हेर्दाहेर्दै धुँवामा बिलाए चलचित्र जगतका दुई हस्ती

केशव भट्टराई र दीपक क्षेत्रीको अन्तिम विदाइमा परिवारसँगै रोए सबै कलाकार


३० मंसिर २०७६, सोमबार
deepakkeshav 6 16122019095240 1000x0 1

काठमाडौं, ३० मंसिर । चलचित्र विकास विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ । उनीहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति ५३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई राति नै चावहिलस्थित ओम अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुग्दासम्म उनी अचेत अवस्थामा रहेको परिवारले जनाएको छ । अस्पतालले उनलाई तत्कालै मृत घोषणा गरेको थियो ।

भट्टराई र क्षेत्रीको निधनले चलचित्र क्षेत्र शोकमा परेको छ । अभिनेता क्षेत्रीको निधन भएको भोलिपल्टै चलचित्र विकास बोर्डको नेतृत्व सम्हालिरहेका भट्टराईको समेत निधनले चलचित्र क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ ।

क्षेत्री शनिबार सुतिरहेको अवस्थामा मृत भेटिएका थिए । उनको शव परीक्षणको लागि अस्पतालमै राखिएको थियो । आज दिउँसो २ बजे दुवै अभिनेताको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा ल्याइएको थियो ।

भट्टराई र क्षेत्रीको निधनप्रति प्रधानमन्त्री केपी शेर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत दुःख व्यक्त गरेका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले चलचित्र विकास बोर्डमा पुगी अन्तिम श्रद्धाञ्जली दिए ।सोमबार आर्यघाटमा नेपाली चलचित्र क्षेत्रका दुई हस्ती एकसाथ धुवाँमा विलिन भए । दाहसंस्कारका क्रममा दुवैतर्फ दारुण दृष्यले सबैको आँखा रसायो ।

पुराना अभिनेता दिपक क्षेत्रीको शनिबार र चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको आइतबार राति निधन भएको हो । तर, भवितव्यले दुवैको दाहसंस्कार एकै साथ पर्न गयो ।
केशवलाई सोमबार चलचित्र विकास बोर्डको प्रांगणमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको थियो । जहाँ उनका परिवार, चलचित्रकर्मी र शुभचिन्तक पुगेका थिए । केशवका १५ वर्षीय छोरा त्यहाँ थिए । उनको आँखाबाट अविरल आँशुका धारा खसिरहेका थिए । घरी–घरी भक्कानिएर ‘बाबा’ भन्थे ।

बोर्डको प्राङ्गणबाट केशवलाई आर्यघाट लगियो । त्यहाँ पनि केही बेर श्रद्धाञ्जलीको लागि राखिएको थियो । छोराको हालत त्यहाँ झन् खराब भयो । बुबाको मृत शरीर वरिपरी घुम्दै उनी चिच्याइरहेका थिए, ‘बाबा‘ उठ्नु न । बाबा ‘, बा.. बा‘ उठ्नु न ।’

AB KTM Reporter Shraddanjali a

छेउमा उनकी आमा पनि घुमिरहेकी थिन् । छोराको चिच्याहटले उनको बेदना झनै उम्लिन पुग्थ्यो । आफ्नो सिउँदोको सिन्दुर पुछिँदाको पीडा आँखाबाट पोखिइरहेको थियो । वृद्धावस्थामा रहेकी केशवकी आमा पनि पशुपति आर्यघाटमै पुगेकी थिइन् । पुत्र वियोगको यो घडीमा आफूलाई सम्हाल्न उनलाई कठिन भएको थियो । छोराको अनुहार सुम्सुम्याउदैँ सुकेको स्वरमा उनी धेरै समय रोइन् । त्यहाँको दृष्यले जोकोहीलाई पनि स्तव्ध बनाएको थियो । सबैका आँखा रसाए ।

बिबाह गरेको लामो समयपछि भट्टराई दाम्पत्तिलाई सन्तानलाभ भएको थियो । उनीहरुले ०६२ सालमा टेस्टट्यूव प्रविधिबाट छोरा जन्माएका थिए । उनै छोराले आज दागवत्ती दिएका छन् ।
यस्तै सोमबार केशवसँगै कलाकार दीपक क्षेत्रीको पनि अन्तिम दाहसंस्कार गरियो ।

दीपकलाई पनि चलचित्र विकास बोर्डको प्रांगणमा केशवसँगै श्रद्धाञ्जलीको लागि राखिएको थियो । दीपककी श्रीमती कलाकार विपना बस्नेत त्यहाँ थिइन् । उनी आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । चिच्याइरहेकी थिइन्, ‘दीपक, ओइ दीपक‘ बोल् न । ओइ बोल् न भनेको । म यहाँ छु के । मसँग बोल् न ।’

धेरै जना उनलाई सम्झान प्रयासरत थिए । तर, उनको विलौना झन् बढिरहेको थियो । उनी भन्दै थिइन्, ‘म बाहिर जाँदा छिट्टै आऊ है भनेको थियो । म आउँदा त उसले मलाई छोडेर गइसकेछ । मलाई भन्दै नभनी । ए दीपक । विपनाको छेउमा बसेकी दीपकको छोरीको हालत पनि उस्तै थियो । उनी पनि ‘बाबा, बा.. बा’ पुकारी रहेकी थिइन् । उनको आँखा रुदाँरुदैं सुन्निएको थियो ।

सयौंको संख्यामा आएका चलचित्रकर्मी, अन्य क्षेत्रका कलाकार, शुभेच्छुकहरुले श्रद्धाञ्जली दिए । जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष खगेन्द्र राईले महासङ्घका केन्द्रीय सचिवालय सदस्य समेत रहेका भट्टराईको पार्थिव शरीरमा नेकपाको झण्डा ओडाई अन्तिम श्रद्धाञ्जली दिए ।

AB KTM Reporter Shraddanjali b

अध्यक्ष राईले भट्टराईको निधनले चलचित्र क्षेत्रसँगै सिङ्गो सांस्कृतिक क्षेत्रमा ठूलो क्षति पुगेको बताए । ‘उहाँ बहुआयामिक व्यक्ति हुनुहुन्थ्यो’, राईले भने, ‘प्रिय व्यक्ति गुमाउनु पर्दा निकै पीडाबोध भइरहेको छ ।’ अभिनेता दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्ष भइसकेपछि भट्टराईले धेरै सुधारका काम थालेको बताए ।

‘उहाँमा कुर्सीमा बस्दा केही राम्रा काम गरेर देखाउनु पर्छ भन्ने भावना थियो’ डिसीले भने, ‘उहाँका अधुरा सपना पूरा गर्न हामी लागि पर्नेछौं ।’ अभिनेत्री सरिता लामिछानेले अभिनेता र निर्मातासँगै एउटा कुशल अभिभावक गुमाउनु परेको बताइन् । उनले एकै पटक दुई जना असल कलाकार गुमाउनु पर्दा चलचित्र क्षेत्रले अपूरणीय क्षति ब्यहोर्नु परेको बताइन् ।

गत चैत ७ गते भट्टराईलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो । उनका श्रीमती र एक छोरा छन् । उनले थुप्रै फिल्ममा अभिनेताको भूमिका निर्वाह गरेका छन् । उनले आफै निर्माण गरेका अधिकांश फिल्मले सफलता हासिल गरेका छन् । भट्टराईले कोसेला, दक्षिणा, आफ्नो मान्छे, पाहुना, कर्मयोद्घा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल, यात्रालगायतका चलचित्र निर्माण गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७