२० करोडको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक, यस्तो छ सुविधा ?


२९ मंसिर २०७६, आईतवार
nepal rastra bank

काठमाडौं, २९ मंसिर । नेपाल राष्ट्र बैंकले २० करोडको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ। आगामी पुस १ गतेदेखि पुस २१ सम्म बिक्री खुल्ला हुने गरी राष्ट्र बैंकले बचतपत्र निष्काशन गर्नलागेको हो।

बचतपत्रको नाम वैदेशिक रोजगार बचतपत्र २०८१ राखिएको छ। पाँच वर्ष अवधिको बचतपत्रमा १० प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ। तर यसमा ब्याजकर लाग्नेछ। राष्ट्र बैंकका अनुसार ६÷६ महिनामा ब्याज भुक्तानी गरिनेछ।

कसले किन्न पाउँछ ?
बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली तथा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सक्नेछन्।

त्यस्तै घटीमा पाँच हजार र बढीमा पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाउने सीमा तोकिएको छ। यसको फाइदास्वरुप बचतपत्र धितो राखी बैंक वा वित्तीय संस्थाबाट कर्जा लेनदेन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

पुस १ देखि २१ गतेसम्म बिक्री खुल्ला हुने बचतपत्रको निष्काशन पुस २७ गते हुनेछ भने २०८१ पुस २७ मा सावाँ भुक्तानी हुनेछ। त्यस्तै ६÷६ महिनामा भुक्तानी हुने ब्याज बचतपत्र खरिदकर्ताले इच्छाएको व्यक्तिमार्फत भुक्तानी लिन सकिनेछ।

कहाँ दिने आवेदन ?
सिटिजन्स बैंक कमलादी, नबिल बैंक तिनधारा दरबारमार्ग, माछापुच्छे« बैंक लाजिम्पाट, प्रभु बैंक अनामनगर, सनराइज बैंक गैह्रीधारा, सिद्धार्थ बैंक हात्तीसार, सानिमा बैंक नक्साल, सेञ्चुरी बैंक पुतलीसडक, प्रभु मनि ट्रान्सफर लैनचौर र सेवा रेमिट कुलेश्वरबाट आवेदन दिन सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७