सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक, कसले कुन पदक जिते ?


२५ मंसिर २०७६, बुधबार
sa scaled

काठमाडौं, २५ मंसिर । १३ औ दक्षिण एशियाली खेलकुद (साग) मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगितामा व्यक्तिगत तथा सामूहिक गरी क्लबका २३ खेलाडीलाई २३ स्वर्णसहित १०३ पदक जित्न सफलता मिलेको महासेनानी शशिकिरण रायमाझीले जानकारी दिए । प्रतियोगितामा नेपाली सेनाका खेलाडीले ३१ रजत र ४९ कास्य पदक प्राप्त गरेका छन् ।

प्रमुख सुरक्षा अङ्गको रूपमा रहेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पियन’ विभागीय टोली हो । आर्मी क्लबमा आबद्ध गौरिका सिंहले पौडीका विभिन्न खेलमा चार स्वर्णसहित नौ पदक जितेर यस प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीको परिचय स्थापित गरे ।

तेक्वान्दो विधामा सेनाको विभागीय टोलीमा रहेर स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा आयशा शाक्य, सञ्जीव ओझा, सीना मादेन लिम्बु, निता गुरुङ, प्रशंसा क्षेत्री, काजल श्रेष्ठ, सक्षम कार्की र भूपेन श्रेष्ठ छन् ।

यसैगरी कराँतेमा सङ्गीता मगर, प्रवीण मानन्धर र कुसुम खड्का तथा उसुमा विजय सिँजाली, सुस्मिता तामाङ, निमा घर्तीमगरले स्वर्ण पदक प्राप्त गरे । यस्तै गल्फमा सुवास तामाङ, बक्सिङमा मिनु गुरुङ, जुडोमा पुनम श्रेष्ठ, दुवाथोलनमा हिमाल टमाटा तथा फुटबलमा सुमन अर्याल, विकेश कुथु, विकास खवास र सेसेहाङक आङदम्बेले स्वर्ण पदक हासिल गरेका छन् ।

महासेनानी रायमाझीका अनुसार गत कात्तिक १ देखि १० गतेसम्म चीनको उहानमा आयोजित सातौं विश्व सैनिक खेलकूद (सिज्मस) मा भाग लिएका अनुभवी खेलाडीलाई सागमा सहभागी गराइएकाले उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुगेको हो ।

उनले भने, ‘खेलाडी छनौटमा हामीले विशेष ध्यान पुर्‍याउनुपर्छ, प्रतियोगिता जित्न खेल सामग्री, खेलाडीमा खेल्छु भन्ने भावना, खेलाडीको शारीरिक तन्दुरुस्ती तथा क्षमताले प्रभाव पार्छ, विभागबाट प्रदान गरिँदै आएको निरन्तर तालिमले पनि पदक जित्न मद्दत गरेको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७