कोहीभन्दा कमजोर छैन नेपाली सिर्जना, डिबीको कलाले विश्व दङ्ग


१ पुष २०७६, मंगलवार
ND Ktm

काठमाडौं, १ पुस । नेपाली मौलिक कला संस्कृति र जनजीवनलाई जलरङले भर्दै विश्वका कलाकार माझ नेपाली कलाकार डिबी राईले कलाको अनुपम नमूना प्रस्तुत गरे ।

भारतको नयाँदिल्लीमा भेला भएका विश्वभरका कलाकारको कलाअघि राईको जलरङ कला सयौं ताराका बीचको सुन्दर चन्द्रमा नै बन्यो । घाम झुल्किएपछिको साँघुरो गल्लीमा परेको उज्यालो, खुलेको निलो आकाश, बस्तीबीच उभिएको मौलिक प्यागोडा शैलीको मन्दिर अनि दैनिकीमा रमाउँदै गरेका स्थानीय जनजीवनको मोहकतामा हरकोही मोहित बने । विश्वका जुनसुकै कुनामा पुगे पनि नेपालको परिचय बोल्ने पाटन मङ्गलबजारको एक गल्लीको जीवन्ततालाई उनले रङ्गीन जलरङमार्फत कागजमा उतारे ।

प्रकृतिको सुन्दरता अनि शताब्दीअघि बनेका नेपाली सभ्यता बोल्ने कलात्मक बस्तीको त्यो गल्लीसँगै अभूतपूर्व सौन्दर्य बोकेको मन्दिरसँग मानवीय जीवनको सम्बन्ध उनको कलामा पोखिएको थियो । हेर्दा सामान्य लाग्ने जलरङको रौनकले विश्वका कलाकारका आँखा तिर्मिराए । जलरङको शक्तिशाली प्रदर्शनले कलाकार राईको मात्र होइन, नेपालकै शिर उच्च बन्यो ।

गत साता अन्तर्राष्ट्रिय जलरङ समाज भारतले आयोजना गरेको ‘पहिलो ओलम्पियन जलरङ महोत्सव’ अन्तर्गत खुला चित्रकला प्रतियोगितामा यसरी राईले विश्वका सयौं कलाकारलाई उछिनेर उत्कृष्ट दोस्रो बने । राईलाई एक त आफ्नो मौलिकता विश्वसामु चिनाउने उद्देश्य, त्यसमाथि चित्र सिर्जनामा खरोरूपमा प्रस्तुत हुनु चुनौती थियो । नेपालीको शान जोगाउन कलाकारितालाई निखार दिने प्रयासमा उनले कुनै कसर बाँकी राखेनन् ।

‘क्षमताले भ्याएसम्मको सक्दो प्रयास गरें, परिणाम सयौं प्रतियोगीमध्ये उत्कृष्ट दोस्रो बनेर अवार्ड जितें, नेपालको शिर उँचो बनाउन पाउँदा खुशी छु’, राईले त्यो क्षण सम्झँदै भने । उनले विश्वस्तरमा अवार्ड प्राप्त गर्दा कला क्षेत्रमा थप हौसला मिलेको प्रतिक्रिया दिए ।

प्रतिष्पर्धामा झण्डै २०० कलाकार सहभागी भए । उक्त प्रतिष्पर्धामा नेपाली तीन कलाकारले चार अवार्ड पाए । हिमालसहितको पोखरा क्षेत्रको सुन्दर दृष्य सिर्जना गर्नुभएका अर्का कलाकार मनोज तामाङले त दुई अवार्ड प्राप्त गरे ।

नेपालको हिमाल, मठ मन्दिरसहितको प्राकृतिक सम्पदालाई समावेश गरेर कलाकार दीपेन्द्रमान बनेपालीले सिर्जना गरेको चित्र उत्कृष्ट तीनमा पर्दै अर्काे अवार्ड लिन सफल भयो । अतिथि कलाकारका रूपमा कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङ विश्व प्रतिष्पर्धामा उत्रिएर नेपाली कलाकारले अवार्ड हात पार्नु अत्यन्तै खुशीको कुरा भएको बताउँछन् । ‘नेपाली कलाकार र सिर्जना कोहीभन्दा कमजोर छैन, नेपाली कलाकारले धेरै देशबाट उत्कृष्ट अवार्ड सङ्गालेर आएका उदाहरण छन्’, कलाकार गुरुङले भने ।

