स्वर्ण पदक विजेता खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा, गौरिकाको पुरस्कार ६५ लाख


२५ मंसिर २०७६, बुधबार
Pm Witha Gold Medalist 13th sag games 1 scaled

काठमाडौं, २५ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) समापानका बेला स्वास्थ्यका कारण प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा सहभागी भएनन् ।

तर उनले भिडियो सन्देशमार्फत सागका विजेता नेपाली खेलाडीहरुलाई शुभकामना दिए । प्रधानमन्त्रीले आफ्नो वधाई तथा शुभकामना सन्देशका एउटा कुरा उल्लेख गरे । त्यो थियो–‘सरप्राइज’ सम्मान । प्रधानमन्त्रीले साग समापनका दिन सन्देशमा भनेको ‘सरप्राइज सम्मान’ को पोको आज खोलिएको छ । प्रधानमन्त्री ओलीले आज (बुधबार) साग विजेता खेलाडीहरुलाई आफ्नै सरकारी निवासमा बोलाएर सरप्राइज सम्मानको पोको खोलेका छन् ।

sag 5

साग विजेता नेपाली खेलाडीहरुले देशको शीर उचो बनाएको र खेलका माध्यमबाट नेपाललाई विश्वमा चिनाउन सफल भएको बताउँदै सरप्राइज रकम घोषणा गरेका छन् ।

ओलीले साग प्रतियोगितामा दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एक स्वर्ण जित्नेलाई नौं लाख, रजत पदक जित्ने खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा गरेका छन् । अघिल्लो सागमा भने सरकारले स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्य दिक जित्ने खेलाडीलाई दुई लाख रुपैंयाँ सम्मान रुवरुप प्रदान गरेको थियो ।

नेपालको आयोजनामा भएको साग प्रतियोगिता मंगलबार समापन भएको हो । मंगलबार साँझ दशरथ रङ्गशालामा आयोजित विशेष समारोहबीच १३ औं साग सकिएको हो । नेपालले तेस्रो पटक आयोजना गरेको सागमा नेपाली खेलाडीले ५१ स्वर्ण पदक जितेका छन् । यस पटकको सागमा नेपालले कुल २०६ वटा पदक जितेको छ ।

सागमा भारतले १७४ वटा स्वर्ण पदक जित्यो । त्यसैगरी श्रीलंका ४०, पाकिस्तान ३१, बंगलादेश १९, माल्दिभ्स १ स्वर्ण जित्न सफल भए भने भुटानले एउटा पनि स्वर्ण जित्न सकेन् । एउटा मात्र स्वर्ण जित्ने सम्भावनासहित पुरुष फुटबलको फाइनलमा नेपालसँग भिडेको भुटान उपविजेतामा सीमित भयो । नेपालले फुटबलमा समेत स्वर्ण जितेर आफ्नै भूमिमा फेरि च्याम्पियन बन्ने अवसर पायो ।

गौरिकाको पुरस्कार ६५ लाख, मण्डेकाजी, आयशा र सुवासले २२-२२ लाख

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ। सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए। गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ।

garika oli
‘एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यसरी हिसाब गर्दा गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’ गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्। स्वर्ण पदक जिताउने प्रशिक्षकलाई पनि पाँच लाख दिने सरकारले घोषणा गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७