फकाउन गएका देउवालाई रामचन्द्रले उल्टै दिए सुझाव


२८ मंसिर २०७६, शनिबार
deuba poudel chalphal.00 00 25 04.Still001

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन नसक्ने प्रष्ट पारेका छन् ।

शनिबार आफ्नै निवासमा बोहोराटारमा भेट्न आएका पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिलाई पौडेलले महाधिवेशनको कार्यतालिका बाहेकका अरु विषय तपशिलका रहेको बताएको थियो ।

पौडेलले पार्टीका संगठनात्मक संरचना बनाएर न्यायपूर्ण ढंगले अगाडि बढ्न समेत सभापति देउवालाई सुझाव दिए । नेता पौडेलले सभापति देउवासंग पार्टीलाई एक बनाएर अहिलेका चुनौति सामना गर्दैै अगाडि बढ्ने सहमति भएको जानकारी दिए ।

महाधिवेशनको कार्यतालिका ल्याउने पर्ने अडानमा रहेका पौडेललाई सहमतिमा ल्याउन प्रयास विहान सफल हुन सकेन। तर नेताहरुबीचमा आइसब्रेक भने भएकोमा कार्यकर्ताहरु खुसी देखिए। विहानको सहमति जुटाउने प्रयासलाई निरन्तरता दिन अपरान्ह ४ वजेर २५ मिनेटबाट चाक्सीवारीमा रहेको प्रकाशमान सिंहको निवासमा छलफल शुरु भएको छ। 

यसअघि पार्टीभित्र सहमतिको उपाय खोज्दै निवासमा पुगेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं अधिवेशनको कार्यतालिकालाई बैठकको एजेण्डा नबनाएसम्म आफूहरु केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुन नसक्ने जवाफ दिएर पठाएका थिए। पौडेले समुहले कार्यतालिक बनाउनु पर्ने माग गर्दै केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको छ ।

देउवासंगै बोहोराटार पुगेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले कार्यतालिका बनाएर अगाडि बढ्न सभापति सकरात्मक भएको बताए । छलफलमा सभापति देउवा वरिष्ठ नेता पौडेल उपसभापति निधी र सिंह लगायतका नेता सहभागि छन्। 

वार्ता समितिमा संस्थापन पक्षले उपसभापति निधिलाई तोकेको छ भने नेता पौडेल पक्षले पार्टीका नेता प्रकाशमान सिंहको नेतृत्वमा केन्द्रीय सदस्यद्वय दिलेन्दप्रसाद्र बडु र हृदयराम थानीलाई जिम्मेवारी दिएको छ ।

दुवै पक्षबीच सहमति नभएपनि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक नियमित सञ्चालन गर्ने र केन्द्रीय विभाग गठनबारे छलफल गर्ने संस्थापन पक्षको तयारी छ । यही मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै नेता पौडेल पक्षले बैठक बहिष्कार गरेको थियो ।

बिहीबारको बैठकमा केन्द्रीय निर्वाचन समितिले विधान बमोजिम प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, गाउँ/नगरपालिका एवं वडा समितिहरुको अन्तरिम समायोजनसम्बन्धी निर्देशिका कार्यान्वयन केही बाँकी रहेको अवगत गराएको थियो । मङ्सिर १४ गतेको उपनिर्वाचनका कारण केही जिल्लामा बाँकी रहेको अन्तरिम समायोजनसम्बन्धी कार्य अबको १८/२० दिनपछि सम्पन्न हुने र महाधिवेशनकोे कार्यतालिका तय गर्ने निर्वाचन समितिको योजना छ ।

यसैगरी बिहीबारको केन्द्रीय समिति बैठकमा पार्टीका केन्द्रीय विभागहरुको संरचनात्मक र सङ्ख्यात्मक परिमार्जनलगायत प्रस्ताव छलफलका लागि प्रस्तुत गरिएको थियो । संस्थापन पक्षले विधानमा उल्लेखित २८ विभागलाई बढाएर ४१ पुर्याउने प्रस्ताव प्रस्तुत गरेको हो । पार्टी विधानमा केन्द्रीय कार्यसमितिले आवश्यकताअनुसार अन्य विभाग गठन गर्न र काम, कर्तव्य, अधिकार तोक्न सक्ने व्यवस्था उल्लेख छ ।

साथै उपनिर्वाचनको समीक्षा, भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक आधार तथा मापदण्ड निर्धारण र एकरुपता समितिको प्रतिवेदन, नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि छ महिना थप गरेको निर्णयलाई अनुमोदनलगायत प्रस्ताव केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिएको थियो ।

काँग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा काठमाडौँमा सम्पन्न भएको थियो । सोही महाविधेशनमा नेता देउवाले अर्का नेता पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएको थियो । विधानअनुसार नियमित समयमा महाधिवेशन भए आगामी फागुनमा १४ औँ महाधिवेशन गर्नुपर्ने हुन्छ । तर काँग्रेसमा विधानमा उल्लेखित एक वर्षसम्म अवधि बढाउन सक्ने प्रावधानमा टेकेर नेतृत्वले आफ्नो कार्यसमितिकोे म्याद पाँच वर्ष पुर्याउने परम्परा रहेको देखिन्छ ।

काँग्रेसको विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने उल्लेख छ । साथै सोही दफामा असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७