कलाकारको कलाको विकासमा सरकारी योजना भने फितलो रहेको महसुस गर्छन् । गुरुङले मुस्ताङको कागवेनी क्षेत्र समेटेर आर्ट डेमोष्ट्रेशन गरे । उक्त चित्र तत्कालै भारतीय कला पारखीले रु १६ हजार नेपालीमा खरीद गरे ।

मुहारचित्र सिर्जनामा विश्वमै छुट्टै पहिचान बनाउन सफल गुरुङले यसअघि अमेरिका र टर्कीबाट उत्कृष्ट अवार्ड प्राप्त गरिसकेका छन् । यसअघि अग्रज कलाकार उमाशङ्कर शाह, समुन्दमान श्रेष्ठले पनि महत्वपूर्ण अवार्ड प्राप्त गरिसकेका छन् । महिला कलाकार अरुणा हिङ्माङले भारतको चर्चित अम्बेडकर अवार्ड प्राप्त गर्नु चानचुने कुरा होइन । यस्ता अवार्ड पाउने नेपाली कलाकार धेरै छन् ।

संसारकै पुरानो कला मानिने जलरङ पारदर्शी हुनु महत्वपूर्ण पक्ष हो । रङ खेलाउन जानेन भने जलरङ अन्य माध्यामभन्दा जटिल हुन्छ । पछिल्लो समयमा जलरङको प्रयोगमा कञ्जुस्याइँ भइरहेका बेला स्वदेश र विदेशमा अन्य माध्यमको तुलनामा जलरङ प्रयोग गर्ने कलाकारले विश्वस्तरका कार्यक्रम गर्दै आएका छन् ।

यसपटक भारतमा भएको उक्त महोत्सवमा ४५ देशका झण्डै ७०० चित्र सिर्जना समावेश थिए । त्यसमा नेपालका १३ चित्रकला सहभागी थिए । कार्यक्रममा प्रत्यक्षरूपमा भने २३ देशका २५० कलाकार उपस्थित भए ।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङको नेतृत्वमा कलाकार दिपेन्द्रमान बनेपाली, डिबी राई, मनोज तामाङ, गोपाल दराई, विनोदकुमार गुप्ता, डिल्लीकृष्ण आले, प्रकाश मानन्धर, कान्छाकाजी भाषिमा, अमजद अली अन्सारी, मुकेश महतो, पुरन थापा सहभागी भए । नेपाली चित्रकारले नेपाली मौलिक परिवेश तथा यहाँको सांस्कृतिक सम्पदा र हिमश्रृङ्खला समावेश गरेर चित्र प्रदर्शनीमा सहभागी थियो ।

विश्वका कलाकारलाई भ्रमण वर्षको निम्तो

नेपाली कलाकारले जलरङ महोत्सवलाई अवसरका रुपमा लिँदै विश्वका कलाकारलाई नेपाल भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराई नेपाल घुम्ने निम्तो समेत बाँडेका छन् । उनीहरुले इरान, रुस, बुल्गेरिया, अष्ट्रिया, म्यान्मा, थाइल्याण्ड, स्पेन, इटाली, टर्की, चीन, अमेरिका, बङ्गलादेश, भारतलगायतका देशबाट सहभागी कलाकारलाई नेपाली दृश्यसहितको पोष्टर हस्तान्तरण गर्दै भ्रमणको निम्तो दिएका हुन् ।

नेपाल सरकारले भ्रमण वर्षमा विशेष प्याकेज घोषणा गर्ने तयारी गरेकाले भ्रमण वर्षको अवसर सदुपयोग गर्न आग्रह गरिएको र धेरै कलाकारले घुम्ने इच्छा देखाएको कलाकार गुरुङले बताए ।

अन्तर्राष्ट्रिय जलरङ समाजका विश्व अध्यक्ष अतानुर डोगानले नेपालको पर्यटकीय र हिमाली क्षेत्रमा कलासम्बन्धीका कार्यक्रम राख्न सुझाव दिँदै नेपाली सुन्दरताले आफूलाई पनि लोभ्याएको बताए । गत वर्ष नेपालमा भएको अन्तर्राष्ट्रिय जलरङ महोत्सवमा डोगान सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७