टाइम बमले मधेस अशान्त ! टाइम बमले तीनलाई निल्यो


३० मंसिर २०७६, सोमबार
dhanusha

धनुषा, ३० मंसिर । मधेस शान्त थियो । अपराधी समूह सेलाएको थियो । तर महिना दिनयता प्रदेश–२ अशान्त छ । श्रृंखलाबद्ध बम पड्किन थालेको छ ।

बिस्फोटमा मान्छेको मृत्यु भएको छ । अपराधीले थापेको बम पड्किएर धनुषामा शुक्रबार राति सुरक्षाकर्मी र स्थानीय गरी तीन जनाको ज्यान गइसकेको छ । प्रहरीसहित चार गम्भीर घाइते भए ।

शान्त तराई अपराधीको गतिविधिले फेरि अशान्त बनेको हो । कहींकतै विप्लव समूहले बम राखेको प्रहरीको भनाइ छ भने कतै अपराधी समूहले चन्दा संकलन गर्न बम पड्काउँदै आएको छ ।

सरकारी कार्यालय, साहूमहाजनको घर, सार्वजनिक स्थानमा टाइम, प्रेसर, सकेटजस्ता बम राख्ने अनि बिस्फोट गराउने समूह सक्रिय छन् । मंसिर दोस्रो साता यता महोत्तरी, सलाही, धनुषा, सिराहामा लगालग बम राखिएको भेटियो । कतै सेनाले निस्कृय पारे त कतै पड्किएर धनजनको क्षति भयो ।

टाइम बमले तीनलाई निल्यो
शुक्रबार मध्यरातमा धनुषाको महेन्द्रनगरका राजेश साहको घरमा बम पड्कियो । बिस्फोटमा परेर इन्स्पेक्टर अमिर दाहाल, घरधनी राजेश र उनका स्कूले छोरा आनन्दको ज्यान गयो । प्रहरीसहित चार घाइते भए घटनाले राजेश र प्रहरी इन्स्पेक्टरको घरपरिवार भावविह्वल भएका छन् ।

गाउँमा सन्नाटा छाएको छ । मृतकको घरमा दुई दिनदेखि चुलोमा आगो बलेको छैन । घरमा बम राखेको सूचना इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा गरिएको थियो। सुरक्षाकर्मी राजेशको घर पुग्दा बम बिस्फोट भएको थियो ।

घटनामा राजेशका बुबा भिखारी, छोरी अञ्जली, कान्छो छोरो प्रेम र प्रहरी जवान रिजनाथकुमार महतो घाइते भए । स्थानीय सबिता खातुन र अकबर मन्तुरी पनि सामान्य घाइते भए । भिखारीको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ भने अन्य तीनको धरानमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी, प्रदेश प्रहरी, संघीय इकाई कार्यालय जनकपुरधाम र हेडक्वाटरबाट छुट्टाछुट्टै टोली परिचालित छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डीआईजी प्रद्युम्न कार्की भन्छन्, ‘बम बिस्फोट गराउने समूहको पहिचान भइसकेको छ ।’

राजेशको घरमा टाइम बम राखिएको उनले बताए । कात्तिक २६ गते रौतहटको इसनाथ नगरपालिका ४ स्थित मठिया प्रहरी चौकीमा २६ अज्ञात समूहले बम फालेर भागे । बिस्फोटमा एक प्रहरी जवानलाई बमको छर्रा लागेर घाइते भए ।

अपराधी समूहको निशानामा सरकारी कार्यालय

अपराधी समूहले मंसिर २८ गते सिराहा लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा पनि बम बिस्फोट गरायो । कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले राखेको बम विस्फोट हुँदा झ्याल र ढोकामा क्षति पुग्यो । बम बिस्फोट गराएको आरोपमा एक जनालाई प्रहरीले गिरफ्तार गर्‍यो ।

गत मंसिर १३ गते सिराहाकै धनगढीमाई नगरपालिकाको कार्यालयको ढोकाअघि शंकास्पद झोला देखियो । नगर प्रमुख हरिनारायण चौधरीको कार्यकक्ष रहेको भवनको मूलढोकामै झोलामा बम थियो । नेपाली सेनाको टोलीले बमलाई डिस्पोज गरे ।

तराईका सशस्त्र समूहले हतियार बिसाए । सरकारसँग शान्ति वार्ता गरे । त्यसपछि मधेसको जनजीवन लयमा फर्किएको थियो । अपराधी समूहले फेरि बम आतंक बचाएको छ । चन्दा माग्ने र नदिए घरमा बम हालेर तर्साउँदै आएको छ । श्रृंखलाबद्ध बम बिस्फोटले प्रहरीदेखि सर्वसाधारण त्रसित बनेका छन् । अज्ञात समूहले थापेको धरापमा धनुषामा प्रहरीअधिकृतसँगै अन्य दुईको मृत्यु भइसकेको छ ।

अपराधी समूहको निशानामा सरकारी कार्यालयदेखि नेताका पार्टी कार्यालय पनि परेका छन् । मंसिर २३ गते महोत्तरी सदरमुकाम जलेश्वरस्थित वन डिभिजन कार्यालयमा प्रेसर कुकर बम फेला प¥यो । योजनाका साथ बिस्फोट गराउन उक्त बम राखिएको थियो । कार्यालयको प्रांगणमा पार्किङ गरिएको थियो । त्यसमुनि झोलामा लुकाएर प्रेसर कुकर बम राखिएको थियो। नेपाली सेनाको टोलीले बम डिस्पोज गर्‍यो ।

उपनिर्वाचनमा पनि बमकै डर
अपराधी समूहले मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा पनि बम बिस्फोट गराएको प्रहरी बताउँछन्। मंसिर १२ गते महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका उमेदवार विक्रम चौधरीको घरमा प्रेसर कुकर बम बिस्फोट भयो ।

चुनाव प्रचारप्रसार गर्न उनले घरमै पार्टी कार्यालय राखेका थिए । नेकपाको तर्फबाट उमेद्वार भएका चौधरीले चुनावमा जिते । उपनिर्वाचनकै दिन मतदान केन्द्रनजिकै सकेट बम राखिएको भेटियो । मतदातालाई त्रसित बनाउन सर्लाहीको हरिपूर्वा नगरपालिका १ को उपनिर्वाचनका लागि तोकिएको मतदान केन्द्रनजिकै बम राखिएको पाइयो । पछि नेपाली सेनाको टोलीले डिस्पोज पा¥यो ।

बम आतंक छैन : डीआईजी कार्की

प्रहरीले बम बिस्फोटसँग सम्बन्धित घटनाको गम्भीरतापूर्व अनुसन्धान भइरहेको जनाएको छ । प्रदेश २ मा कुनै बम आतंक नभएको प्रहरीले दाबी गरेको छ । ‘धनुषामा बम पड्केर मानवीय क्षति भएकाले आतंक भएको हो’, प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डीआईजी प्रद्युम्न कार्कीले भने, ‘चन्दा उठाउने समूहले बम राख्ने र पड्काउने गरेको छ ।

गैरराजनीतिक समूहले डराउन बम बिस्फोट गराएर चन्दा असुली गर्ने गरेको छ, उनीहरू वास्तवमै अपराधी समूह हुन् ।’ कुनै कुनै ठाउँमा विप्लव समूहले बम राख्ने र पड्काउने गरेको उनले बताए । ‘सुरक्षा व्यवस्था चुस्तदुरुस्त छ । कोही पनि डराउन र आत्तिन पर्दैन’, उनले सर्वसाधारणमा अपिल गरे । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७