कांग्रेस किचलो : केन्द्रीय कार्यालय सुनसान, बोहराटार र बुढानिलकण्ठमा गुटगत छलफल

पेलेर अघि बढ्ने रणनीतिमा देउवा, थप दबाब सिर्जना गर्ने खेलमा पौडेल


३० मंसिर २०७६, सोमबार
Congress Sher bahadur deuwa ramchandra paudel

काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको ‘किचलो’ तत्काल समाधान नहुने संकेत देखिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको असमझदारी टुङ्गिने संकेत नदेखिएका कारण कांग्रेसको किचलो थप लम्बिएर जाने देखिएको छ । पार्टी सभापति देउवा आफ्नो शर्त अनुसार नै वैठक बोलाउने र पौडेल बटमलाइनमा अडिग भइरहँदा केन्द्रीय समितिको वैठक नै अन्योलमा परेको छ ।

नेता पौडेललाई मनाउने सभापति देउवाको पटक–पटकको पहल व्यर्थ भएपछि अहिले दुई नेताबीच सहमतिको विन्दू पहिल्याउन नै कठिन भइरहेको मध्यस्थकर्ताको भूमिकामा देखिएका नेताहरु बताउँछन् ।

आज १ बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति वैठक निर्धारित समय घर्किसक्दा समेत बस्न सकेको छैन । नेता पौडेल वैठक बहिष्कार गरेर बसेका छन् । जसका कारण अहिले कांग्रेस केन्द्रीय कार्यालय सानेपा सुनसान छ ।

बरु सभापति देउवा र पौडेलले आफू निकट नेता–कार्यकर्तालाई आ–आफ्नै निवासमा डाकेर अबको राण्नीतिको बारेमा छलफल गरिरहेको स्रोतले जानकारी दिएको छ । संस्थापन पक्ष र रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट समूह आ–आफ्नै आन्तरिक छलफलमा व्यस्त रहेको र कसरी आफूलाई बलियो बनाउन सकिन्छ भन्ने रणनीति निर्माणमा रहेको स्रोत बताउँछ । देउवाले आफ्नो टिमसँग बुढानिलकण्ठमा छलफल गर्दैछन् भने पौडेलले पनि आफ्नै निवास बोहराटारमा असन्तुष्ट समूहसँग परामर्श गर्दैछन् ।

सोमबार बिहान प्रकाशमान सिंहको निवासमा सिंह र उपसभापति विमलेन्द्र निधिबीच कुराकानी भए पनि सहमति हुन सकेन । दुवैले शीर्ष तहमा छलफल गरेर सहमति बनाउँदै भन्दै उठेका थिए ।
आइतबार बोलाएको बैठक पनि पौडेलसहितको असन्तुष्ट समूहले बहिष्कार गरेको थियो ।

पौडेल वैठक बहिष्कार गरेर पूर्वको धार्मिकस्थल ताप्लेजुङको पाथीभरा भ्रमणमा निस्किए । महाधिवेशनको क्यालेण्डर, विभाग गठनलगायतका एजेन्डामा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति नजुटेपछि पौडेल पक्षले बैठकमा भाग लिएको छैन ।

आइतबार पनि एक बजे बोलाइएको बैठक पौने ४ बजे शुरु भएर एक घण्टामा सकिएको थियो । अब पेलेर अघि बढ्ने रणनीतिमा देउवा पक्ष देखिएपछि असन्तुष्ट पक्षले पनि थप दबाबको रणनीति बनाएको छ ।

Nepali Congress Party Office 768x465

पौडेल नेतृत्वको असन्तुष्ट समूहमा महामन्त्री सशांक कोइराला र नेता कृष्णप्रसाद सिटौला समेत छन् । सहमति जुटाउनका लागि उपसभापति विमलेन्द्र निधिले आइतबार बिहान पार्टी महामहामन्त्री सशांक कोइराला र असन्तुष्ट पक्षका नेता प्रकाशनमान सिंहसँग छलफल गरेका थिए ।

महाधिवेशको क्यालेण्डर पहिले कि विभाग तथा अरु विषयको व्यवस्थापन पहिले भन्नेमा विवाद भएपछि सहमति हुन नसकेको हो । महामन्त्री कोइरालासहितको पौडेल समूहले पहिले महाधिवेशनको क्यालेण्डर टुंगो लगाएर अरु विषयमा प्रवेश गर्नुपर्ने अडान राख्दै आएका छन् भने देउवा नेतृत्वको संस्थापन पक्षले विभाग गठन तथा पार्टीका अन्य आन्तरिक व्यवस्थापनका विषय टुंगो लगाएपछि मात्र महाधिवेशनको क्यालेण्डर तय गर्नुर्ने पक्षमा देखिएको छ ।

यही विवादका कारण गत बिहीबार बस्ने भनिएको बैठक पनि विवादमा परेको थियो । पौडेल र महामन्त्री कोइरालासहित असन्तुष्ट पक्षका नेता तथा सदस्यहरुले बैठक बहिष्कार गरेपछि देउवाले एकछिन बैठक बसाएर आइतबार बस्ने गरी स्थगित गरेका थिए ।

यसैबीचमा संस्थापक्ष र असन्तुष्ट पक्षबीच पटकपटक विभिन्न तहमा छलफल र बैठक भए पनि सहमति हुन सकेको छैन । हाल कायम रहेका २८ विभागको संख्या बढाएर ४५ पुर्‍याउने तयारी संस्थापन पक्ष छ । ४५ विभाग गठनसम्बन्धी प्रस्तावलाई पारित गराउने रणनीतिमा देउवासहितको टिम रहे पनि असन्तुष्ट पक्षले यसमा विरोध गर्दै आएको छ ।

संस्थापन पक्षले केन्द्रीय समिति बैठकमा उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियान, सकारको भूमिका, केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषय प्रवेश गराएको छ । आन्तरिक व्यवस्थापन र भागबण्डमा अल्झिँदा न महाधिवेशनको क्यालेन्डर तय हुन सकेको छ न त पार्टीको संरचनाको टुंगो लागेको छ ।

विधानतः आगामी फागुनमा महाधिवेशन गर्नुपर्ने कांग्रेसको बैठक पुरानै महाधिवेशनको म्यान्डेटअनुसार भइसक्नुपर्ने विभाग गठन तथा संरचनालाई पूर्णता दिन सकेको छैन ।

कांग्रेसमा केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभाग नेतृत्वविहीन छन्। कांग्रेस विधानमा टोल, ६७४३ वडा, ७५३ पालिका, ३३० प्रदेश क्षेत्र, १६५ प्रतिनिधिसभा क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश गरी ८ तहका समितिको व्यवस्था छ । तर, परम्परागत जिल्ला समिति र केन्द्रीय समितिक बाहेक अरू संरचना बन्न सकेको छैन ।

क्रियाशील सदस्यताको टुंगो लागेको छैन । संगठनको ढुकढुकीका रुपमा क्रियाशिल भातृसंस्थाहरु विघटन भएर निश्कृय अवस्थामा अलपत्र छन् । २०७५ पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकबाट पार्टीको विधान पारित भए पनि गुटगत कलहले त्यसको कार्यान्वयनमा सकस देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७