सिन्धुपाल्चोक बस दुर्घटनामा १५ को मृत्यु, १९ घाइते (नामसहित)

समस्या हुँदाहुँदै चालकले बस कुदाए, घुम्तीमा नमोडिएपछि स्टेरिङ छाडेर भागे


३० मंसिर २०७६, सोमबार
sindhu 1 1

सिन्धुपाल्चोक, ३० मंसिर । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ स्वाँरास्थित ६ किलो मोडमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । १९ यात्रु घाइते भएका छन् । दोलखाको कालिञ्चोक दर्शन गरेर बा.४ ख ४४६८ नम्बरको बसमा काठमाडौं फर्किंदै गरेकाहरू दुर्घटनामा परेका हुन् ।

भक्तपुरबाट बस रिजर्भ गरेर कालिञ्चोक गएका यात्रुहरू शनिबार बेलुका फर्किएर मुडेबजार बसेका थिए । मुडेबाट आइतबार बिहान साढे ६ बजे हिँडेका थिए । घाइतेहरूका अनुसार बाटोमा चालकले स्टेरिङ साह्रो भएर काट्न समस्या भएको पटक–पटक बताएका थिए ।

समस्या हुँदाहुँदै पनि चालकले गाडी अगाडि बढाए, यात्रुले पनि आपत्ति जनाएनन् । ६ किलो मोडमा आइपुगेपछि चालकले स्टेरिङ काट्न सकेनन् । स्टेरिङ छाडेर चालक हामफाले, गाडी तीन सय मिटर तल सडकमै बजारियो ।

‘मुडेबाट छुटेदेखि नै चालकले स्टेरिङ चलाउन गाह्रो भएको पटक–पटक भन्दै आएका थिए, स्टेरिङ साह्रो भएको र हात क्रक्रिएकाले झन् समस्या परेको भनेका थिए,’ खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा उपचाररत घाइते जुगल–७ याङ्लाकोटका दीपक तामाङले बताए ।

दुर्घटनामा घाइते सहचालक विप्लव तामाङले पनि चालकले गाडीको स्टेरिङ घुमाउन नसकेको बताए । उनले टायरमा हावासमेत कम भएको बताए । ‘टायरमा हावा कम थियो, गुरुले स्टेरिङ घुमाउन पनि गाह्रो भयो भनिरहेका थिए,’ सहचालक तामाङले भने, ‘मोडमा काट्न नसकेपछि बस खस्यो ।’ प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ । ‘दुर्घटनाको कारण पत्ता लगाउन मेकानिकल जाँच गर्छौ,’ सिन्धुपाल्चोक प्रहरी प्रमुख एसएसपी प्रज्वल महर्जनले बताए ।

दुर्घटनामा पर्नेहरू सिन्धुपाल्चोक, दोलखा, काभ्रे र रामेछापका छन् । भक्तपुर बस्ने उनीहरू मिलेर च्याह्मासिङबाट गाडी रिजर्भ गरी कालिन्चोक गएका थिए । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का २८ वर्षीय सुकबहादुर तामाङ, सात वर्षीया सविना तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ र ३० वर्षीया रेस्मा तामाङको मृत्यु भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गणेश खनालले बताए ।

सिन्धुपाल्चोककै लिसंखुपार–४ की ५५ वर्षीया गंगामाया लामा र बलेफी–७ की ३५ वर्षीया फूलमाया तामाङको पनि मृत्यु भएको छ । काभ्रे बेथानचोक गाउँपालिका–५ का ३६ वर्षीय रामशरण खत्री र ३५ वर्षीया मैयाँ केसीको पनि मृत्यु भएको छ ।

दोलखा शैलुङ गाउँपालिका–६ की १० वर्षीया रन्जित बस्नेत, ३२ वर्षीया चिनु बस्नेत र भीमेश्वर नगरपालिका–९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठको पनि ज्यान गएको छ । त्यस्तै, रामेछाप उमाकाण्ड गाउँपालिका–४ का २४ वर्षीय महेश तामाङ र सुनापति गाउँपालिका–६ कि जुनुमाया तामाङको मृत्यु भएको इन्स्पेक्टर खनालले बताए । एक युवतीको भने सनाखत हुन सकेको छैन ।

रिजर्भको गाडी भएकाले चालक सुमन तामाङले श्रीमती र छोरीलाई पनि लगेका थिए । दुर्घटनामा चालककी श्रीमतीको पनि मृत्यु भएको छ भने सातमहिने छोरी घाइते छिन् । चालक भने फरार छन् । गाडीमा चालकसहित ३५ जना रहेको प्रहरीले जनाएको छ ।

१४ घाइतेको काठमाडौंस्थित ह्याम्स हस्पिटल, एकको केएमसी, एकको बी एन्ड बी, दुईको धुलिखेल र अर्का एकको सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एकै गाउँका पाँच जनाको मृत्यु भएपछि जुगल गाउँपालिकाले सोमबार शोक बिदा घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले वडा नं. ७ का मृतकका परिवारलाई ५० हजारका दरले राहत दिने निर्णय पनि भएको बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७