त्यसै त ‘हार’ त्यसमाथि महन्थ ठाकुरमाथि ‘प्रहार’


२५ मंसिर २०७६, बुधबार
mahanta thakur

काठमाडौं, २५ मंसिर । अनेक हतकण्डा अपनाएर आफूले प्रतिनिधिसभाको चुनाव त जिते तर हालै सम्पन्न उपचुनावमा आफ्नै क्षेत्र, त्यसमाथि आफ्नै गाउँपालिकाको अध्यक्षमा गत निर्वाचनको विरासत समेत जोगाउन सकेनन्, महन्थ ठाकुरले ।

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष राजपाबाट निर्वाचित विनोद चौधरीको मृत्युपछि रिक्त पदमा नेकपाका विक्रम चौधरी यादवको पल्लाभारी भएसँगै उनको लोकप्रियताको जाँच भएको छ भने पिपरासँगैको राजधानी रहेको जनकपुरबाट २ नम्बर प्रदेश सरकार चलाइरहेको मधेशवादी (राजपा–समाजवादी) हरूको अलोकप्रियता छताछुल्ल भएको छ ।

पूर्व अध्यक्ष चौधरीको विधवा श्रीमतीलाई निर्वाचनमा उठाएर २ नम्बर प्रदेश सरकारका मन्त्रीहरू निर्वाचन आचारसंहिता कुल्चँदै झण्डा हल्लाएर प्रचार प्रसारमा निस्किए पनि उनले सहानुभूतिको मत पाउन सकिनन् ।

हालसम्मका निर्वाचनलाई हेर्ने हो भने श्रीमान्को मृत्युपछि उम्मेदवार खडा गरिएका प्रायः स्थानमा सहानुभूतिको मत ल्याएर निर्वाचित भएका छन् । अपवाद बनेको छ पिपरा गाउँपालिका । यसलाई महन्थ ठाकुरको ओरालो यात्राका रूपमा मधेशी नेताहरूले विश्लेषण गर्न थालेका छन् ।

मन्त्री भएर पनि आफ्नो स्वार्थमा मात्र रुमल्लिएका कारण सोही क्षेत्रबाट निर्वाचित भई सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा समेतको पत्तासाफको रूपमा हेरिएको छ ।

यिनै अभिरामले निकटस्थहरूसँग हामीले प्रदेशबाट पैसा त खन्यायौं तर त्यहाँ खर्च गर्न पाइएन भन्दै हिंड्न थालेको खबर जनआस्था साप्ताहिकले छापेको छ । यसअघिको निर्वाचनमा दुई वटै नपा र गापामा राजपाले विजय हासिल गरेकोमा यस पटक विरासत बचाउन सकेन । नेकपाले त्यो ठाउँबाट विजय हासिल गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७