संविधान पढाउनु पर्दैन : वाम विद्यार्थी


१७ पुष २०७४, सोमबार
nabina

काठमाण्डौं : वामपन्थी गठबन्धनका युवा र विद्यार्थी संगठनले आज प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवलाई भेटेर राजनीतिक दलका नेतालाई संविधान पढाउने प्रयास नगर्न चेतावनी दिएका छन् । Bij

उनीहरुले तत्काल समानुपातिकको नतिजा सार्वजनिक नगरे सडक आन्दोलनमा जाने समेत चेतावनी दिएका छन् । नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल, अनेरास्ववियु र माओवादीसम्बद्ध वाइसीएल नेपाल र अखिल क्रान्तिकारीका तर्फबाट ज्ञापन–पत्र बुझाउँदै आयोगले प्रतिनिधिसभालाई पूर्णता दिन नचाहेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनीहरुले देशलाई अन्यौलबाट मुक्त गरी स्थिर सरकार गठनको मार्गप्रशस्त गर्न आयोगलाई आग्रह समेत गरेका छन् । युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले निर्वाचन आयोगले आफ्नो दायित्व निर्वाह गर्नुको साटो संविधान बनाउने नेताहरुलाई संविधान पढाउन खोजेको बताएका छन् । उनले भने–‘हामीले संविधान बनाउने नेतालाई संविधान पढाउनुको साटो आफ्नो दायित्व निर्वाह गर्न आग्रह गरेका हौं ।’

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभाको पूर्णता हुन संवैधानिक र कानुनी जटिलता रहेको जवाफ दिएका छन् । उनले संघीय संसदमा प्रत्येक दलको ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने र त्यसका लागि राष्ट्रियसभा चुनाव हुनुपर्ने बताएका छन् ।

आयोगको ढिलासुस्ती र सरकारको आयु लम्ब्याउदै मुलुकलाई अस्थिरता र गतिहीनतातर्फ लैजाने प्रपञ्च हामीलाई मान्य नहुने र यस्तो भए कडा आन्दोलनमा जाने विज्ञप्तीमा उल्लेख छ । प्रमुख निर्वाचन आयुक्त यादवलाई बुझाइएको ज्ञापन–पत्रमा युवा संघ अध्यक्ष राजिव पहारी, अखिल अध्यक्ष नविना लामा, वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा र अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७