भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह


२५ मंसिर २०७६, बुधबार
Dolakha snow fail kharidhunga 3 20190123134339

काठमाडौं, २५ मंसिर । इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने भएको छ ।

उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन् । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले बताइन् ।

सोही प्रणालीको प्रभावले देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हालसम्म नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकास नभए पनि रातिदेखि भने पश्चिमी न्यूनचापीय प्रणाली विकास हुनेछ ।

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने बताएको छ । मौसमविद्का अनुसार यो क्रम आगामी शुक्रबारसम्मै जारी रहने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७