सहकारी संस्था बसेको घरमा बम बिष्फोट, शंका विप्लव समूहतिर


२६ मंसिर २०७६, बिहीबार

दाङ, २६ मंसिर । दाङ देउखुरीस्थित एक व्यक्तिको घरमा बम बिष्फोट भएको छ । गढवा गाउँपालिका– २ कोठरीका घनश्याम चौधरीको पक्की घरमा बुधबार दिउँसो बिष्फोट भएको हो ।

बुधबार दिउँसो साढे २ बजेतिर घरमा कोही नभएको समयमा बिष्फोट भएको थियो । बिष्फोटपछि चौधरीको पक्की घर चिरा परेको छ । जिल्ला प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार चौधरीले उक्त घर भाडामा लगाएका थिए । घरको माथिल्लो तलामा गोधुली बचत तथा ऋण सहकारी संस्थाको कार्यालय थियो ।

बिष्फोट भएको घरको अर्को कोठामा भारतबाट माछा मार्ने भनी जिलेटिन ल्याएर राखेको आशंकामा त्यहाँ बस्दै आएका एक जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रवक्ता शाहले जानकारी दिए ।

तर त्यहाँ के बिष्फोट भएको हो भन्ने कुरा भन्न सक्ने अवस्था नरहेको उनले बताए । ‘जिलेटिन बिष्फोट भएको हो भन्न सक्ने आधार पनि भेटिएको छैन,’ डिएसपी शाहले भने, ‘बम बिष्फोट हो कि भन्ने आशंका भइरहेको छ ।’

बिष्फोट कसले र किन गराएको हो भन्ने यकिन हुन नसकेको भए पनि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । प्रहरीले आफ्नोविरुद्ध सुराकी गरेको आशंकामा विप्लव समूहले बिष्फोट गराएको हुन सक्ने आशंका व्यक्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७