जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता

खोजीका लागि हेलिकोप्टर बाहेक छैन विकल्प


३० मंसिर २०७६, सोमबार
yarshagumba 758x496 1

सुर्खेत, ३० मंसिर । तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए ।

ढिपुगाउँबाट पाटन पुग्न दुई दिन लाग्छ । उनले भने, ‘सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए’, उनले थपे, ‘तर गएदेखि आजसम्म सम्पर्कमा छैनन् । १२ जनाकै अवस्था अज्ञात रहेको छ ।’

उनका अनुसार बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका रहेका छन् ।

पाटनबाट सेतक चिनी ल्याएर घर फर्केका सोही वडाका खच्चर गोठाला २६ वर्षीय बीनबहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार तिला गाउँपालिका–६ नेटा भन्ने ठाउँमा चिसोले कठ्याङ्ग्रिएर बोहोराको मृत्यु भएको र चार गोठाला सकुशल फर्केका छन् ।

भारी हिमपातका कारण शव पहिचान गर्न अप्ठ्यारो परेको छ । स्थानीयले बेपत्ताको तत्काल उद्धार गर्न स्थानीय प्रशासन तथा सरकारलाई अनुरोध गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बेपत्ता भएकाको उद्धारको लागि गृह मन्त्रालयमा पत्र पठाइएको जानकारी दिए । फूलबारी पाटनमा हिंडेर जान सकिने अवस्था छैन । हेलिकप्टरको विकल्प नरहेको त्यहाँका स्थानीयले जानकारी गराएका छन् ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हेलिकप्टरका लागि गृह मन्त्रालयसँग आग्रह गरिएको बताए । एकै गाउँका १२ जना बेपत्ता भएपछि ढिपुगाउँ सुनसान भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७