धनुषा बम विष्फोट : प्रहरी निरीक्षकसहित तीन जनाको गयो ज्यान, पाँच जना गम्भिर (अपडेट)


२८ मंसिर २०७६, शनिबार
army 1

धनुषा, २८ मंसिर । धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिष्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान गएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करीब चार सय मिटर दूरीमा शक्तिशाली बम बिष्फोट हुँदा स्थानीय ४६ वर्षीय राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

यस्तै बम विष्फोटमा घाइते प्रहरी निरीक्षक अमिर दाहालको घरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो ।

राति १२ बजे राजेश्वरको घरको शौचालय शंकापस्द वस्तु बम फेला परेपछि उनीहरुले प्रहरीलाई खबर गरे । ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट शंकास्पद वस्तु के हो भनि यकिन गर्न पुगेका बेला सो बम बिष्फोट भएको जनाइएको छ ।

बम बिष्फोटमा प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भिर घाइते भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् । गम्भीर घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अन्य दुई जना सामान्य घाइते छन् ।

घरमुली साहले गाउँमा रकम लगानी गर्ने गरेका कारण कसैले हत्याकै लागि बम बिष्फोट गराएको हुन सक्ने स्थानीयको आशंका छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७