हिमालयको क्वालालम्पुर पुनः सिधा उडान शुरु


२५ मंसिर २०७६, बुधबार
HIMalayan Airlines

काठमाडौं, २५ मंसिर । हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुवात गरेको छ । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको सो एयरलाइन्सले सोमबारदेखि सो शहरमा सीधा उडान शुरु गरेको आज विज्ञप्तिमार्फत जनाएको छ ।

हिमालयले पहिलो उडान सन् २०१७ फेब्रुअरी १० देखि शुरु गरेको थियो । वैदेशिक रोजगारीका लागि मलेसिया जानेहरुको श्रम स्वीकृति रोकिएपछि सन् २०१८ नोभेम्बरदेखि एयरलाइन्सले मलेसिया उडान स्थगन गरेको थियो ।

भ्रमण वर्ष २०२० को संघारमा मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षण गर्ने र पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

क्वालालम्पुर गन्तव्यमा कम्पनीले सोमबार र मङ्गलबार उडान भर्ने छ । ‘हामी क्वालालम्पुर र काठमाडौंबीचको सीधा उडान पुनः सञ्चालन गर्न पाउँदा एकदमै हर्षित भएका छौं । यी दुई स्थानबीचको उडानले दुवै देशका यात्रुलाई महत्वपूर्ण व्यावसायिक अवसर प्रदान गर्नेछ । दुवै देशको व्यापार, जनशक्ति र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ’, कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले विज्ञप्तिमा जनाएका छन् ।

सन् २०१४ अगष्टमा स्थापित कम्पनीले हाल तीन वटा ए ३२० जहाजमार्फत आठवटा गन्तव्यमा उडान भर्दै आएको छ । एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहामा भरेको थियो ।

हालै युएईको आबुधावी, बङ्गलादेशको ढाका र चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोडेको छ । अहिले हिमालयले अबुदाबी, दमाम, दोह, ढाका, क्वालालम्पुर, बेइजिङ, गुइयाडं र चाडंसामा उडान भरिरहेको छ ।

निकट भविष्यमा नै ल्हासा जस्ता उच्च स्थानमा उडान भर्न एअरलाइन्सले २०२० सम्म तिन ए ३१९ जहाज खरीद गर्ने योजना पनि बनाएको छ । चीनसँग सञ्जाल विकास गर्ने गरी एयरलाइन्सले क्रमशः चोङकिङ, सेन्जेङ, नाङचाङ, साङ्घाई र त्यसपश्चात् अलि र ल्हासामा विस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७