तीन करोड लगानीमा उपत्यकाको घ्याम्पेडाँडामा पहिलो ‘जीपलाइन’


२८ मंसिर २०७६, शनिबार
jeepline

भक्तपुर, २८ मंसिर । सूर्यविनायक नगरपालिका क्षेत्रमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको जीपलाइनको शुक्रबार शिलान्यास गरिएको छ ।

सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा नयाँगाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवर्धन समिति तथा ताण्डव इन्भेष्टमेन्ट प्रालिले निर्माण गर्न लागेको जीपलाइनको सांसद महेश बस्नेतले रानीकोटमा शिलान्यास गरेका हुन् । घ्याम्पेडाँडा रानीकोटगढी हावाघरबाट शुरु हुने जीपलाइन पाइलटबाबा आश्रम पछाडिको नयाँ गाउँसम्म जाने गरी निर्माण हुने भएको हो ।

रानीकोटगढी हावाघरमा एउटा पोल र पाइलटबाबा आश्रम पछाडि रहेको नयाँगाउँमा अर्को पोल राखेर तारको माध्यमबाट प्राकृतिक सौन्दर्य अवलोकन गर्दै यात्रा गर्ने गरी जीपलाइन शुरु गर्न लागिएको हो ।

सांसद बस्नेतले गुण्डुबाट घ्याम्पेडाँडा रानीकोटसम्मको ४५ मिनेटको पदयात्रामा पाथीभरा, गोसाइँकुण्ड र अन्नपूर्ण आधारशिविर गए जस्तै अनुभव हुने बताए । ‘यहाँको पदयात्रामा चितुवा, मृग, बँदेल, खरायो, कालिजलगायतका जङ्गली जनावर र पशुपक्षीको अवलोकन गर्न सकिन्छ’, बस्नेतले भने, ‘एक हजार ७४१ मिटरको उचाइमा पर्ने यस क्षेत्रबाट १७ हिमश्रृङ्खला र उपत्यकाका तीन वटै शहरको दृष्यावलोकन गर्न सकिन्छ, त्यसैले अब घ्याम्पेडाँडा रानीकोट क्षेत्र आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्य बन्छ ।’

काठमाडौंबाट १९ किलोमिटरको दूरीमा पर्ने यस स्थानमा सूर्यविनायकबाट सात किलोमिटरको बाटो रु पाँच करोड लागतमा कालोपत्र भइसकेको चर्चा गर्दै उनले यहाँको तामाङ बस्तीको कला, संस्कृति र रहनसहनले अझ मनमोहक बनाउने दाबी गरे ।

सांसद बस्नेतले भने, ‘हामी ललितपुरको बालकुमारीदेखि बालकोट, चित्रपुर, अनन्तलिङ्गेश्वर हुँदै घ्याम्पेडाँडा रानीकोटसम्म करीब १३ किलोमिटर सडक विस्तार गर्दैछौ, यसका लागि रु ४० करोडको बोलपत्र भइसकेको छ, रानीकोटबाट काभ्रेको कुशादेवी जाने सडक पनि काभ्रेले बनाउँदैछ, यसले यहाँको विकासमा थप मुहार फेर्नेछ ।’

उनले पर्यटन वर्ष २०२० लाई सफल बनाउन र यस क्षेत्रमा पर्यटकको आवागमन बढाउन पदमार्गसहित, प्याराग्लाइडिङ, बञ्जीजम्प, काक्राबारी इकोभिलेज, घरवाससमेतको योजना अगाडि बढाएर काम शुरु भइसकेको बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, समितिका सञ्चालक यादव राईलगायतले घ्याम्पेडाँडा र रानीकोटको पर्यटन विकासमा सबै क्षेत्रबाट सहयोग र समन्वय हुने बताए ।

घ्याम्पेडाँडा पर्यटन प्रवर्धन समिति तथा ताण्डव इन्भेष्टमेन्ट प्रालिका अध्यक्ष रोमन शिलाकारले निजी क्षेत्रको रु पाँच करोडको लागतमा शुरु गरिने जीपलाइन तीन महिनापछि सञ्चालनमा आउने बताए ।

समितिका अर्का सञ्चालक विज्ञान राईले उपत्यकामै पहिलो पटक सञ्चालन गर्न लागेको जीपलाइन आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बन्ने र यसले पर्यटन वर्ष २०२० लाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७