चिया किसानको ५० प्रतिशत लगानीमा स्थापना भएको साना किसान चिया प्रशोधन कारखानाले गत असार मसान्तसम्ममा छ लाख ७९ हजार ९४५ केजी तयारी चिया बिक्री गरी रु आठ करोड ५२ लाख ८० हजार ३१३ आम्दानी गरेको हो ।

साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापनमा सञ्चालित कारखानाले आव ०७५–०७६ मा मात्र चार लाख ३६ हजार ३९० केजी तयारी चिया उत्पादन गरेको संस्थाका प्रबन्धक देवीप्रसाद कोइरालाले जानकारी दिए ।

किसान आफैले लगानी गरेर स्थापना गरेको यो चिया प्रशोधन कारखाना झापाको पहिलो हो । निजी क्षेत्रका उद्योगले किसानले उत्पादन गरेको हरियो चियापत्तीको उचित मूल्य नदिएपछि साना चिया किसानहरुले आफैं उद्योग स्थापना गरेका हुन् ।

कारखाना स्थापना भएपछि यहाँका किसानले राम्रो मूल्यमा हरियो चिया पत्ति बिक्री गरिरहेको संस्थाका अध्यक्ष सूर्यमान लिवाङले बताए । ‘निजी कारखानाले आफू अनुकूल मूल्य दिँदा किसान मर्कामा परेका थिए’, उनले भने, ‘किसानको प्रयासमा सरकारले सहयोग गरेपछि चिया किसानले राहत पाएका छन्, चिया खेतीमा आकर्षण पनि बढ्दै गएको छ ।’ विसं २०७१ मा रू ६ करोडको लगानीमा उक्त कारखाना स्थापना भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७