नेपालको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर : राजदूत मञ्जिभसिंह पुरी


२६ मंसिर २०७६, बिहीबार
manjiv

काठमाडौं, २६ मंसिर । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रलाई आर्थिक–सामाजिक विकासको मार्गमाा अग्रसर गराउने नेपाल सरकारको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर रहेको बताएका छन् ।

आफ्नो सम्मानमा परराष्ट्र सचिव शङ्करदास वैरागीले आज अपराह्न राजधानीमा आयोजना गरेको बिदाइ समारोहमा उनले तीन तहका निर्वाचन सम्पन्न गरेर नेपालले विश्वलाई एकता, शान्ति र प्रगतिका निम्ति पूर्ण प्रतिबद्ध रहेको सन्देश प्रवाह गरेको बताए । राजदूत पूरीले भने, ‘संसारका कुनै पनि देशले एकै पटक तीन वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको इतिहास छैन ।’

उनले भारत र नेपालबीचको सम्बन्ध अतुलनीय रहेको तथा शताब्दीऔँ पुरानो आपसी मैत्री भविष्यमा अझ सुमधुर एवं सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताए । ‘देवभूमि नेपाल भारतीयहरूका निम्ति अति सम्मानीय छ, प्रकृतिको वरदानप्राप्त अति सुन्दर राष्ट्र नेपाल जलस्रोत र पर्यटनका माध्यमबाट विकासको पथमा लम्किन सक्षम छ’, उनले भने ।

आफ्नो कार्यकालमा अरुण तेस्रो र मााथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणसम्बन्धी दुई राष्ट्रबीच भएको सहमति, भूकम्पपछिको पुनर्निर्माण, एकीकृत जाँच चौकी, हुलाकी राजमार्गलगायत भारत–नेपाल सहयोग र साझेदारी पारस्परिक मैत्रीका प्रतीक भएको बताए ।

अरुण तेस्रो र मााथिल्लो कर्णाली जलविद्युत् आयोजनाले नेपालको सामाजिक–आर्थिक परिदृष्यमा अकल्पनीय परिवर्तन ल्याउने र नेपाललाई समृद्ध देशका रुपमा विश्वमा स्थापित गर्ने उनले बताए ।

संक्षिप्त मन्तव्य व्यक्त गर्दै सचिव वैरागीले राजदूत पुरीको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ हासिल गरेको भन्दै त्यस निम्ति उनले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । समारोहमा नेपालस्थित अधिकांश देशका राजदूत तथा कार्यबाहक राजदूतहरूको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७