गुठी संस्थान प्रमुखको ‘अनियमितता र शुभलाभ’ अहिले हिसाब गर्नै हम्मे


२५ मंसिर २०७६, बुधबार
guthi sansthan 3A9Tnl18bj

काठमाडौं, २५ मंसिर । थेत्तरोको औषधि नहुँदा समस्या ! मान्छे खराब भन्ने जान्दा–जान्दै टुलुटुलु हेर्ने सिंहदरबारतिर अर्को रोग छ । प्रसङ्ग हो, गुठी संस्थानका कार्यकारी प्रशासक नारायण चौधरीको ।

कालोपुल भेगको ३२ रोपनी नदी उकास सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुल्तबीमा छ । उनै आरोपित भूमिसुधार तथा व्यवस्था मन्त्रालयको सहसचिवबाट अवकाश हुना साथ मुलुकभर लाखौं रोपनी जग्गा, मठ–मन्दिर र मुलुककै सभ्यताको रूपमा रहेका हजारौं सांस्कृतिकस्थलका संरक्षण गर्नुपर्ने अड्डा गुठी संस्थानको कार्यकारी प्रमुख बने ।

गुठीका हर्ताकर्ता बनेपछि उनले यति धेरै अनियमितता र शुभलाभका काम गरे कि यसको हिसाब गुठीकै निर्देशकहरूले समेत समेट्न गाह्रो पर्ने भइसक्यो । गुठीका कार्यकारी प्रशासक चौधरीले राज्य र संस्थानलाई हानि पुग्नेगरी जनकपुरको गुठीकै जग्गा निर्णय गरी व्यक्तिका नाममा दर्ता गरिदिएका छन् ।

पवित्र मानिएको गंगासागरको डिलमा रहेको ७ कठ्ठा जग्गामा वर्षौंदेखि नै देवीदेवताका मूर्ति स्थापित थिए । मूर्ति र मन्दिर भएको गुठीको नाममा रहेको जमिनमा हिन्दू धर्मका अनुयायीले वर्षौंदेखि नियमित पूजाआजा गर्ने र त्यस स्थानलाई पवित्र भूमिका रूपमा मान्दै आएका थिए । तर, यही मन्दिर रहेको जमिन जनकपुरकै सञ्जय मिश्रले चौधरी, नापी र मालपोतका कर्मचारीसँग मिली उनको नाममा दर्ता गरे ।

भनिन्छ ०४४–४५ तिर चौधरी जनकपुर नापी कार्यालय प्रमुख भएका बेला गुठीका जग्गामा नक्कली मोही कायम गरिदिएका थिए र अहिले लाभ हासिल गर्दै तिनैका नाममा गुठी जग्गा दर्ता गरिएका हुन् । चौधरीले दिए पनि सञ्जयले मन्दिर भत्काएर उपभोग गर्न सक्ने कुरा भएन ।

बेचबिखन गर्न पनि कसरी सक्नु ? अन्ततः गुठी प्रमुख नारायण चौधरीले नै उपाय निकाले कि सो जग्गा गुठीकै नाममा दर्ता गर्ने र यसको सट्टा अन्तै तेब्बर जग्गा सञ्जयलाई दिने । यी दुईबीचको सहमतिबमोजिम नै सञ्जयका नाममा दर्ता गरिएको मन्दिर भएको जग्गाको सट्टा १ किमिभन्दा टाढा रहेको गुठी तैनाथी जग्गा सञ्जयलाई दिइयो ।

यसरी जग्गा दिँदा चौधरीले गुठी ऐनमा भएको चक्लाबन्दीसम्बन्धी व्यवस्थाको अपव्याख्या गरेका छन् । गुठी ऐन २०३३ को दफा ५१ मा रहेको चक्लाबन्दीसम्बन्धी प्रावधानमा सँगै रहेको जग्गा नमिलेका भएमा तिनका आकार मिलाउनका लागि जग्गा सट्टापट्टा गर्न सकिने उल्लेख छ ।

यस प्रावधानको अपव्याख्या गरी नारायणले गंगासागरको किनारामा रहेको व्यक्तिको नाममा गरिएको मन्दिर भएको जग्गाको सट्टा मुख्य सडकसँग जोडिएको अहिलेको मूल्यमा ४ करोडभन्दा बढी पर्ने जग्गा दिए ।

सञ्जयको नाममा गरिएको गंगासागर किनाराको जग्गा ७ धुरभन्दा अलिक बढी भए पनि गुठी प्रमुख नारायण चौधरीले सट्टामा १८ धुर जग्गा दिएका छन् । मिति ०७३ असोज १ गतेको गुठी संस्थान सञ्चालक समितिको बैठकमा ‘गुठी जग्गा सट्टापट्टा सम्बन्धमा’ प्रस्ताव पेश गरी निर्णय नम्बर ४ मा जग्गा दिने निर्णय गरिएको थियो ।

सो निर्णयमा भनिएको छ– जनकपुर उपमहानगरपालिका वडा ६, सिट नं.१३९५–०८, कि.नं. ४५ क्षेत्रफल ०–७–१५–३ बिघाको पश्चिमतर्फबाट ०–०–१८–० बिगाहा (अठार धुर) जग्गा मात्र सञ्जय मिश्रको नाममा चक्लाबन्दी प्रयोजनार्थ सट्टापट्टा गरिदिने । निजको नामको हालको जग्गा संस्थानको नाममा गुठी तैनाथी कायम गर्न शाखा कार्यालय जनकपुरलाई लेखी पठाउने ।

गुठी प्रमुखले राम्रो लाभ लिएर सञ्जयलाई दिइएको १८ धुर जग्गा उनको नाममा गइसक्यो तर सञ्जयको नाममा रहेको ७ धुर जग्गा अहिले पनि गुठीका नाममा ल्याइएको छैन । यस्ता काममा माहिर सञ्जयले सो जग्गा अरूलाई नै बेचे भने पनि अहिले गुठी केही गर्न सक्ने अवस्थामा छैन ।

ऐनको अपव्याख्या गरी मागेबमोजिमको लाभ लिएर सरकारी जग्गा व्यक्तिलाई दिने नारायण चौधरीले नै जनकपुर नापी प्रमुख कार्यालयको प्रमुखका रूपमा फिल्डबुकसमेत खडा गरी ०४४-४५ तिर सम्पूर्ण जनकपुरको पहिलो नापी गरेका थिए ।

गुठीकै एक पूर्व सञ्चालक भन्छन्, ‘त्यतिबेला नै यिनले गुठी र सार्वजनिक जग्गाका फिल्डबुकमा मनलाग्दी ढंगले मोही कायम गराएका थिए । त्यतिबेला यिनैले फिल्डबुकमा खडा गरेका नक्कली मोहीलाई दुई कार्यकाल गुठी संस्थानको प्रशासक हुँदा धमाधम शुभलाभ लिई सयौं बिघा जमिन दिएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७