ट्याक्सीलाई पर्यटनमैत्री बनाउन पर्यटन मन्त्रीको आग्रह


२५ मंसिर २०७६, बुधबार
minister yogesh bhattarai and yatayat majdur 1 scaled

काठमाण्डौं, २५ मंसिर । त्रिभुवन अन्तराष्टिय विमानस्थलमा सेवारत ट्याक्सीलाई आधुनिक, स्मार्ट र पर्यटनमैत्री बनाउन संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री योगेश भट्टराईले आग्रह गरेका छन् ।

बुधबार विमानस्थलमा कार्यरत मिटर ट्याक्सीका चालकहरुलाई लक्षित गरी आयोजना गरिएको अनुशिक्षण कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले पर्यटनमैत्री बनाउन आग्रह गरेका हुन् ।

उनले यात्रुलाई सम्मान पुर्वक व्यवहार गरिएमा ट्याक्सी चालक मात्रै नभई सिंगो नेपालको ईज्जत बढ्ने बताए ।

उनले भने,‘घन्टौं हवाई यात्राबाट आएका यात्रुहरु थाकेका हुन्छन्, अशक्त हुन्छन्, महिला बालबालिका हुन्छन् उनीहरुको लगेज ट्याक्सीमा राख्न सहयोग गरियो र पाहुनालाई सिटमा राखेर आफु चालक सिटमा बसेर तपाई कहांसम्म भनेर सोधियो भने ट्याक्सी चालक मात्रै होईन सिंगो नेपालको ईज्जत बढ्छ ।’

प्रत्यक वर्ष संसारभरबाट ७२ लाख पर्यटकहरु नेपाल आएको स्मरण गर्दै विमानस्थलमा सेवा दिने चालक तथा यातायात मजदुरहरुलाई पर्यटनमैत्री बनाउन सकिएको अवस्थामा पर्यटकहरुको संख्यामा वृद्धि भई यातायात मजदुर, स्वरोजगार तथा व्यवसायीहरुको आयमा वृद्धिसंगै देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए ।


विमानस्थलबाट सञ्चालित ट्याक्सीहरुमा विस्तारै जिपीएस प्रणाली सुरु गर्ने सरकारको तयारी रहेको जनाउदै यसले सेवालाई स्तरिय बनाउनुका साथै श्रमिकहरुको सुरक्षामा समेत यसले साथ दिने मन्त्री भट्टराईले बताए ।

उनले भने,‘यात्रुहरुले विभिन्न आरोप लगाउन सक्छ, मेरो बहुमुल्य सामान ट्याक्सीमा छुट्यो भन्ने आरोप लगाउन सक्छ त्यस्तो अवस्थामा निर्दोष श्रमिक जोगिन पनि सेवालाई आधुनिकिकरण गर्नु आवश्यक छ ।’

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले नेपाल उत्रीएका पर्यटकको पहिलो भेट ट्याक्सी चालकसंग हुने भएकाले चालकले गर्ने व्यवहारले नेपालको व्यवहार हुने भएकाले यात्रुमैत्री व्यवहार गर्न चालकहरुलाई सुझाए ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि गरिएको कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष रामचन्द्र कार्की र नेपाल यातायात मजदुर संघका ३ नम्बर प्रदेश संयोजक जगन्नाथ गौतमले शुभकामना दिएका थिए ।

विमानस्थलमा कार्यरत १ सय २० जना चालकहरु सहभागी कार्यक्रममा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम) ले अतिथि सत्कार र व्यवहारबारे अनुशिक्षण दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७