पोखरा क्षेत्रीय विमानस्थलका लागि थप जग्गा अधिग्रहणको निर्णय खारेज गर्न माग


२६ मंसिर २०७६, बिहीबार
pokhara airport

पोखरा, २६ मंसिर । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल वरपरका स्थानीयले विमानस्थलका लागि थप १४८ रोपनी जग्गा अधिग्रहणको निर्णय खारेज गर्न माग गरेका छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनसरोकार समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीयवासीले विमानस्थलका लागि जग्गा अधिग्रहणका नाममा एउटै व्यक्तिलाई पटक–पटक उठीबास हुनुपर्ने अवस्था आएको भन्दै दुःखेसो व्यक्त गरेका छन् ।

समितिका अध्यक्ष गनेस पौडेलले विमानस्थल परियोजनाका लागि थातथलो दिएका स्थानीयलाई आतङ्कित गराउने गरी पुनः जग्गा अधिग्रहणको सूचना जारी गरी आतङ्कित बनाइएको बताए ।
विमानस्थल क्षेत्रमा गरिएको जग्गा अधिग्रहणले सर्वसाधारणलाई विस्थापित गरेकोे उल्लेख गर्दै उनले विस्थापितको अधिकार सम्बन्धमा भएको डब्लुटिओको प्रावधान पूरा गर्न माग गर्नुभयो ।

विमानस्थलकै कारण नहर बन्द हुँदा झण्डै छ हजार रोपनी उर्बर भूमी बाँझो हुने अवस्थामा पुगेकाले सिँचाइको अबिलम्ब विकल्प दिन उनले माग गरे ।

स्थानीय राजकुमार थापाले आफ्नो ३० रोपनी जग्गामध्ये २० रोपनी विमानस्थलकै कारण अधिग्रहणमा परिसकेकाले थप जग्गा अधिग्रहणको सूचनाले बाँकी जग्गा समेत नरहने दुःखेसो व्यक्त गरे ।

सरकारले आवश्यक पर्ने जग्गाको एकै पटक यकिन नगरी पटक पटक जग्गा अधिग्रहणका सूचना जारी गर्दा स्थानीयवासीलाई त्रसित बनाएको भन्दै उनले आफूहरूले थप जग्गा अधिग्रहण गर्न नदिने बताउए । स्थानीय समाजसेवी किरण पौडेलले स्थानीयले उठाएका माग र पीडालाई उचित सम्बोधन गर्ने गरी समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७