चार राजदूत अझै अनिश्चित, वेवास्ता कि मान्छे नभेटिएको ?


३० मंसिर २०७६, सोमबार

काठमाडौां, ३० मंसिर । ‘नेपालले हामीलाई बेवास्ता गरेको कि हामीकहाँ पठाउने कूटनीतिज्ञ नभेटेको हो ?’ दक्षिण कोरियाली दूतावासका प्रतिनिधिले भेटैपिच्छे ठट्टा शैलीमा राख्ने जिज्ञासा हो यो ।

दक्षिण कोरियामा राजदूत रहेका अर्जुनजंगबहादुर सिंहलाई फिर्ता बोलाएको लामो समय बितेको छ । तर त्यहाँ सरकारले राजदूत नियुक्त गर्न सकेको छैन ।

नेपालीको उल्लेख्य उपस्थिति र दुईपक्षीय सहकार्य राम्रो रहेको भनिएको मुलुकमा राजदूत पठाउन नसक्नु र अन्य प्राथमिकतामा मात्र केन्द्रित हुनुमा परराष्ट्र अधिकारी पनि आश्चर्य व्यक्त गर्छन् । ‘राजदूत नियुक्ति गर्न केहीले रोक्छ झैं लाग्दैन तर सरकारले गरिरहेको छैन,’ परराष्ट्रका अधिकारी भन्छन्, ‘खै केकेमा कुरा मिल्दैन कि मानिस पाउँदैनन् । नियुक्तिको कुरै भएको छैन ।’

दक्षिण अफ्रिकामा पनि राजदूत नियुक्त गर्न सकिएको छैन । अफ्रिकामा राजदूत रहेका अमृतबहादुर राईलाई सरकारले कार्यकाल सकिनु दुई महिनाअघि मन्त्रालय फिर्ता बोलाएर गत वर्ष न्युयोर्कस्थित राष्ट्रसंघको स्थायी प्रतिनिधि बनायो। त्यहाँ दूतावास राख्ने या नराख्ने अन्योल भएकै कारण पनि राजदूत नियुक्तिमा ढिलाइ गरेको हुनसक्ने अधिकारीहरू बताउँछन् ।

राजनीतिक नेतृत्वले दूतावास हटाउने भने पनि मन्त्रालय राख्नुपर्ने अडानमा छ । सार्क र बिम्स्टेकको समेत सदस्य श्रीलंकामा राजदूत रहेका प्राडा. विश्वम्भर प्याकुरेलले परराष्ट्र मन्त्रालयले काम गर्नै नदिएको र हैकम चलाएको भन्दै राजीनामा दिएर फर्केपछि त्यहाँ पनि अर्को राजदूत पठाइएको छैन ।

राजदूत हुन चाहनेहरू राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री र नेताहरूको घरदैलो धाइरहेका छन् । परराष्ट्रका सहसचिव पनि आफ्नो पालो आएको भन्दै प्रयासरत छन् । तर सरकारले त्यसमा कुनै चासो देखाएको छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूत नियुक्तिका लागि पहिलेदेखि प्रक्रियामा रहेको बताएका छन् ।

उनले पछिल्लो समय पनि छिट्टै राजदूत नियुक्ति हुने बताइरहेका छन् । सरकारले खाली राख्ने नीति नलिएको उनको धारणा छ । अन्य स्थानमा अहिले राजदूत खाली छैन । अमेरिकामा रहेका राजदूत डा. अर्जुन कार्कीलाई कामचलाउ बनाएको ६ महिना नाघिसकेको छ ।

परराष्ट्र सचिव शंकरदास बैरागी अमेरिका जान चाहेका छन् । तर सरकार भने त्यहाँ राजनीतिक नियुक्ति गर्ने तयारीमा छ । बैरागी सके मुख्यसचिव बन्ने नभए अमेरिकाको राजदूत त्यो पनि नभए जापान जाने योजनामा रहेको उनी निकटले बताए । उनी आफू भने अस्वीकार गर्छन् । ‘म पूरा कार्यकाल सचिव रहन चाहन्छु । त्यसपछिको बाटो मैले खासै सोचेको छैन,’ उनले भने ।

सरकारको नेतृत्वमा शेरबहादुर देउवा रहँदा नियुक्त भएका राजदूतहरू सबै फर्के पनि जापान र म्यान्मारबाट फर्काइएको छैन । प्रतिभा राणा त्यतिबेला राप्रपा कोटामा जापानको राजदूत भएकी थिइन् । उनलाई सरकारले फिर्ता बोलाउन सकेको छैन । म्यान्मारका लागि राजदूत रहेका भीम उदास पनि फर्कनुपरेको छैन ।

केपी ओली नेतृत्वमा सरकार बनेपछि भारत, राष्ट्रसंघ स्थायी प्रतिनिधि (जेनेभा र न्युयोर्क दुवैमा), फ्रान्स, स्पेन, अस्ट्रेलिया, बंगलादेश, कतार, कुवेत, बहराइन, क्यानडा, इजरायल, मलेसिया, थाइल्यान्ड, यूएईमा राजदूत नियुक्त भए । तर चार देशमा अझै रिक्त छ ।

नेपालको ३० मुलुकमा दूतावास, राष्ट्रसंघका लागि ३ स्थायी नियोग र ६ महावाणिज्य दूतावास छन्। सरकारले थप महावाणिज्य दूतावास खोल्ने तयारी गरिरहेको छ । अन्य मुलुकले नेपालमा राजदूत खाली राख्दैनन् । भारतकै राजदूत मञ्जिभसिंह पुरी कार्यकाल सकेर फर्कंदै गर्दा पनि यहाँ अर्को राजदूतको खोजी भइरहेको छ ।

अन्य मुलुकले राजदूतमा रहेका व्यक्ति कूटनीतिक करिअरबाट सेवा निवृत्त हुँदा घर पठाउँछ । उत्कृष्ट काम गर्नेमात्र पुरस्कृत हुन्छन् अन्य हराएर जान्छन् । तर यहाँ सेवानिवृत्त सबैलाई अब्बल दर्जामा राजदूत बनाएर पठाइन्छ । कतिपयले त्यो मुलुक हेर्नु त परै जाओस् त्यो मुलुकको महाशाखामा काम समेत गरेका हुँदैनन् । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७